• ८ वैशाख २०८१, शनिबार

बाह्रबिसे, भोटेकोशीमा काँग्रेस र बलेफीमा माओवादी केन्द्र विजयी

blog

बाह्रबिसे नगरपालिका मेयरमा विजयी नेपाली कांग्रेसका बालकृष्ण बस्नेत । तस्बिर : गोरखापत्र

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ३ गते । बाह्रबिसे नगरपालिका मेयरमा नेपाली काँग्रेसका बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ विजयी हुनुभएको छ । प्रमुख बस्नेतले सात हजार ७२८ मत र उपमेयर तामाङले ६ हजार ९७७ मत ल्याउनुभएको थियो ।

बस्नेतको निकटतम प्रतिद्वन्द्वी एमालेका निमफूञ्जो शेर्पाले ५ हजार ४३३ मत र तामाङको निकटतम प्रतिद्वन्द्वी सुशीला पाख्रिनले ५ हजार ९९० मत ल्याउनुभएको थियो । एमाओवादी केन्द्रका बुद्धराज बस्नेतले ५६५ र पातली थामीले ४७१ मत ल्याउनुभएको थियो ।

उक्त नगरको वडा नम्बर १ मा काँग्रेरसका आङदोर्जे शेर्पा, २ मा कांगे्रसका रेशम तामाङ, ३ मा कांगे्रसका जीवन भण्डारी, ४ मा काँग्रेसका शेखर भण्डारी, ५ मा काँग्रेसका श्यामबहादुर लामा, ६ मा एमालेका कुलबहादुर श्रेष्ठ, ७ मा एमालेका सोनाम लामा, ८ मा काँग्रेसका विमल पौडेल र ९ मा काँग्रेसका कृष्णबहादुर राय वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

उक्त नगर नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गाउँ हो । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा एमालेका निमफूञ्जो शेर्पाले जित्नुभएको थियो । नेपाल–चीन सीमा क्षेत्र भोटेकोशी गाउँपालिकामा नेपाली काँग्रेसका पासाङनृ्र्पु शेर्पा अध्यक्षमा र उपाध्यक्षमा काँग्रेसकी दिछेन शेर्पा विजयी भएका छन् ।

अध्यक्ष पासाङले दुई हजार ६०५ मत र उपाध्यक्ष छिदेनले दुई हजार ७१२ मत ल्याउनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले दुई हजार ४८ मत र उपाध्यक्षकी उम्मेदवार सुन्तली लामा श्रेष्ठले दुई हजार ५५३ मत ल्याएर पराजय भोग्नुभएको छ ।

एमाओवादीका अध्यक्ष उम्मेदवार राजकुमार पौडेलले १ हजार ९१८ र उपाध्यक्ष उम्मेदवार आशा गुरुङले १ हजार ६१२ मत तेस्रो हुनुभएको छ । पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यस्तै सो पालिका वडा नम्बर १ मा काँग्रेसका राजु लामा, २ मा कांगे्रसका कुमार श्रेष्ठ, ३ मा काँग्रेसका दावातेम्बा तामाङ, ४ मा स्वतन्त्रबाट निमासोनु शेर्पा, ४ मा एमालेका टासी शेर्पा वडा अध्यक्षमा विजयी हुनुभएको छ । 

बलेफीमा माओवादीका गंगा र काँग्रेसका सरु विजयी

बलेफी गाउँपालिका अध्यक्षमा एमाओबादी केन्द्रका गंगाबहादुर तामाङ ‘प्रवेश’ र उपाध्यक्षमा काँग्रेसका सरु लामा थोकर विजयी हुनुभएको छ । उक्त पालिकामा एमाओवादी केन्द्र र समाजवादीको गठबन्धन थियो । 

नवनिर्वाचित तामाङले ४ हजार ६६६ मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले ४ हजार १०५ मत ल्याउनुभयो । त्यस्तै एमालेका नारायणकाजी श्रेष्ठले ३ हजार ३८ मत पाउनुभएको थियो । उपाध्यक्षमा काँग्रेसका सरु लामा थोकरले ४ हजार ३९४ मत ल्याउनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सपना थापाले ३ हजार ६३३ मत ल्याउनुभएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार ढालबहादुर थापाले २ हजार ४१८ मत ल्याउनुभएको थियो । 

उक्त पालिकाको वडा नम्बर १ मा काँग्रेसका हुपबहादुर खड्का, २ मा काँग्रेसका छविलाल न्यौपाने, ३ मा काँग्रेसका रितेश तामाङ, ४ मा एमाओवादी केन्द्रका सुर्य तामाङ, ५ मा काँग्रेसका यादव ठकुरी, ६ मा एमालेका तेजबहादुर पराजुली, ७ मा काँग्रेसका गृविन्द्र चौलागाँई र ८ मा काँग्रेसका रमेशकुमार श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका छन् ।