धवलागिरीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।
हुप्सेकोट गाउँपालिकामा काँग्रेस विजयी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मी देवी पाण्डेले ६ हजार ४ सय ५५मत प्राप्त गरि विजयी हुनुभएको छ ।
बाह्रबिसे, भोटेकोशीमा काँग्रेस र बलेफीमा माओवादी केन्द्र विजयी
बाह्रबिसे नगरपालिका मेयरमा नेपाली काँग्रेसका बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ विजयी हुनु भएको छ । प्रमुख बस्नेतले सात हजार ७२८ मत र उपमेयर तामाङले ६ हजार ९७७ मत ल्याउनु भएको थियो ।
काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै
काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।
नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम र उपाध्यक्षमा कांग्रेसका तकदिर विजयी
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली काँग्रेसका तकदिर लामा विजयी हुनु भएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
पाँचखाल नगरपालिका–१३ मा पुनः मतदान सुरु
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ मा मङ्गलबार पुनः मतदान सुरु भएको छ । विवादका कारण रोकिएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदान केन्द्रको पुनः मतदान मङ्गलबार बिहान ७ बजेदेखि सुरु भएको हो । बिहान ८:३० बजेसम्म १५० मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो।
अछामको तुर्माखाँद गाउँपालिकामा एमाले विजयी
पूर्वी अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार डम्बर बीसी अध्यक्षमा र विमला शाही उपाध्यक्षमा विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भन्दा ३० मतको अन्तरमा विजयी हुनुभएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्तबहादुर पौडेल विजयी हुनुभएको छ ।
सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी
सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभय कुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
अछाम मेल्लेखको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
मेल्लेख गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ज्वालासिंह साउँद विजयी हुनुभएको छ । सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार साउँदले पाँचहजार १४४ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका नृपबहादुर खड्काले चारहजार ४८४ मत प्राप्त गरेर विजयी भएका छन् ।
तारकेश्वर नगरपालिका प्रमुखमा काँग्रेसका महर्जन र उपप्रमुखमा बुर्लाकोटी विजयी
काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका कृष्णहरि महर्जन विजयी हुनुभएको छ । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का रामेश्वर बोहोराले सात हजार ८०८ मत ल्याउनुभयो ।
अमरगढी नगरपालिकामा काँग्रेस विजयी
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा काँग्रेस अत्यधिक बहुमतका साथ विजयी भएको छ ।
एक मतले जित्ने भाग्यमानी
निर्वाचनमा एक मतले हारजित हुन्छ तर त्यस्तो अवस्था कमै हुने भए पनि यस पटकको स्थानीय तह निर्वाचनमा हालसम्म सात जना एकै मतका आधारमा निर्वाचित हुनुभएको छ । सोमबार साँझसम्म महोत्तरी र काभ्रेपलाञ्चोकका तीन/तीन जना र सिरहाका एक जना एक मतको अन्तरमा वडाध्यक्षमा विजयी हुनुभएको खबर प्राप्त भएको छ । महोत्तरी समाचारदाता विजयकुमार महतोका अनुसार महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रञ्जितकुमार चौधरी एक मतले विजयी हुने भाग्यमानी वडाध्यक्ष बन्नुभयो । चौधरीले ३६६ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मोहम्मद अनामुल राइनले ३६५ मत प्राप्त गर्नुभयो ।
गुल्मीको कालीगण्डकीमा पुनः थापा विजयी
कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
धादिङको खनियाबासमा कांग्रेस र रुविभ्याली गाउँपालिकामा नेकपा माओवादी विजयी
धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ विजयी भएका हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङ विजयी हुनुभएको छ ।
कपुरकोट गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ ।
बेनी नगरको प्रमुखमा सुरज र उपप्रमुखमा ज्योती विजयी
बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो ।
रामारोशन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
रामारोशन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउँद र उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएका छन् । अध्यक्ष पदमा साउँदले तीनहजार १२७ मतले विजयी भएका हुनुभएको छ ।
भरतपुर महानगरमा दाहाल ३० मतले अगाडि
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा ९एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न। ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।
सल्यान शारदा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो ।
परिणाममा ढिलाइ ,निर्णय प्रक्रिया अवरुद्ध
निर्वाचन मत परिणाम आउन ढिलाइ हुँदा स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था उत्पन्न भएको छ । गत २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल यही जेठ ६ गते सकिँदै छ । शुक्रबारभित्र निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको कार्यभार नसमाल्ने हो भने स्थानीय तहमा हुने निर्णय प्रक्रिया पूर्ण रूपमा अवरुद्ध हुनेछ ।
मोलुङमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी
ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभएको हो ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।
दक्षिणकाली र कीर्तिपुरमा काँग्रेस निर्वाचित
काठमाडौँमा सोमबारसम्म दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले नौ हजार ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका रत्नकेशर वज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभयो ।