• ७ वैशाख २०८१, शुक्रबार

सल्यान शारदा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुखमा विजयी प्रकाश भण्डारी र सुष्मिता सापकोटा । तस्बिर : गोरखापत्र

सल्यान, जेठ ३ गते ।  शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजकुमार प्रधानले ४ हजार ९ सय ३७ र माओवादी–एकीकृतसमाजवादी गठबन्धनका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ९४ मत प्राप्त गर्नुभएको हो । कांग्रेसका प्रमुख पदका उम्मेदवार भण्डारीले प्रधानलाई १ हजार २ सय ८० र श्रेष्ठलाई २ हजार २ सय २३ मतले पछि पार्नु भएको हो । 

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार  उपप्रमुख सुष्मिता सापकोटाले ५ हजार ३ सय ८० मत ल्याउनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेश कुमार गौतमले ४ हजार ५ सय ९५ र एमालेकी उमेदवार जालना भण्डारीले ४ हजार ५ सय २२ मत प्राप्त गर्नु भएको थियो ।

सल्यान जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकाका कांग्रेसका प्रमुख र उपप्रमुख पदका दुबै उम्मेदवारले सुरुवातदेखि नै अग्रता कायम गरेका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा पनि शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेसले नै वीजयी बनेको  । 

मुख्य निर्वाचन कार्यालय सल्यानले आज बिहान एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण गर्न तयारी गरेको छ ।  नगरभित्र २३ हजार ९ सय ५८ मतदाता रहेकोमा वैशाख ३० मा भएको मतदानमा १६ हजार ४ सय ६६ मत खसेको थियो ।