साहारा लिम्बू
फुङलिङ, वैशाख ३१ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा एक करोड ६ लाख बढी भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार माघ महिनामा भक्तजनहरूले १ करोड ६ लाख २८ हजार रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार विषेशगरी चैत र वैशाख महिना पाथीभरा मन्दिरको सिजन भएका कारण वैशाख महिनामा धेरै भक्तजन पाथीभरा आउनुभएपछि उक्त रकम बारबारको भेटी सङ्कलन भएको छ।
तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्मको संलकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ। कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्नेगरी समितिले व्यवस्थापन गरेको छ। विहीबार सार्वजनिक तथ्याङ्कअनुसार वैशाख महिनामा ५२ हजार २२८ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।