बिन्दु थापा
तानसेन, चैत २२ गते । निर्वाचन आयोगले मतदाता नामावली सड्ढलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरेको छ । आयोगको चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहीत विवरण प्रविष्ट गरी अनलाइनबाट नाम दर्ता गर्न सक्ने आयोगका पदाधिकारीहरुको भनाइ छ ।
राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछाप सहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ । प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिनेछ ।
साथै, मतदाता नामवलीमा रहेको त्रुटि सच्याउने नाम, थर, ठेगाना सच्याउनेः एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने नागरिकता अनुसारको विवरण नभइ अन्यथा भएको भए नागरिकताअनुसार सच्याउनेः आदि, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइसराइको विवरण अद्यावधिक गर्ने लगायतको कामका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।