• १२ वैशाख २०८१, बुधबार

मैवाखोलामा एमालेको विरासत तोड्दै माओवादी विजयी

blog

विजयप्रकाश वनेम लिम्बू

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २ गते।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो।

 उक्त गाउँपालिकामा उपाध्यक्ष पदमा पनि गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसकी कमलकुमारी लिम्बू निर्वाचित हुनुभएको छ। माओवादी केन्द्र ताप्लेजुङका सह–इन्चार्ज समेत रहनुभएका वनेमले दुई हजार ६०९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ। वनेमका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजनकुमार थक्लुङ लिम्बूले दुई हजार ५२ मत मात्र प्राप्त गर्नुभएको छ। उहाँबीचको मतान्तर ५५७ रहेको छ।

 यस्तै उपाध्यक्षका प्रत्यासी लिम्बू दुई हजार ५१४ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँकी प्रतिद्वन्द्वी एमालेकी कौशिला थक्लुङले दुई हजार १०१ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा ४१३ मतान्तर रहेको छ। अध्यक्ष र उपाध्यक्षमा पराजित थक्लुङद्वय २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित हुनुभएको थियो।

गणतन्त्र स्थापना पूर्वबहुदल कालदेखि नै एमाले विजयी हुँदै आएको मैवाखोला गाउँपालिकामा यसपटक गठबन्धनले विजयी हासिल गरेको हो। एमाले सचिव योगेशकुमार भट्टभराईको गृह क्षेत्र रहेको मैवाखोलाका एकबाहेक सबै वडामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

 मैवाखोला–१ र वडा ५ मा माओवादी, वडा ३ र ४ मा कांग्रेस र वडा २ मा नेकपा (एकीकृत समाजवादी) ले वडाध्यक्ष जितेको छ। एमाले भने वडा ६ मा मात्र विजयी भएको छ। २०७४ सालमा अध्यक्ष र उपाध्यक्षसहित पालिकामा निर्वाचित हुने ३२ पदमध्ये ३१ मा एमाले एक्लै निर्वाचित भएको थियो। यता बाँकी रहेका स्थानीय तहमा मत गणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।