• १२ वैशाख २०८१, बुधबार

उदयपुरको रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकामा गठबन्धन विजयी

blog

भोटराज राई

उदयपुर, जेठ ३ गते । उदयपुरको तीन वटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनुभएको छ । ८४२ मतको फराकिलो अन्तरमा उहाँले जीत हासिल गर्नुभएको छ ।  उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काँग्रेसका भूपेन्द्र थापा विजयी हुुनुभएको छ ।

अध्यक्ष मगरले ४१८८ मत प्राप्त गर्नुभयो उपाध्यक्ष थापाले ३६९९ मत प्राप्त गर्नुभएको छ । अध्यक्षको निकटतम प्रतिद्वन्द्वी एमालेका भरतबहादुर थापाको ३३४६ र उपाध्यक्ष कुमारी रानाज्यु ठकुरीले ३०९३ मत पाउनुभएको छ । उपाध्यक्षमा ६०६ मतको अन्तर छ ।

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का ढुङ्गराज विक अध्यक्षमा विजयी हुनुभएको छ । ३८ मत अन्तरमा रोचक जीत हासिल गर्नुभएको उहाँ जिल्लामै पहिलो दलित पालिका अध्यक्ष हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली काँग्रेसका धनमाया मगर विजयी हुुनुभएको छ ।

अध्यक्ष विकले १७७८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष मगरले २५८६ मत प्राप्त गर्नुभएको छ । अध्यक्षको निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम राईले १७४९ र उपाध्यक्ष मानकुमारी थापाले १३७० मत पाउनुभएको छ । उपाध्यक्षमा १२१६ मतको फराकिलो मतान्तर छ ।

पाँच वडा रहेको ताप्लीमा १ नं. वडाध्यक्षमा एमालेको उद्धव हमाल, २ नं. वडाध्यक्षमा एमालेका छत्रबहादुर श्रेष्ठ, ३ नं. वडाध्यक्षमा नेपाली काँग्रेसका रंगमान तामाङ, ४ नं. वडाध्यक्षमा कांग्रेसका उमेशकुमार मगर र ५ नं. वडाध्यक्षमा नेकपा (माके) का विष्णुकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सो पालिकामा नेपाली काँग्रेस र नेकपा (माके) बीच गठबन्धन भएको थियो । 

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिकामा पनि गठबन्धन विजयी भएको छ । गठबन्धनबाट नेकपा (एस) का मानबहादुर केप्छाकी मगर अध्यक्षमा विजयी हुनु भएको छ । यो विजयसँगै अध्यक्ष मगरले कार्यकाल दोहोर्याउनुभएको हो । उपाध्यक्षमा गठबन्धनबाटै नेपाली काँग्रेसका जितबहादुर खड्का विजयी हुनुभएको छ । 

अध्यक्ष मगरले ४९४२ मत प्राप्त गर्नुभयो भने उपाध्यक्ष खड्काले ४६४८ मत प्राप्त गर्नु भयो । निकटतम प्रतिद्वन्द्वी एमालेका गोपाल खत्रीले ४११४ र उपाध्यक्ष शोभा मगरले ३८६३ मत पाउनुभएको छ । अध्यक्षमा मतान्तर ८२८ रहेको छ भने उपाध्यक्षमा मतान्तर ७८५ मत छ ।

गठबन्धन लत्याएको ठाउँमा काङ्ग्रेसलाई सकस

उदयपुरमा गठबन्धनलाई लत्याएर एकलरुपमा चुनाव भिडेको स्थानमा नेपाली काँग्रेसका उम्मेदवारलाई सकस परेको छ । गठबन्धन गरिएका पालिकाहरुमा भने अग्रता देखिएको छ ।

पाँचदलीय गठबन्धनलाई लत्याउदै एकलरुपमा चुनावी मैदानमा उत्रिएको चौदण्डीगढी नगरपालिकाको कांग्रेस उम्मेदवारहरु प्रमुख पदका खगेन्द्र राई र उपप्रमुखका उम्मेदवार रीताकुमारी चौधरीलाई यो चुनाव सकसपूर्ण देखिएको छ । निवर्तमान मेयर तथा उपमेयरसमेत रहेका दुवैलाई नेकपा एमालेले मत गणनाको सुरुवातदेखि नै पछि पारेको छ । मतान्तर थप फराकिलो हुदै जाँदा एमालेको अग्रताले जीतको सङ्केत गरेको छ । 

