• ३ साउन २०८१, बिहिबार

स्थगित भएको मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २ गते । गत वैशाख ३० गते विभिन्न कारणले स्थगित निर्वाचन आज देशको विभिन्न ठाउँमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी गराउनुभयो । 

उहाँले दिएको जानकारीअनुसार अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटाको शहिदभूमि गाउँपालिका वडा ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ को भगवती माविको मतदान केन्द्रमा निर्वाचन भएको छ । 

सोहीअनुसार बझाङको केदारस्यूँ गाउँपालिका वडा ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी गराउनुभयो ।   

गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ केन्द्र, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई र गोरखाको चुम्नुब्री गाउँपालिका बाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ । जसमध्ये आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा १३० वटा पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।

सोहीअनुसार निर्वाचन आयोगको सोमबार अपरान्ह ३ः३० बजेसम्म प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७  गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित हुनुभएको छ ।

त्यस्तै, प्रवक्ता पौडेलका अनुसार मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये जेठ १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को गाविस भवन मतदान केन्द्र, जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ को शंकर मावि मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका वडा नम्बर ४ को रमालमस्टो मावि मतदान केन्द्र, कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ को जनता मावि मतदान केन्द्र र बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को सुनिपीपल चौर मावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट पुनः मतदान सम्पन्न भएको छ । 

अवरुद्ध भएकामध्ये जेठ ३ गते मंगलबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।

यसैगरी, जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्नेगरी सूचना प्रकाशन हुने प्रवक्ता पौडेलले बताउनुभयो । मतगणनाको परिणाम आयोगको बेवसाइट रिजल्ट डट इलेक्सन डट जिओभी डट एनपीमा हेर्न सकिने आयोगले जनाएको छ ।