• २ जेठ २०८३, शनिबार

सहारा (कथा)

blog

“कहिले जाँदै हुनुहुन्छ आमा ! उताबाट कोही लिन आउँछन् कि हामीले नै पु¥याउनुपर्ने ?” बुहारी सोध्दै थिई ।

“के थाहा ?” छोरोको स्वर सुनियो ।

“आमा उता हुँदा महिना नमर्दै फोन आउँछ– कहिले लिन आउने भनी । लानु पर्दा भने सधैँ यस्तै हो ।”

“ल ल, भैहाल्यो ।” छोराले कुरा टुङ्ग्यायो ।

भान्सा उक्लिन कोठाबाट निस्केकी जानकी छोराबुहारीका कुरा सुनेर उल्टै खुट्टाले फर्की । कान्छोसँग बसेको अस्तिले तीन महिना पुग्यो । अब फेरि जेठोको घर । श्रीमान् बितेको सालदेखि छोराहरूले आआफ्नो सुविधा हेरेर तीन तीन महिनाको पालो बाँधेका थिए–आमालाई “पाल्न ।”

आफन्तहरू भन्थे, “ठिकै छ नि भाउजू । एकै ठाउँमा बस्नुभन्दा छोराहरूकहाँ पालैपालो आनन्दले बस्नु । के को पीर ?” ‘कस्तोलाई आनन्द भन्नु ? दुई छाक खाना र सुत्नलाई ओछ्यान नै खुसी हो र ?’ उसले सानो कोठामा चारैतिर दृष्टि घुमाई । असरल्ल पोखिएको चिसोपनामा खुसीको झिनो टुक्रो पनि कतै फेला परेन ।

कोठामा पानी सकिएकाले त्यही लिन निस्केकी थिई । छोराबुहारीका कुरा सुनेर उसका पाइला हच्केका थिए । एकछिनसम्म पनि कुनै आवाज नसुनिएपछि ऊ बिस्तारै कोठाबाट निस्की । बरन्डामा एक जोडी परेवा घुरघुराउँदै थिए । उसले टेबुलमाथिको बिस्कुटको बट्टा खोली ।

“तपाईंलाई निकै भोक लागे जस्तो छ ।” बुहारीले ग्यास चुलो बाल्दै भनी । “भन्नुभएको भए अघि नै चिया पकाउँथेँ । फेरि त्यस्तो ढिलो पनि त भएको छैन ।”

जानकी झस्किई । खोलिसकेको बट्टा पुनः बन्द गरी । परेवाका लागि लिन खोजेको कुरा उसले बताइन । भित्ते घडीले साढे आठ बजायो ।

“खाना खाएर जानु होला ।” गिलासमा चिया खन्याउँदै बुहारीले सोधी । “अनि तयारी सकियो ?”

“कस्तो तयारी ?”

“दाइकहाँ बस्न लुगाफाटा राख्नु परेन ? आमा पनि थाहै नपाए जस्तो ।”

कोठामा आएर उसले झोला मिलाई– केही सारी ब्लाउज, स्विटर, खास्टो, दुई पुरीया बिस्कुट अनि बिहान–बेलुका खानुपर्ने औषधी । त्यसबाहेक उसका श्रीमान् आशाकाजीको फोटो– बस् त्यत्ति नै ।

फोटो देखेर उसले सम्झी– “नातिनातिनाको बिहे योभन्दा भव्य गर्नु पर्छ है ।” छोराहरूलाई उनले आफन्तको भोजको दिन भनेका कुरा अझै पनि जानकीका कानमा घन्किएकै थिए ।

प्रेसर कुकरले सिटी फुक्यो । अरूबेला यति चाँडै भान्सा कहाँ तात्थ्यो र ? आठ बजे चिया र चार वटा बिस्कुट, अनि १२ बजेतिर बिहानको खाना । त्यो बिचको समयमा भोकले पेटभन्दा मन चर्किसक्थ्यो । जता बसे पनि घरमा ऊसँग फुर्सदले बोल्ने कोही थिएनन् । ऊ जहिले पनि एक्लै ।

“भाग्यमानी रहिछौ, पहिलो नै छोरा जन्मियो ।” ऊ सुत्केरी हुँदा धेरैले भनेका थिए । अहिले लैजान ठिक पारिएको झोला हेर्दै उसले यसलाई पनि आफ्नो भाग्य नै ठानी ।

