काठमाडौँ, असार ३० गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको एक वर्षे अवधिमा आर्थिक सूचकहरू सकारात्मक देखिएको बताउनुभएको छ ।
साथै उहाँले सुशासन र संविधान संशोधनसहितको सातबुँदे सहमति कार्यान्वयनमा भने प्रश्न उठेको छ भन्नुभयो ।
स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौंमा आयोजित जनता र सरकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महरले सरकारको एक वर्षमा देशका आर्थिक सूचकहरू राम्रा भएको धारणा राख्नुभयो ।
नेता महरले भन्नुभयो, ‘‘थुप्रै नयाँ नीति–नियम बनेका छन्, कानुन निर्माणले गति पाएको छ। यसले व्यापार गर्न सहज भएको भनिएको छ, लामो समयदेखि रोकिएका शान्ति प्रक्रियाका कामहरू र नागरिकता ऐन संशोधनजस्ता महत्वपूर्ण विषय पनि टुङ्ग्याइएको छ ।’’
सरकारी कार्यालयबाट सेवा लिन सहज होस् भनेर अनलाइन प्रणालीको विकास गरिएको र राजनीतिक रूपमा देशमा स्थिर सरकार बनेको कुरा आफैँमा एउटा ठूलो उपलब्धि हो भन्दै महरले यी सब कामले जनतालाई केही आशा देखाएको उल्लेख गर्नुभयो ।
सरकार सञ्चालनको उद्देश्य, कार्यान्वयनको दिशा र समग्र व्यवस्थापनतर्फ भने प्रश्नहरू खडा भएको महरको टिप्पणी छ। एक वर्षअघि सरकार निर्माणताका बेला गरेको संविधान संशोधनसहितको सातबुँदे सहमति पूरा हुनुपर्ने, आशा जगाउने जनताले खोजेको सुशासन र भ्रष्टाचार रोक्न पनि सरकार अझ प्रभावकारी ढङ्गले अगाडि बढ्नुपर्ने भनाइ उहाँको छ ।