• १३ जेठ २०८१, आइतबार

कांग्रेस क्षेत्रीय सभापति बोहरा अमरगढी–७ मा प्यानलसहित निर्वाचित

blog

पुष्कर भण्डारी
डडेल्धुरा, जेठ २ गते ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ मा नेपाली कांग्रेसको प्यानलसहित वडा अध्यक्षमा खडक बोहरा निर्वाचित हुनुभएको छ । कांग्रेस क्षेत्र ‘ख’ सभापतिसमेत रहनुभएका बोहरा निर्वाचित हुनुभएको हो ।

अमरगढीको दोस्रो ठूलो यस वडामा १५३० मतदाता छन् । जसमध्ये ११३५ मत खसेका थिए । बोहराले ४४५ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रशाद शर्मा उपाध्यायले जानकारी दिनुभयो । यसअघि यस वडाबाट एमालेका उम्मेदवार विजयी हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका बागी उम्मेदवार केशव भट्टराईले ३३१ मत प्राप्त गर्नुभएको थियो । गत निर्वाचनमा भट्टराई एमालेका उम्मेदवारसँग ५ मतले पराजीत हुनुभएको थियो ।

वडा नं. ७ मा कांग्रेस, कांग्रेस बागी, एमाले, माओवादी, समाजवादी र राप्रपा पार्टीबाट गरी छ जना वडा अध्यक्षको उम्मेदवार बनी चुनाव लड्नुभएको थियो ।

एमालेका उम्मेदवारले १८५, माओवादीले २९, समाजवादीले ४९ र राप्रपाले १० मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।