• १६ चैत २०८०, शुक्रबार

स्थानीय तह निर्वाचन परिणाम आउने क्रम जारी

blog

साँगुरीगढी गाउँपालिका विजयी अध्यक्ष जितेन्द्र रुम्दालीका साथमा अन्य विजय उत्सव मनाउँदै ।

प्रदेश १ ब्युुरो

विराटनगर, जेठ ३ गते  प्रदेश १ का विभिन्न गाउँपालिकाका मतगणनाको परिणाम आउने क्रम जारी छ । विराटनगर महानगरपालिका र उपमहानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भइरहेकाले यही पार्टीका उम्मेदवारले जित्छ भन्ने स्थिति बनिसकेको छैन । 

चम्पादेवीमा काँग्रेसका केसी विजयी

ओखलढुङ्गा समाचारदाताका अनुुसार, चम्पादेवी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा केसी नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया मगरले जित्नुभएको छ । काँग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । १० वडा मध्ये सात वडामा नेपाली काँग्रेसले जितेको छ । बाँकी तीन मध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो ।

मानेभन्ज्याङमा स्वतन्त्र

यसैगरी, मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी हुनुभएको छ । नेपाली काँग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार बन्नुभएको रुम्दालीले पाँच हजार २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रूपलाल तामाङलाई एक हजार २०० मतले पछि पार्दै रुम्दाली विजयी हुनुभएको हो । उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार आश्रचन राई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्र्दै उपाध्यक्षमा विजयी हुनुभएको हो । राईले चार हजार ७५० मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीसँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादीबीच चुनावी तालमेल भएको थियो । 

नौ वडा रहेको मानेभन्ज्याङमा सात वडामा नेपाली काँग्रेसले जितेको छ भने दुई वडामा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडा नम्बर ३ र ९ मा नेकपा एमालेबाट विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय मानेभन्ज्याङले जनाएको छ । यसैगरी काँग्रेसतर्फ वडा नम्बर १, २, ४, ५, ६, ७ र ८ मा विजयी हुनुभएको छ । 

चिशङ्खुगढीमा गठबन्धनका शर्मा विजयी

यसैगरी ओखलढुुङ्गाको चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले हराएर शर्मा अध्यक्षमा पुनः विजयी हुनुभएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध्यक्षमा विजयी हुनुभएको थियो । शर्माले तीन हजार १९८ मत प्राप्त गर्नुभएको छ भने थापाले दुई हजार ६९१ मत पाउनुभएको छ । 

उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सन्तोषबाबु थापा विजयी हुनुभएको छ । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई एक हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित हुनुभएको हो । थापाले तीन हजार ११६ र राईले दुई हजार ५० मत प्राप्त गर्नुभएको छ ।

यहाँका आठ वडा मध्ये चार वडामा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा प्यानलसहित विजयी हुनुभएको छ । वडा नम्बर १, २, ५ र ४ मा माओवादी केन्द्रका उम्मेदवारले विजय प्राप्त गर्नुुभएको छ भने वडा नम्बर ६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनभएको छ । वडा नम्बर ८ मा भने नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नम्बर ३ मा वडाध्यक्षका दुुई जना उम्मेदवारको मत बराबरी भएपछि पुनः मत गणना गरिएको छ । 

तीन पालिकाको नतिजा सार्वजनिक

धनकुटा समाचारदाताका अनुुसार, जिल्लामा रहेका सात स्थानीय तहमध्ये तीन स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुुसार, चौबिसे गाउँपालिकामा नेकपा एमाले उम्मेदवार राजकुमार चेम्जोङ अध्यक्षमा निर्वाचित हुुनुुभएको छ । पाँच हजार ३८ मतका साथ उहाँ विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनका दलबहादुर मगरले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा नेकपा एमालेकी टङ्कमाया पाङ्गी मगरले चार हजार ९८३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने गठबन्धनतर्फका जनता समाजवादीका दिवा चेम्जोङले तीन हजार ९८८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  

