स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना
मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।
स्थानीय तह निर्वाचन परिणाम आउने क्रम जारी
प्रदेश १ का विभिन्न गाउँपालिकाका मतगणनाको परिणाम आउने क्रम जारी छ । विराटनगर महानगरपालिका र उपमहानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भइरहेकाले यही पार्टीका उम्मेदवारले जित्छ भन्ने स्थिति बनिसकेको छैन । चम्पादेवीमा काँग्रेसका केसी विजयी ओखलढुङ्गा समाचारदाताका अनुुसार, चम्पादेवी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा केसी नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
ललितपुर महानगरको दुई वडामा एस र एकमा स्वतन्त्र उम्मेदवार विजयी
काठमाडौं, जेठ २ गते। ललितपुर महानगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ मा नेकपा .एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ। ललितपुरको मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेश महर्जन १८ सय ३० मतसहित विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी राजनीतिक दलहरु नेकपा (एमाले) को पक्षमा ६०४, नेपाली कांग्रेसको ५६० र नेकपा (माओवादी केन्द्र) को पक्षमा ४७ मत प्राप्त भएको छ। वडा नम्बर ३ मा एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवार श्रीगोपाल महर्जन एक हजार ८० मत प्राप्त गर्नुभएको छ। सो पदमा कांग्रेसको उम्मेदवारको पक्षमा ६२३ र एमालेको २७५ मत खसेको छ। यसैगरी, वडा नं। १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी हुनुभएको छ। निर्वाचन चिन्ह “पुतली” रहनुभएका तण्डुकारले ६६१ मत प्राप्त गनुहुँदा कांग्रेसका उम्मेदवारको ४२५ र एमालेको पक्षमा ३५१ मत प्राप्त भएको हो। यो मुख्य निर्वाचन अधिकृत कार्यालय, ललितपुरबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।
भरतपुर महानगरपालिकामा पुनः दाहालको अग्रता
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ।
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी हुनुभएको छ। उपाध्यक्षमा भने नेकपा (एमाले)का छिरिङ पुटिक लामा विजयी हुनुभएको छ।
स्थगित भएको मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ २ गते । गत वैशाख ३० गते विभिन्न कारणले स्थगित निर्वाचन आज देशको विभिन्न ठाउँमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी गराउनुभयो । उहाँले दिएको जानकारीअनुसार अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटाको शहिदभूमि गाउँपालिका वडा ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ को भगवती माविको मतदान केन्द्रमा निर्वाचन भएको छ । सोहीअनुसार बझाङको केदारस्यूँ गाउँपालिका वडा ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी गराउनुभयो । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ केन्द्र, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई र गोरखाको चुम्नुब्री गाउँपालिका बाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ । जसमध्ये आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।सोहीअनुसार निर्वाचन आयोगको सोमबार अपरान्ह ३ः३० बजेसम्म प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित हुनुभएको छ ।त्यस्तै, प्रवक्ता पौडेलका अनुसार मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये जेठ १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को गाविस भवन मतदान केन्द्र, जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ को शंकर मावि मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका वडा नम्बर ४ को रमालमस्टो मावि मतदान केन्द्र, कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ को जनता मावि मतदान केन्द्र र बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को सुनिपीपल चौर मावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट पुनः मतदान सम्पन्न भएको छ । अवरुद्ध भएकामध्ये जेठ ३ गते मंगलबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।यसैगरी, जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्नेगरी सूचना प्रकाशन हुने प्रवक्ता पौडेलले बताउनुभयो । मतगणनाको परिणाम आयोगको बेवसाइट रिजल्ट डट इलेक्सन डट जिओभी डट एनपीमा हेर्न सकिने आयोगले जनाएको छ ।
महानगर अपडेटः काठमाडौं प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता अगाडि
काठमाडौं, जेठ २ गते। काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले)का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो।यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैंचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ। सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनीता डङ्गोलले ६५ सय ५७ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुइँकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैंचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी छ।
सायलमा कांग्रेस उम्मेदवार विजयी
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजीत गर्दै जोशी निर्वाचित हुनुभएको हो ।
कान्छीमाया महिला वडाध्यक्षमा निर्वाचित
तनहुँको स्थानीय तहमा पहिलो वडाध्यक्षको रुपमा कान्छीमाया तमाङ प्यानलसहित निर्वाचित हुनुभएको छ । भानु नगरपालिका–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको तामाङ निर्वाचित हुनुभएको हो ।
झापाको कमल गाउँपालिका–३ मा एमाले प्यानल विजयी
झापाको कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार अग्निप्रसाद कोइरालासहित प्यानल नै निर्वाचित भएको छ । कोइरालाले एक हजार ७३९ मत प्राप्त गर्नुभएको छ ।
तेह्र केन्द्रमा आज मतदान सम्पन्न
विभिन्न कारणले गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थल अन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका २ मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाडको केदार
भक्तपुर नगर प्रमुखमा प्रजापति र उपप्रमुखमा जोशी विजयी
भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी हुनुभएको छ।
छत्रदेव गाउँपालिकामा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी
गणेश खनालअर्घाखाँची,जेठ २ गते। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा मिश्रित परिणाम आएको छ। नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ गाउँपालिका अध्यक्ष र नेकपा एमालेका मनि शर्मा पन्थी उपाध्यक्षमा विजयी हुनुभएको छ। ८ वडा रहेको गाउँपालिकामा ५ मा एमाले र ३ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ। यस्तै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमाले विजयी भएको छ। पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा एमालेबाट टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मतसहित विजयी हुनुभएको हो। नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याएर पराजित हुनुभयो। उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी हुनुभएको छ। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याएर पराजित हुनुभयो।
दार्चुलाका सबै स्थानीय तह प्रमुखमा कम्युनिष्ट विजयी
चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
५९ स्थानीय तह प्रमुखमा विजयी हुँदै काँग्रेस पहिलो पार्टी बन्याे : एमाले दोस्रो, माओवादी तेस्रो
सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५९ स्थान जितेको छ।
भक्तपुर नगरको सबै पदमा नेमकिपा विजयी
भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो ।
डोटीका छ स्थानीय तहको मत परिणाम सार्वजनिक
डिलबहादुर सिंहडोटी, जेठ २ गते। डोटीका विभिन्न छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा र नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट उपाध्यक्ष पदमा जमुनाकुमारी बोहरा, आदर्श गाउँपालिकामा नेपाली काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गड्सिला अध्यक्ष र नेपाली काँग्रेसकी विष्नादेवी बम उपाध्यक्ष, निर्वाचित हुनुभएको छ। यसैगरी सायल गाउँपालिकामा नेपाली कांग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली कांग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्षमा र नेपाली नेपाली काँग्रेसकै पशुपति खड्का उपाध्यक्ष र बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरीकुमारी बिष्ट निर्वाचित हुनुभएको छ। दुई गाउँपालिकामा प्रमुख दोहोरिएडोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित गड्सिला नेकपा (माओवादी केन्द्र) र जोरायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित ओझा तथा उपाध्यक्ष बोहरा नेकपा (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।
लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान मञ्च नेपालले जित हासिल गरेको छ ।
कांग्रेस क्षेत्रीय सभापति बोहरा अमरगढी–७ मा प्यानलसहित निर्वाचित
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ मा नेपाली कांग्रेसको प्यानलसहित वडा अध्यक्षमा खडक बोहरा निर्वाचित हुनुभएको छ । कांग्रेस क्षेत्र ‘ख’ सभापती समेत रहनुभएका बोहरा निर्वाचित हुनुभएको हो ।
मैवाखोलामा एमालेको विरासत तोड्दै माओवादी विजयी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो।
महावु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी
दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ विजयी हुनुभएको छ । गुरुङले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।
कास्कीको माछापुच्छे पालिकामा काँग्रेसको सफलता
कास्कीको माछापुच्छे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार पालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो ।
चिशङ्खुगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका निशान्त शर्मा विजयी
शेरबहादुर राईओखलढुङ्गा, जेठ २ गते । चिशङ्खुगढी गाउँपालिकाको अध्यक्ष्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार अशोक थापालाई पाँच सय सात मतले पछि पार्दै शर्मा अध्यक्षमा पुन विजयी हुनुभएको हो । २०७४ को स्थानिय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा विजयी हुनुभएको थियो । शर्माले तीन हजार एक सय ९८ मत प्राप्त गर्नुभएको छ भने थापाले दुई हजार छ सय ९१ मत पाउनुभएको छ । यसैबीच गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिशङ्खुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले तीन हजार एक सय १६ र राईले दुईहजार ५० मत प्राप्त गर्नुभएको छ । पालिकाको आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा प्यानल सहित विजयी हुनुभएको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं.४ हिमाल राईले माओवादी केन्द्रबाट जित्नुभएको हो । यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली काँग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी हुनभएको छ । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछी पुन मत गणना गरिएको छ । अन्य पालिकाहरुको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
अछामको बान्नीगढी गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
शिवराज ढुङ्गाना अछाम। जेठ २ गते। बान्नीगढी जयगढ गाउँपालिकामा काँग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा विजयी भएका छन्। सोमबार सार्वजनिक मतपरिणाम अनुसार चार सय ९८ मतान्तरले काँग्रेसका टेकबहादुर साउँद अध्यक्ष पदमा विजयी हुनुभएको हो। टेकबहादुरले तीन हजार ११२ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार लोकबहादुर साउदले दुई हजार ६१४ मत पाउनुभएको छ। लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुनुहन्छ भने टेकबहादुर २०७४ को प्रदेशसभा निर्वाचनमा अछाम–१ ‘ख’ का प्रत्याशी हुनुहुन्थ्यो। उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल १४ मतको अन्तरमा विजयी हुनुभएको छ। रावलले दुई हजार ७३१ र गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी निर्मला साउदले दुई हजार ७१७ मत ल्याएर पराजित हुनुभएको छ।