सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
स्याङ्जाको कालीगण्डकीमा थापा अध्यक्षमा निर्वाचित
राधाकृष्ण डुम्रे वालिङ, जेठ २ गते । स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ । कालीगण्डकीमा एमालेले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अध्यक्षका उमेदवार खिम थापाले ६ हजार ७ सय मतसहित बिजयी हुनुभएको हो । थापाले गठबंधनका उमेदवार माया रानालाई पराजित गर्दै बिजयी हुनुभएको हो । उपबिजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोईरालाले निर्वाचित हुनु भएको छ । कोईरालाले ६ हजार २२३ मत ल्याउदा उहाँका प्रतिस्पर्धी गठबंधनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ । उहाँहरुको मतान्तर १ हजार ३९३ रहेको छ । वडा रहेको कालीगण्डकीमा १, ३, ६ मा एमालेकाे र २, ४, ५,७ मा काँग्रेसले जितेको छ ।
तनहुँको भानु–१३ मा वडाध्यक्षमा बागी उम्मेदवार अधिकारी विजयी
तनहुँको भानु नगरपालिका–१३ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।
इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी
इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।
सत्यवतीमा नेकपा एमालेका टीकाराम पाण्डे विजयी
गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका टीकाराम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ६ हजार २६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पारीश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गर्नुभएको हो ।
भलमन्साको काँधमा वडा हाँक्ने जिम्मेवारी
अविनाश चौधरीधनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का कैलाश चौधरीलाई पराजित गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो ।विजयी हुनु भएका चौधरीले एक हजार १२ र पराजित हुनु भएका उम्मेदवारले ७४२ मत प्राप्त गर्नुभयो । यसैगरी, जोशीपुर गाउँपालिका–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीका विष्णु चौधरी विजयी हुनु भएको छ । उहाँले ६४२ मत प्राप्त गर्नुभयो । यस्तै, कैलालीको टीकापुर नगरपालिकाको वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित भएको छ । सो पार्टीका लालवीर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । यसैगरी, गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रविन्द्र शाही (गुड्डु) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
भिमदत्त नगरपालिकामा शुरु भएन मतगणना
लक्ष्मण पन्तमहेन्द्रनगर, जेठ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो । पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमती जुटेको छैन, फेरि बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’
घोडाघोडी १ मा कांग्रेस, ११ मा जसपाको वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र ११ को वडा अध्यक्षको सोमबार विहान अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी हुनुभएको छ भने वडा नम्बर ११ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार दानसिंह जोगी विजयी हुनुभएको छ । उहाँले ६७२ मत प्राप्ता गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । जोगीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार राजकुमार कठरियाले ६६९ मत प्राप्त गर्नुभयो । तीन मतको अन्तरले जोगी विजयी हुनुभएको छ । वडा सदस्यमा एक जना जसपाबाट र अन्य तीन जना कांग्रेसबाट विजयी हुनुभएको छ । हारे भनेर घर गएका जोगी एक्कासी जितेको खबर सामाजिक सञ्जालबाट पाएलगतै खुशी हुदै मतगणनास्थल पुग्नुभएको थियो । यसअघिको चुनावमा समेत उक्त वडामा जोगी विजयी हुनुभएको थियो । यता कांग्रेसले वडा नम्बर ११ को पुनः मतगणनाको माग राख्दै प्रदर्शन गरेको छ । मतपरिणाम सार्वजनिक नहुदै कांग्रेसका उम्मेदवार कठरियाको जितको हल्ला चलेको थियो । गौरीगंगामा समाजवादी र कांग्रेसले खाता खोल्यो त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकामा सोमवार विहान २ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा कांग्रेसका डबलबहादुर दियाकोटी र वडा नम्बर २ मा नेकपा समाजवादीका जनकबहादुर साउँद विजयी हुनुभएको छ ।समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको उक्त नगरपालिकामा साउँदले ६९३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ । एक खुल्ला सदस्य बाहेक तीन सदस्यमा समेत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा विजयी दियाकोटीले एक हजार १३१ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धीकोरुपमा रहनुभएका नेकपा एमालेका जुद्धबहादुर साउँदले ८२५ मत प्राप्त गर्नुभयो ।
कैलाशमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी
अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बालकुमार मल्ल विजयी हुनुभएको हो ।
भेरी ११ मा काँग्रेसबाट जैसीको प्यानल विजयी
बासुदेव शर्माजाजरकोट, जेठ २ गते । जाजरकोटको भेरी नगरपालिका ११ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद जैसीको पुरै प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर नेपालीलाई २ मतको मतान्तरले पछि पार्दै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । काग्रेसका उमेदवार जैसीले ४ सय ५८ मत प्राप्त गरी विजय हुनुुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपालीले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । काग्रेसको पकड मानिएको भेरी ११ सहिद लक्ष्मीप्रसाद आचार्यको भुमी हो । उता नलगाड ४ को वडा अध्यक्षमा काग्रेसबाट उमेदवार बनेका बद्री पन्तको प्यानलसहित वडा अध्यक्षमा वियजी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुमान रावललाई पराजित गर्दै पन्तको प्यानल नै विजय भएको हो । पन्तले ५ सय ४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो भने उहाँका निवकटतम प्रतिस्पर्धी गुमान रावलले ३ सय ५० मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा निर्वाचित पन्त क्रियाशील पत्रकार पनि हुन् । पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, रेडियो नेपालमा आबद्ध हुनुहुन्थ्यो । सहयोगी र सरल स्वभावका धनि पन्त फराकिलो मतकासाथ वडा अध्यक्षमा विजयी हुनु भएको छ ।
