काठमाडौँ, चैत २२ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त प्रतिबद्धता जनाउनुभएको हो । उहाँले सभामुख पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताउनुभयो ।
सभामुख अर्यालले अहिलेको संसद् २०८२ को विशेष निर्वाचनको जनादेशबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताउनुभयो । उहाँले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो । प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ । म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ- यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन् ।”
सञ्चारमाध्यम र आम नागरिकलाई विशेष अनुरोध गर्दै सभामुखले समाजमा सकारात्मक ऊर्जा फैलाउन आग्रह गर्नुभयो । समाज निर्माणका लागि यो अनिवार्य रहेको उहाँको तर्क थियो । “वर्षौँदेखि हामीले सञ्चारमाध्यममा सकारात्मक समाचार पढ्न पाएका छैनौँ,” उहाँले भन्नुभयो, “संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ- कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ ।”

प्रतिनिधि सभाको मुख्य काम कानुन बनाउनु रहेको उल्लेख गर्दै उहाँले सरकारलाई नीति–नियम बनाउन सहयोग गर्ने र कानुन निर्माणमा अग्रसर हुने बताउनुभयो । भौतिक संरचना निर्माणलाई ठुलो विषय नबनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “विश्वमा ध्वस्त भएका संरचनाहरू छिट्टै उठेका इतिहास छन् । हामी पनि छिट्टै संरचना बनाउन सक्छौँ, तर मुख्य कुरा कानुन र नीति हो ।”
विगतका दुःखद घटना फेरि नदोहोरिउन् र नयाँ पुस्ताका छोराछोरीले आहुति दिनु नपरोस् भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको समन्वयका साथै तीनै तहका सरकार र दुई सदन बिच राष्ट्रियता र जनताको हितमा बहस चलाइने उहाँले उल्लेख गर्नुभयो ।
“हामी राष्ट्र र जनताका लागि काम गर्दै छौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण नै हुँदैन, त्यसैले समन्वयमा गाह्रो होला जस्तो मलाई लाग्दैन,” उहाँले थप्नुभयो ।
सभामुख अर्यालले समस्या मात्र नथुपारी समाधानका लिखित प्रस्तावहरू लिएर आउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो अनुभव र कार्यशैलीबाट सदनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि केही समय पर्खिदिन अनुरोध गर्नुभयो ।