“खाना खाएर छिटै तयार हुनुहोला । मलाई पनि बाहिर जानु छ ।” बुहारीले भनी ।

तीन महिनाभन्दा बढी, दुई दिन पनि यिनीहरूलाई धान्न गाह्रो । सम्झेर उसका आँखा पिरा भए । छाती भारी भयो । छुट्न खोजेका भक्कानोलाई उसले बलैले रोकी । जानकीले दुई गाँस मात्र निल्न सकी । “जेठोकहाँ जाने भएपछि यताको खान मन नलागेको होला ।” उसको खानाको अरुचि देखेर बुहारीले भनी ।

ऊ चुठेर झोला बोकी तयार भई । न्हुच्छे, टोलकै परिचित ड्राइभर, गाडीमा पर्खिरहेको थियो ।

“पुगेर फोन गर्नुस् है ?” छोरो फेरि न्हुच्छेतिर फर्कियो– “माथिसम्मै पु¥याएर फर्कनू ।”

चिप्लिरहेको गाडीसँग जानकीको मानसपटलमा थुप्रै चित्र दौडन थाले–बिहे, छोराहरूको जन्म, तिनका स्याहारमा बितेका व्यस्त दिनहरू ।

“यसरी खट्ने आमाबुवालाई तिनका सन्तानले पछि हेला त नगर्लान् है ?” श्रीमान्को आशङ्कामा ऊ त्यतिबेला हाँसेकी थिई– नपत्याएर ।

तर समयसँगै छोराहरू बिस्तारै परिवर्तन भए । जागिर, ठुलो पद र व्यस्तताले तिनका जिम्मेवारी बढ्दै गए, आमाबुवा भने साँघुरिँदै गए । सँगै बसेर तिनका इच्छा सोध्ने साइत छोराहरूबाट कहिल्यै निस्किएन ।

पछि आशाकाजी बिरामी परे । एउटाको सधैँभरिको मिटिङ, अर्कोको छोड्नै नमिल्ने काम । आमाबुवाभन्दा ठुला र महìवपूर्ण कुरा मानिसका अरू पनि धेरै हुँदा रहेछन्– आशाकाजीको पहिलो अपरेसनको दिन छोराहरू साथमा नहुँदा जानकीले त्यो कटु यथार्थ स्वीकारेकी थिई ।

आशाकाजीले उसलाई एक्लै छाडेर गए । ऊ पनि अस्वस्थ रहन थाली । श्रीमान्को पेन्सनले औषधी किन्दैमा ठिक्क ।

“आमालाई ठुल्दाइकहाँ मन लाग्छ कि सान्दाइकहाँ ?” न्हुच्छेले सोच्दै नसोचेको प्रश्न ग¥यो ।

“दुई आँखामध्ये कुन प्यारो भने जस्तै सोध्यौ तिमीले ।” ऊ सुस्तरी बोली । “मेरी त दुईटै छोरी छन् । मलाई यो अनुभव हुने छैन, त्यही भएर तपाईंलाई सोधेको ।”

“कति बज्यो न्हुच्छे ? बुहारीले बाहिर जानु पर्छ भनेकी छ, तिमीले छिटै फर्कनु पर्ला ।” उसले प्रसङ्ग मोडी ।

जेठोको घर आइपुग्यो ।

“साथमा कोही आएनन् ?” जेठी बुहारीले झोला बोकेको न्हुच्छेलाई सोधी । “सानी भाउजूले बाहिर जानु छ भन्दै हुनुहुन्थ्यो ।” कोठामा झोला बिसाइ न्हुच्छेले बिदा माग्यो । 

“आमा, म लाग्छु । राम्रोसँग बस्नु होला ।”

“पर्ख, यो छोरीहरूलाई दिनु ।” झोलाबाट दुई पुरिया बिस्कुट निकालेर न्हुच्छेको हातमा थमाउँदै उसले भनी ।

हप्ता दिनपछि एकदिन बुहारीले कुरा उठाई–

“दिउँसो तपाईंसँग बसेर गफ गर्ने कोही हुँदैनन् । केही अप्ठ्यारो परे दौडेर आउनै पनि हामी दुवैका अफिस टाढा । मेरी साथीले बुढाबुढी स्याहार गर्ने संस्था खोलेकी छ...”

