• १४ वैशाख २०८१, शुक्रबार

अमरगढी नगरपालिकामा काँग्रेस विजयी

blog

अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा विजयी हुनुभएका जोशी र झुकाल । तस्बिर : समाजिक सञ्जाल

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ ३ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका प्रमुख उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले जितेको अमरगढीमा काँग्रेस अत्यधिक बहुमतका साथ विजयी भएको छ । 

नगर प्रमुखमा डिल्लीराज जोशी, उपप्रमुखमा पार्वती झुकालसहित १० वटा वडामा काग्रेसका वडाध्यक्ष निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिनुभयो । 

अमरगढीमा काँग्रेस र काँग्रेस बीपीका बीच मुख्य प्रतिस्पर्धा भएको थियो । काँग्रेसका उम्मेदवार जोशीले ३६२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस बीपीका हरि भट्टले ३४२६ मत प्राप्त गर्नुभयो । काँग्रेसले मतगणनाको शुरुदेखि नै अग्रता लिएको थियो । 

यस्तै उपप्रमुखमा कांग्रेका उम्मेदवार झुकाल ३६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज अवस्थीले ३०८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ । 

११ वटा वडा रहेको अमरगढीमा १० वटा वडामा काँग्रेसका वडा अध्यक्ष विजयी हुनुभएको छ । ८ नं. वडा बाहेक सबै वडामा काँग्रेस विजयी भएको हो । ८ नं. वडामा भने गत निर्वाचनमा काँग्रेसबाट विजयी हुनुभएका नरबहादुर साँकी यस पटक काँग्रेस बीपीबाट उम्मेदवार भई पुनः निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेससँग रुष्ट समूहले काँग्रेस बीपी पार्टीबाट एमालेसँग तालमेल गरी चुनाव लडेको थियो ।