• १३ साउन २०८१, आइतबार

एक मतले जित्ने भाग्यमानी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ३ गते ।  निर्वाचनमा एक मतले हारजित हुन्छ तर त्यस्तो अवस्था कमै हुने भए पनि यस पटकको स्थानीय तह निर्वाचनमा हालसम्म सात जना एकै मतका आधारमा निर्वाचित हुनुभएको छ । 

सोमबार साँझसम्म महोत्तरी र काभ्रेपलाञ्चोकका तीन/तीन जना र सिरहाका एक जना एक मतको अन्तरमा वडाध्यक्षमा विजयी हुनुभएको खबर प्राप्त भएको छ । 

महोत्तरी समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रञ्जितकुमार चौधरी एक मतले विजयी हुने भाग्यमानी वडाध्यक्ष बन्नुभयो । चौधरीले ३६६ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मोहम्मद अनामुल राइनले ३६५ मत प्राप्त गर्नुभयो । 

यस्तै एक मतले विजय हात पार्ने वडाध्यक्ष बर्दिबास नगरपालिका–७ का स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव बन्नुभएको छ । यादव ७२७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीले ७२६ मत प्राप्त गर्नुभएको बर्दिबास निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । “कामको मूल्याङ्कन हुँदो रहेछ । त्यसैले एक भोटले भए पनि जनताले मलाई जिताउनुभयो,” बर्दिबास–७ का विजयी वडाध्यक्ष यादवले भन्नुभयो । 

बर्दिबास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो पनि भाग्यमानी वडाध्यक्ष बन्नुभएको छ । वडाध्यक्ष महतो ५०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतप्रसाद हमाललाई मात्र एक मतले पछि पार्दै जित हात पार्नुभएको छ । हमालले ५०७ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो । महतोले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 

काभ्रेपलाञ्चोक समाचारदाता केदार तिमल्सिनाका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ मा एक मतले विजयी हुनुभएको भन्दै नेपाली काँग्रेसका उम्मेदवार कुलदास तामाङले सबैबाट बधाई पाइसक्नुभएको थियो । पुनः मतगणना गर्दा एक मतले एमालेका उम्मेदवार इन्द्रबहादुर अधिकारीसँग पराजित हुनुभयो । सो वडामा पुनः मतगणना गराउन माग राख्दै एमालेले विरोध जनाएपछि मतगणना कार्य नै एक दिन रोकिएको थियो । 

चौँरीदेउराली गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार सुशील लामा ४०२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिस्पर्धी माओवादी केन्द्रका राजु आले तामाङले ४०१ मत प्राप्त गर्नुभयो । त्यस्तै खानीखोला गाउँपालिका–१ मा माओवादी केन्द्रका सन्तमान थिङ एक मतले विजयी हुनुभयो । 

उहाँले ५४८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका आशाराम गोलेले ५४७ मत ल्याउनुभयो । यसैगरी सिरहाको औरही गाउँपालिका–५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रीत यादव एक मतले विजयी हुनुभएको छ । उहाँले ४७२ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रामाशीष यादवले ४७१ मत ल्याउनुभयो ।