• ७ वैशाख २०८१, शुक्रबार

कालीकोटको तीन स्थानीय तहको नतिजा सार्वजनिक

blog

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार कमलवहादुर शाही र उपप्रमुख माओवादी केन्द्रका गणेशवहादुर शाही। तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट, जेठ ३ गते । कालीकोटका नौ स्थानीय तहमध्ये तीन स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र पलाँला गाउँपालिका गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो । 

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीले दुई हजार ९१९ मतका साथ विजयी हुनुभएको छ । उहाँले एमालेका पूर्व नगरप्रमुख जसिप्रसाद पाण्डेलाई ३१० मतले हराउँदै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । पाण्डेले दुई हजार ६०९ मत ल्याउनुभएको थियो । 

उपप्रमुखमा माओवादी केन्द्रका गणेशवहादुर शाही दुई हजार ९२६ मतका साथ उपप्रमुखमा निर्वाचित हुनुभएको छ । शाहीद्वयले चुनावी तालमेल गरेका थिए । उहाँले एमालेका मिना शाहीलाई ५२० मतले पराजित गर्नुभएको छ । मिना शाहीले दुई हजार ३९९ मत ल्याउँदै दोस्रो बन्नुभएको छ । गठबन्धनमा एसलाई भाग नपरेपछि कमलबहादुर शाही स्वतन्त्रवाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएको थियो । पछि माओवादी केन्द्रले उनै स्वतन्त्र उम्मेदवारसँग गठबन्धन गरेर बाजी मारेको छ ।

यस्तै तिलागुफा नगरपालिकामा नेपाली काँग्रेसका शङ्करप्रसाद उपाध्याय दुई हजार ९१६ मतका साथ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका दिनेश चदाँरालाई ३८६ मतले पछि पादै नगरप्रमुखमा विजयी हुनुभएको हो । तिलागुफा नगरपालिकामा एमालेका महेन्द्रबहादुर शाही नगरउपप्रमुखमा दुई हजार ७५६ मतका साथ निर्वाचित हुनु भएको छ ।

उहाँले आफ्ना प्रतिद्वन्द्वी माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार गीताकुमारी ओली थापालाई ३४१ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यहाँ नेपाली काँग्रेस र नेकपा एमालेको सयुक्त गठबन्धन भएको थियो । जिल्लाको पलाँता गाउँपालिकाको पनि अन्तिम परिणाम आएको छ । यहाँ माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका विष्णु रोकायाले दुई हजार २९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले ८३६ मतान्तर पार्नुभएको छ । 

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केसरसिंह बमले एक हजार ४५६ मत ल्याएर पराजित हुनुभएको छ । उपाध्याक्षमा माओवादी केन्द्रकै अलैपुरा जैसीले एक हजार ७४३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका जलसा बुढालाई १४९ मतान्तरले हराउँदै गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । पराजित बुढाले एक हजार एक हजार ५९४ मत ल्याउनुभएको थियो ।