म्याग्दीको मंगलामा एमालेका उम्मेदवार विजयी
अमृतप्रसाद पौडेलम्याग्दी, जेठ २ गते । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सोमबार बिहान सम्पन्न मतगणनाको घोषित अन्तिम मत परिणामअनुसार पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । यसअघि आइतबार घोषणा भएको परिणामअनुसार मालिका गाउँपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्ष जितेको थियो ।मंगला गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार सतप्रसाद रोकाले ३ हजार ९ सय ६८ मत ल्याएर बिजयी हुँदै गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ मत पाउनुभएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले १ हजार ५ सय २१ मत पाउनुभयो । अध्यक्षमा निर्वाचित एमाले उम्मेदवार रोका मंगला गाउँपालिकाको दोस्रो कार्यकालका लागि बिजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार प्रेमकुमारी क्षत्रीले ४ हजार २ सय ६१ मतसहित विजयी हुनुभएको मंगला गाउँपालिका निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । उपाध्यक्षमा विजयी क्षत्रीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मिला थापाले २ हजार ५ सय ९५ र माओवादी केन्द्रकी सुकमाया रोकाले १ हजार ३ सय ७३ मत पाएको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । कुल १३ हजार ४ सय १६ मतदाता रहेको मंगलामा ८ हजार ८ सय १७ अर्थात् ६५ दशमलव ७२ प्रतिशत मत खसेको थियो । ५ वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मंगला गाउँपालिकाको पाँचवटा वडामध्ये तीनवटा वडामा एमाले र एक एक वडामा माओवादी र कांग्रेसको प्यानलसहित विजयी भएका छन् । मंगला १ कुहुँमा एमाले, २ बाबियाचौरमा एमाले, ३ बराङ्जामा माओवादी, ४ बराङ्जामा कांग्रेस र ५ अर्मनमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार बिहानै प्रकाशित निर्वाचनको अन्तिम मत परिणामअनुसार रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन विजयी हुनुभएको छ । आइतबार प्रकाशित मतपरिणाम अनुसार पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा भने एमालेका वेगप्रसाद गर्बुजा र लक्ष्मीदेवी घर्तीमगर पुन विजयी बन्नुभएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिकासहित कुल ४५ वटा वडा रहेको म्याग्दीमा हालसम्म ३३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमाले १६ वडा, कांग्रेस १२ र माओवादी ५ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा अब १२ वटा वडा एवम् धौलागिरी गाउँपालिका, अन्नपुर्ण गाउँपालिका र बेनी नगरपालिकाको प्रमुख उपप्रमुखको मतपरिणाम आउन बाँकी छ ।
जोरायल गाउँपालिकामा पुरानै अनुहार प्रमुखमा निर्वाचित
डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतका मात्रै अन्तरले विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी
त्रिवेणी गाउँपालिका सल्यानमा अध्यक्ष उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । पालिका अध्यक्षमा खिमबहादुर रावत र उपाध्यक्ष सीता खड्का पुन बिजयी हुनु भएको हो ।
बुलिङटारमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा एमालेले ऐतिहासिक जीत निकालेको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नु भएका २८ वर्षीय दीपेन्द्र सुनारीमगरले ४०५९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
गैँडाकोट ४ र ५ मा कांग्रेसको प्यानल नै विजयी
गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तेजप्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँले १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।
धनुषाको सात वडामा कांग्रेस विजयी
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
दार्चुलाको शैल्यशिखरमा एमाले विजयी
दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभयो ।
हेलम्बुमा कांग्रेसका निमाग्याल्जेन दोस्रो पटक विजयी
हेलम्बु गाउँपालिका नेपाली कांगे्रसका निमाग्याल्जेन शेर्पा अध्यक्ष र अप्सरा लामिछाने अपाध्यक्षमा विजयी हुनु भएको छ । अध्यक्ष शेर्पाले पाँच हजार ३८६ र उपाध्यक्ष लामिछानेले पाँच हजार २१४ मत ल्याउनु भई जित हाँसिल गर्नु भएको हो ।
बुलिङटारमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
वलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नुभएका दिपेन्द्र सुनारी मगरले चार हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ललितपुर महानगर प्रमुखमा काँग्रेसको अग्रता
ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, काँग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाउनुभएको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगामा माओवादीका घर्ती निर्वाचित
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै
काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको ५६ सय ९२ मतसहित पहिलो स्थान कायमै छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित २९ सय ९२ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २६ सय ५७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
आदर्शमा चार वडासहित नेपाली कांग्रेस विजयी
आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडाहरूमा कांग्रेस विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेशबहादुर खड्का विजयी हुनुभएको छ ।
अछामको ढकारी गाउँपालिकामा कांग्रेस विजयी
नेकपा (एमाले) का उम्मेदवारलाई एक हजार १६३ मतान्तरले कांग्रेसका प्रकाशबहादुर साउँद विजयी हुनुभएको हो ।