• ७ जेठ २०८१, सोमबार

देशभर कसले कति सिट जिते ?

५९ स्थानीय तह प्रमुखमा विजयी हुँदै काँग्रेस पहिलो पार्टी बन्‍याे : एमाले दोस्रो, माओवादी तेस्रो

blog

काठमाडौं, जेठ २ गते। सोमबार दिउँसो ४ बजेसम्म स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ५९ स्थान जितेको छ। 

अहिलेसम्म सार्वजनिक १३४ स्थानीय तहको मतपरिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ। निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट भएको विवरणअनुसार नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन्। 

कांग्रेस आठ प्रमुख र ५१ अध्यक्षसहित ५९ पालिकामा विजयी भएको छ। काँग्रेसले पाँच उपप्रमुख र ५७ उपाध्यक्षमा जित हासिल गरेको छ। 

त्यसैगरी एमाले तीन प्रमुख र ४० अध्यक्षसहित ४३ पालिकामा विजयी भएको छ भने माओवादी केन्द्र एक प्रमुख र २६ अध्यक्षसहित २७ पालिका विजयी भएको छ। 

आयोगका अनुसार एमाले पाँच उपप्रमुख र ३४ उपाध्यक्षमा विजयी भएको छ। माओवादी केन्द्र दुई उपप्रमुख र १९ उपाध्यक्षमा विजयी भएको छ।

नेकपा (एकीकृत समाजवादी)ले दुई अध्यक्ष र छ उपाध्यक्ष जितेको छ। अन्य दलले दुई अध्यक्ष र पाँच उपाध्यक्ष जितेका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ।

यो समाचार तयार पार्दासम्म काँग्रेस एक हजार १२१ वडामा विजयी भएको छ। काँग्रेसका तर्फबाट एक हजार १०९ महिला सदस्य, एक हजार ७२ दलित महिला सदस्य र दुई हजार १९६ वडा सदस्य विजयी हुनुभएको छ। 

यस्तै एमाले ८५६ वडामा विजयी भएको छ। एमालेले ९२१ महिला सदस्य, ९०१ दलित महिला सदस्य र एक हजार ८५१ वडा सदस्य जितेको छ।

माओवादी केन्द्र ४७५ वडामा विजयी भएको छ। माओवादीका तर्फबाट ४४९ महिला सदस्य, ४७७ दलित महिला सदस्य र ८३९ वडा सदस्य निर्वाचित भएका छन्। एकीकृत समाजवादीले ६९ वडामा जित हासिल गरेको छ। 

समाजवादीका तर्फबाट ७५ महिला सदस्य, ७६ दलित महिला सदस्य र १६५ वडा सदस्य निर्वाचित हुनुभएको छ।  अन्य दल र स्वतन्त्रका तर्फबाट १९० जना वडाध्यक्षमा निर्वाचित भएका छन्। अन्यका तर्फबाट १५७ महिला सदस्य, १५४ दलित महिला सदस्य  र ३२९ वडा सदस्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।