• ९ मंसिर २०८१, आइतबार

नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा निर्वाचित

blog

लमजुङ, बैशाख ३१ गते ।  मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याउनुभएको छ । 

अध्यक्षमै उम्मेदवारी दिनुभएका स्वतन्त्रका मिङमार सोनाम लामाले भने उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध हुनुभएको थियो । यसअघि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेङमरको एकल उम्मेदवारी परेको थियो । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो ।

नार्पाभूमि गाउँपालिका वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेको छ । वडा नं. २ मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१ मतका साथ निर्वाचित हुनुभएको छ ।  प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याउनुभएको थियो । वडा नं. ३ मा स्वतन्त्रका लाक्पा छेवाङ लामा २५ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याउनुभएको छ । वडाध्यक्षका प्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत र स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले ४ मत ल्याउनुभएको छ ।

वडा नं. ४ को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा र वडा नं. ५ को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भईसक्नुभएको छ ।

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।