• १६ भदौ २०८१, आइतबार

धादिङको खनियाबासमा कांग्रेस र रुविभ्याली गाउँपालिकामा नेकपा माओवादी विजयी

blog

खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ । तस्बिर : गोरखापत्र

मुरारी अधिकारी

जेठ, ३ गते । धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ विजयी भएका हुनुभएको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङ विजयी हुनुभएको छ । त्यसैगरी उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी हुनुभएको हो ।

खनियाबास गाउँपालिका अध्यक्ष विजयी भएका रणबहादुरले एक हजार ६ सय ९ मत ल्याउनु भएको छ । । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उठेका फुलबहादुर तामाङले एक हजार तीन सय ९६ मत ल्याउनु भएको छ । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि विजयी हुनुभएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्षमा विजयी सेकेमानले एक हजार आठ सय ३७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले एक हजार दुई सय ३७ मत ल्याउनु भएको थियो । 

अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएकाहरु गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । खनियाबास गाउँपालिका वडा नं १, २ र ३ मा राप्रपाका उम्मेदवारहरु क्रमश सोनाम बहादुर तामाङ, अरुण कुमार पाख्रिन, कमान सिंह तामाङ, वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार लिलामान तामाङ र वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार रविन कुमार तामाङ विजयी हुनुभएको थियो ।

रुविभ्याली गाउँपालिकाबाट अध्यक्षमा विजयी रामबहादुर तामाङले दुई हजार सात सय ९२ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले हुई हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका हुनुभएको छ । उहाँले दुई हजार ९ सय ३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गर्नुभएको थियो । 

रुविभ्याली वडा नं १ मा नेपाली कांग्रेसका पम्बर तामाङ, वडा नं २ मा नेकपा एकिकृत समाजवादीका रुप घले, वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङ, वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङ, वडा नं ५ मा नेपाली कांग्रेसका रम्बा घले र र वडा नं ६ मा नेकपा एकीकृत समाजवादीका समिर गुरुङ वडा अध्यक्षमा विजयी हुनुभएको गाउँपालिकाका निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।