सो पालिकाको नेकपा एमालेको अध्यक्ष उम्मेदवार लामाको ४४११ मत हुँदा कांग्रेसको अध्यक्ष उम्मेदवार राईको ३३७० मत आएको छ । उपाध्यक्षमा एमालेकी दुलालको ४३४७ रहदा काँग्रेसकी चौधरीको ३३३८ मत रहेको छ ।

कांग्रेस बाहेक गठबन्धनमा रहेका प्रमुख पदका उम्मेदवार नेकपा (एस) का नरेन्द्र राउत र उपप्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की हीरा थापाले तेस्रो मतका साथ पछ्याईरहेका छन् । प्रमुख उम्मेदवार राउतको २०७५ रहेको छ भने उपप्रमुख उम्मेदवार १९८५ मत छ । 

त्यहाँ गठबन्धन र काँग्रेसलाई आएको मत जोड्दा सजिलै जित देखिएको तर, गठबन्धनप्रति काँग्रेस गम्भीर नभइदिँदा अनपेक्षित परिणाम भोग्नुपर्ने स्थिति चौदण्डीगढीमा देखापरेको छ । 

जिल्लाको आठ पालिकामध्ये दुई पालिकामा गणना सुरु नै भएको छैन । बाँकी छ वटामध्ये एक पालिकाको सकिएको छ भने गणना जारी पाँच पालिका सबैमा काँग्रेससहितको गठबन्धन छ । ती सबै पालिकामा गठबन्धनको अग्रता देखिएको छ ।  

काँग्रेससहित गठबन्धन गरी चुनावमा होमिएको बेलका नगरपालिकामा गठबन्धनको फराकिलो अग्रता छ । बेलकामा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसको अशोक कार्कीको मत ६३०१  छ । १८५६ मत अन्तरमा पछाडि परेको निवर्तमान मेयरसमेत रहेका दुर्गाकुमार थापाको ४४४५ मत छ । 

उपप्रमुखमा भने गठबन्धन र एमालेको उम्मेदवारको थोरै मतले अघिपछि चलिरहेको छ । हाल गठबन्धनतर्फको उपप्रमुख उम्मेदवार नेकपा (माके) का मनोज तामाङको ३८८० मत रहँदा एमालेकी जिरा राईको ३९१९ रहेको छ । हाल उनीहरुबीच ३९ मत अन्तर छ ।

काँग्रेससहित गठबन्धन रहेको लिम्चुङबुङ गाउँपालिकामा सानदार जित हासिल भइसकेको छ । त्यहाँ गठबन्धनतर्फको अध्यक्ष नेकपा (माके) का मेजरकुमार राई, उपाध्यक्षमा काँग्रेसका पुष्पलाल राई विजयी बन्नुभएको छ । 

पाँच वडामध्ये एक स्वतन्त्रबाहेक सबै वडाध्यक्ष प्यानलसहित गठबन्धनले जितेको छ । यसबाहेक काँग्रेससहित गठबन्धन रहेको रौतामाई, उदयपुरगढीमा गठबन्धनकै अग्रता छ । सुरुमा एमालेको अग्रता रहेको ताप्लीमा गठबन्धनले क्रमिकरुपले मतान्तर छोट्याउँदै तीन मतअन्तरमा ल्याइसकेको छ । 

वडा नं. १२ मा मतदान नै स्थगित रहेको त्रियुगा नगरपालिकामा पनि काँग्रेस एकलरुपमा चुनाव भिडेको छ । मतदानका दिन वडा नं. १० मा प्रहरीको गोलीले स्थानीय युवाको मृत्युका कारण कटारी नगरपालिकामा मतगणना स्थगित छ । त्यहाँ भने काँग्रेससहितको गठबन्धन छ । त्यहाँ सर्वदलीय बैठक गरी मतगणनाका लागि सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन अधिकृत राजकुमार राउतले जानकारी दिनुभयो ।