यसैगरी साँगुरीगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जितेन्द्र रुम्दाली राईले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजङ्ग याख्खाले चार हजार ८२८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी मुना राईले तीन हजार ६९२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट जसपाका लिलाराज लावतीले तीन हजार २१७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी छथरजोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार छत्र सुुब्बाले चार हजार ३५९ मत प्राप्त गर्दैै विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरबहादुर लिम्बुुले चार हजार १६४ मत प्राप्त गरेर पराजित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी गीता खेवाले चार हजार ३८७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने नेकपा एमालेकी गोमा कार्कीले तीन हजार ६१९ मत प्राप्त गर्नुभएको छ । 

मेन्छ्यायेममा पुरानै अनुहार

तेह्रथुम समाचारदाताका अनुुसार, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सिना पुनः दोहोरिनुुभएको छ । २०७४ को निर्वाचनमा पनि फरक–फरक दलबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएका खापुङ र तिम्सिना यस पटक पनि विजयी बन्नुभएको हो ।

अध्यक्ष उम्मेदवार खापुङ नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ भने उपाध्यक्ष तिम्सिना नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएको हो । अध्यक्षमा निर्वाचित खापुङले दुुई हजार ५५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी काँग्रेसका धनकुमार लिम्बूूले दुुई हजार २१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा तिम्सिनाले एक हजार ९८६ मत प्राप्त गर्नुभयो भने एमालेबाट प्रेमलता घिमिरेले एक हजार ९७४ मत प्राप्त गर्नुभयो । 

मेन्छ्यायेममा १, ४, ५, र ६ नम्बर वडामा एमाले, २ र ३ नम्बर वडामा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । ६ वटा पालिका रहेको तेह्रथुमका अन्य पालिकाको भने मतगणना जारी रहेको छ । 

विजय उत्सव मनाउन सुरु

उदयपुर समाचारदाताका अनुुसार, उदयपुरमा मतगणनाको अन्तिम परिणाम धमाधम आउन थालेपछि विजय उत्सवको लहर चलेको छ । आठ स्थानीय तहमध्ये एउटा पालिका र विभिन्न वडाका अन्तिम मत परिणाम सार्वजनिक भएसँगै विजय जुलुस, सभा, ¥यालीको सुरुवात भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । 

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट जित हासिल भएको छ । सो पालिकाका अध्यक्षमा गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका मेजरकुमार राई र उपाध्यक्षमा गठबन्धनकै नेपाली काँग्रेसका पुष्पलाल राई विजयी हुनुभएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनका र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । 

दुई पालिकाको गणना अन्योलमा

उदयपुरका आठ पालिकामध्ये मतगणना जारी रहेको पाँच मध्ये तीनवटामा गठबन्धनको अग्रता देखिएको छ । दुई नगरपालिका त्रियुगा र कटारीको मतगणना अझ सुरु हुन सकेको छैन । त्रियुगा–१२ को पुनः निर्वाचन अझ टुङ्गो लागेको छैन । सो वडाको मतदानपछि मात्र गणना सुरु हुने जनाइएको छ । कटारी–१० मा गोली लागेर मृत्युु भएका युवाको शव र मतपेटिका हिजो मात्र कटारी ल्याइएको छ ।

पत्रकार वाग्ले वडाध्यक्ष निर्वाचित

दमक समाचारदाताका अनुुसार, बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा पत्रकार अनिल वाग्ले विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुुभएका वाग्ले विजयी हुनुभएको हो । उहाँको प्यानल नै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुद्धशान्तिले जनाएको छ । वाग्ले बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पूूर्वेली साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ झापाका वर्तमान कार्यसमिति सदस्य हुन्ुहुन्छ । 

झापामा भएको मतगणना विवरणअनुसार सबैभन्दा बढी वडामा नेपाली काँगे्रसले विजय हासिल गरेको छ । वडाको नतिजा सार्वजनिक भइरहँदा काँग्रेसले सबैभन्दा बढी वडामा जितेको हो । जिल्लामा १५ पालिकाका १३१ वडामध्ये २५ वडाको मतगणना सकिएर नतिजा सार्वजनिक भएको छ । सोमबार दिउँसोसम्मको मत परिणामअनुसार नेपाली काँग्रेसले १३ वडामा अध्यक्षमा जित हासिल गरेको छ । यता नेकपा एमालेले नौवटा वडा जितेको छ भने राप्रपाले दुईवटा वडा र एकीकृत समाजवादीले एउटा वडाध्यक्ष जितेको छ ।