• २२ चैत २०८२, आइतबार

पर्यटकको पर्खाइमा रहेका ढाकमरका राताम्मे पहाड

blog

लोघेकर दामोदरकुण्ड गाउँपालिका –२ ढाकमरमा रहेको रातो, खस्रो कलात्मक आकृति भएका चट्टानहरू । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), चैत २२ गते । लोघेकर दामोदरकुण्ड गाउँपालिका –२ ढाकमरमा रङ्गिएका चट्टानहरू छन् । समुन्द्री सतहदेखि ३८ सय २० मिटरको उचाइमा रातो, खस्रो पहाडको कलात्मक आकृतिसहित आसपासको क्षेत्रमा रहेका प्राचीन गुफाहरूले उपल्लो मुस्ताङको लोमान्थाङ हुँदै तिब्वतको सिमानामा पर्ने कोरला नाकाको भ्रमणमा जाने पर्यटकलाई आकर्षित गर्नेगरेको छ । 

उपल्लो मुस्ताङमा शताब्दीऔं पूरानो लुकेको ढाकमरमा आउने पर्यटकलाई सहज हुने गरी गाउँपालिका, गण्डकी प्रदेश र अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय लोमान्थाङले पूर्वाधार विस्तारले समेत थप सहज भएको छ । 

जोमसोम–लोमान्था–कोरला सडकअन्तर्गत दुर्लभ अग्ला राता भीरमुनि शान्त रूपमा अवस्थित, ढाकमार गाउँको प्राचीन जीवनशैलीले समेत घुम्न जाने पर्यटकलाई छुट्ट्रै संसारमा पुगेको महसुस हुनेगरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले बताउनुभयो । 


गाउँपालिका अध्यक्ष विष्टले भन्नुभयो, ‘‘ढाकमारका भीरहरू हातले होइन, प्रकृतिले लाखौं वर्षदेखि रङ्गाएका हुन्, हामीले पर्यटकलाई यहाँको महत्वका बारेमा जानकारी गराउनेगरी विभिन्न पूर्वाधार समेत बनाइरहेका छौ’ अध्यक्ष विष्टका अनुसार चालु आर्थिक बर्ष २०८२–८३ मा ढाकमर क्षेत्रमा भूगर्भीय अध्ययनका साथै अनौठो स्थानमा पुगेको अनुभुति हुनेगरी ‘जिओलोजिकल पार्क’ बनाउन ४३ लाख बजेट विनियोजन गरी काम भइरहेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मार्फत थप बजेट भित्र्याउने योजना छ । हाल उपल्लो क्षेत्रमा आउने धेरै पर्यटकलाई ढाकमरका बारेमा जानकारी नभएकाले अब प्रचार–प्रसारमा केन्द्रित हुने अध्यक्ष विष्टको भनाइ छ । 

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट अग्लो स्थानमा रहेका गुफासम्म पुग्न रेलिङसहितको सिँढी बाटो निर्माण गरिएपछि पर्यटकलाई सहज भएको छ । एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पर्यटकलाई यहाँको दृष्यावलोकन गर्न सहज हुनेगरी बर्षेनी पूर्वाधार थपिने बताउनुभयो । 

एक्याप प्रमुख पौडेलले भन्नुभयो, ‘‘कम लागतका पूर्वाधारले पनि यहाँ धेरै सहज भएको छ, यहाँको सुन्दरतालाई असर नगर्ने गरी काम भइरहेको छ ।’’ उपल्लो मुस्ताङको बसाई लम्ब्याउन ढाकमर नयाँ गन्तब्य भएको पौडेलको भनाइ छ । ढाकमर क्षेत्रमा रहेको जियो गुफासम्म पुग्न पर्यटकलाई समस्या भएपछि रेलिङ र सिँढीसहित बाटो निर्माण भएको छ । 

आठौँ शताब्दीको पार्क बौद्ध धर्मावलम्बीसँग सम्बन्धित भएकाले चन्दा सङ्कलन गरी विशाल बुद्धको मूर्ति स्थापना गरिएको छ । ढाकमर पहाड गुरु पद्यसम्भवको कथासँग जोडिएको छ । गाउँमा एक भयानक राक्षसले नियमित सताउन थालेपछि बौद्ध धर्मको प्रसार अवरुद्ध भएको खवर सुनेर बौद्ध गुरु रिन्पोछे (पद्मसम्भव) ले राक्षसलाई रोक्न उपल्लो मुस्ताङको यात्रा गरेपछि राक्षस पराजित भएर रगत भीरहरूमा बगेको कारण गाढा रातो भएको किम्बदन्ती छ । 


राक्षसलाई पराजित गरेको स्थान भएकाले तिब्बती भाषामा ‘ढाकमर’ नामको अर्थ ‘रातो रगत’ रहेको छ । ढाकमरको यो इतिहासलाई लोघेकर दामोदरकुण्ड –१, चराङको मराङमा रहेको विश्वकै पहिलो गुम्बाले समेत पुष्टी गर्ने गरेको छ । ढाकमर क्षेत्रमा पुग्ने पर्यटकलाई स्थानीयले पुर्खाको उपहार, भगवानले जोगाएको बस्तीका कारण विश्वास र शक्तिको स्थानको रुपमा समेत चिनाउने गरेका छन् । 

ढाकमर क्षेत्रमा रहेका पहाडहरूमा रातो, खैरो, पहेंलो, सेतो रंंग समेत देखिन्छ । उपल्लो मुस्ताङमा दुई हजार बर्ष अगाडि तिब्वती अतिवादीबाट जोगिन पहाडमा मानवनिर्मित ‘सिजा झोङ्ग’ गुफासहित लोमान्थाङर लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा करिब एक हजार सानो–ठुलो गुफा रहेको अनुमान गरिन्छ ।