जानकीबाट चिया निलिएन ।

“तिमीहरूलाई म पाल्न गाह्रो भएको हो ?” उसका शब्दहरू अड्कीअड्की निस्किए ।

छोरा–बुहारीले मुखामुख गरे ।

“त्यसो भन्न खोजेको हैन आमा !” जेठो छोराले श्रीमतीको बचाउ ग¥यो ।

जानकी कोठामा फर्की । आशाकाजीको फोटो टेबुलमा राखी । “सुन्नुभयो ? दिउँसो मसँग कुरा गर्ने कोही हुँदैनन् भनी कति पीर गर्छन् यिनीहरू ।”

फोटोमा आशाकाजी भने उस्तै मुस्काइरहेका थिए ।

त्यहाँ बितिरहेका उसका दिनहरू एउटै रङका थिए– उस्तै आकारप्रकारका । त्यहाँ नयाँ खुसीका कुनै छिटा थपिएनन् । 

बुहारीले संस्थाको प्रसङ्ग पछि फेरि दोहो¥याई । 

ऊ बोलिन ।

जेठोको घरमा आएको पनि तीन महिना पुग्न लाग्यो । उसले लुगाहरू पट्याएर झोलामा राखी ।

“लिन आउन न्हुच्छेलाई बिहानै बोलाएको छु ।”

“किन हतार आमा ? अझै केही दिन बस्नु भए हुन्छ ।”

बुहारीको कुरामा उसले सहजै भनी–

“तिमीहरूलाई पनि भ्याइनभ्याइ छ, बुझ्छु । एक–दुई दिन कमबेसीले केही फरक पर्दैन ।”

भोलिपल्ट बिहान न्हुच्छे गाडी लिएर आइपुग्यो ।

जानकी गाडीको अगाडिको सिटमा बसी ।

“आमालाई पु¥याइ आउँछु ।” बुहारी पनि पछाडिको सिटमा बसी ।  “उता सबै ठिक छ ?” बाटोमा जानकीले सोधी ।

न्हुच्छेले टाउको हल्लायो । 

गाडीले अन्तै मोड लिएको देखेर बुहारी छक्क परी–

“हैन, कता लगेको न्हुच्छे ?”

“उसलाई बाटो थाहा छ बुहारी ।” जानकीले पछाडि नफर्की जवाफ दिई ।

गाडी एउटा घर अगाडि रोकियो । गेटको सेतो बोर्डमा ठुला अक्षर चम्किरहेका थिए– “सहारा” । 

बुहारी छक्क परी, केही सोध्न सकिन । बाहिर दरी बिछ्याएर केही बुढाबुढी गफ गर्दै थिए ।

“बिस्कुट किन्दिनु है छोरीहरूलाई ।” लिन नमानेको न्हुच्छेको हातमा पैसा कोच्दै जानकीले भनी– “केटाकेटी नै छन् बरा !”

फुलेका कपाल, पावरका चस्मा, पुरानो टोपी र खास्टोभित्रका उत्सुक वृद्ध अनुहार उनीहरूलाई नै हेर्दै थिए ।

जानकी गाडीबाट ओर्ली ।

“बुहारी, अब यतै बस्छु । मैले गर्दा तिमीहरू सबैलाई गाह्रो भएको महसुस गरेँ । यता र उताको दौडाइमा म पनि हैरान भैसकेको छु । पीर नगर– म राजीखुसीले नै यहाँ बस्दै छु । आफ्ना सन्तानबाट टाढिएर बसेका अरू पनि थुप्रै आमाबुवा छन् । तिनलाई हेरेर म आफ्नो पीडा कम भएको महसुस गर्न सकूँला । मन लागे, कहिलेकाहीँ फुर्सद निकालेर आउने गर ।”

आँखाका आँसु लुकाउँदै जानकी घरभित्र पसी ।

बिस्कुट र जुस बोकेकी बुहारीको हात काम्यो । ऊ अझै पनि स्तब्ध थिई ।

घाम तापिरहेका एक वृद्धको रेडियोबाट गीत बज्न थाल्यो– “यो साथ नछुटोस् कहिले पनि...”