• ६ वैशाख २०८१, बिहिबार

दक्षिणकाली र कीर्तिपुरमा काँग्रेस निर्वाचित

blog

काठमाडौँ, जेठ ३ गते ।  काठमाडौँमा सोमबारसम्म दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले नौ हजार ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका रत्नकेशर वज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभयो ।

उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार श्रीराम आचार्यलाई पराजित गर्नुभएको हो । बस्नेतको सात हजार २०१ र आचार्यले पाँच हजार १९२ मत प्राप्त गर्नुभएको छ । दक्षिणकालीको उपप्रमुखका नेपाली काँग्रेसकी वसन्ती तामाङ निर्वाचित हुनुभएको छ । 

दक्षिणकालीको वडा नम्बर २, ४, ५, ६, ८ र ९ मा नेपाली काँग्रेसले वडाध्यक्ष जितेका छन् । काँग्रेसबाट क्रमशः रामचन्द्र क्षेत्री, पुष्कर खड्का, श्यामबहादुर खत्री, शैलेशमान मानन्धर, योसकुमार वाइबा र अमृका बलामी निर्वाचित हुनुभयो । यसैगरी वडा नम्बर १, ३ र ७ मा एमालेबाट क्रमशः जय थापामगर, प्रचण्डमान सिंह र हरिप्रसाद तिमल्सेना निर्वाचित हुनुभएको छ । 

काठमाडौँको मतगणना परिणाम सार्वजनिक हुन लामो समय लाग्ने देखिएको छ । काठमाडौँमा ११ वटा पालिका छन् । अहिलेसम्म अधिकांश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छैन । जनघनत्व बढी भएका कारण पनि यहाँको मतगणनामा अलि बढी समय लाग्ने देखिएको छ । 

अधिकांश पालिकाका वडाध्यक्षको मत परिणाम सार्वजनिक भएको छ भने केही पालिकामा कुनै पनि मत परिणाम सार्वजनिक भएको छैन । अहिलेसम्म तारकेश्वर र चन्द्रागिरि नगरपालिकाको कुनै पनि वडाको मत परिणाम सार्वजनिक भएको छैन । 

काठमाडौँ महानगरपलिका वडा नम्बर १ देखि ४ सम्म एमालेबाट अध्यक्षमा क्रमशः भरतलाल श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, प्रेम थापा र दिनेश महर्जन निर्वाचित हुनुभएको छ । वडा नम्बर ५ देखि ३२ सम्मको मत परिणाम सार्वजनिक भएको छैन । 

१० वटा वडा रहेको कीर्तिपुर नगरपालिकामा सार्वजनिक भएको मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा अगाडि छ । यहाँ वडा नम्बर १, २, ३, ५, ६, ७ र ९ मा नेपाली काँग्रेस निर्वाचित भएको छ । काँग्रेसका उम्मेदवार क्रमशः हीरालाल महर्जन, रूपेश महर्जन, सुविन्द्र महर्जन, राजेन्द्रकुमार महर्जन, खीरमानसिंह बस्नेत, दिवाकर शर्मा अधिकारी र दिनेश श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ । यहाँ वडा नम्बर ४ मा कैँची निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ८ र १० मा मत परिणाम सार्वजनिक भएको छैन । 

नागार्जुन नगरपालिकाका वडा नम्बर १ र १० मा नेपाली काँग्रेसका रामेश्वर लामा र सुन्दरबहादुर केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर २ देखि ९ सम्मको मत परिणाम सार्वजनिक भएको छैन । 

टोखा नगरपालिकामा एमालेबाट वडा नम्बर २, ३, ४ र ५ मा क्रमशः धर्मेन्द्र श्रेष्ठ, रमेश डङ्गोल, धर्मेन्द्र श्रेष्ठ र मदन गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका रमेशकुमार लामिछाने अध्यक्ष निर्वाचित हुनुभएको छ । यहाँ वडा नम्बर ६ देखि ११ सम्मका मत परिणाम सार्वजनिक भएको छैन । 

बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ६ र ७ को अध्यक्षमा एमालेका उम्मेदवारहरू क्रमशः सुरेन्द्र लामा, राजेन्द्र श्रेष्ठ, रवि खड्का र बसनारायण महर्जन निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसबाट वडा नम्बर ४ मा श्रीराम केसी अध्यक्ष निर्वाचित हुनुभएको छ भने वडा नम्बर ८ देखि १३ सम्मको मत परिणाम सार्वजनिक भएको छैन । गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर १, २ र ३ को अध्यक्षमा एमालेबाट क्रमशः द्वारिका श्रेष्ठ, मधुनाथ तामाङ र मुरारीप्रसाद कुइँकेल निर्वाचित हुनुभएको छ । वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार जयराम महत निर्वाचित हुनुभएको छ । 

शङ्खरापुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर १ मा खाता खोलेको छ । यहाँ वडाध्यक्षमा माओवादीका वेदनारायण दङ्गाल निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसबाट वडा नम्बर २, ८ र ९ मा क्रमशः रनबहादुर थिङ, पोते थिङ र सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । वडा नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा एमालेका मुकुन्दप्रसाद गजुरेल र वडा नम्बर ९ मा काँग्रेसका अनिल थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर २ देखि ८ सम्मका वडाको मत परिणाम सार्वजनिक भएको छैन ।