• ३१ वैशाख २०८३, बिहिबार

काठमाडौँ महानगर २२ मा महोत्सव हुँदै

blog

काठमाडौँ, वैशाख ३१ गते । काठमाडौँ वडा नं‍. २२ क्षेत्रमा जेठ २ गते शनिबार बृहत् वडा महोत्सव आयोजना हुँदैछ । 

महानगरको वडा नं.२२ का वडा अध्यक्ष चिनी काजी महर्जनका अनुसार वडा क्षेत्र अन्तर्गतका ऐतिहासिक सामाजिक, व्यावसायिक, सांस्कृतिक, धार्मिकलगायत विविध क्षेत्रहरुको सम्पदा एवम् जीवन्त पक्षहरुको विविध गतिविधिमार्फत प्रदर्शन र प्रवर्ध्दन गर्ने उद्देश्यले सो महोत्सव आयोजना हुन लागेको छ ।

महानगर वडा नं. २२ का विभिन्न स्थानहरु नयाँसडक, प्युखा, वटु, सुन्धारा, टेबहाल, धर्मपथ, खिचापोखरी लगायतका स्थानमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ । 

उहाँका अनुसार कार्यक्रममा धिमे बाजा प्रतियोगिता, दिपक बज्राचार्य एण्ड रिदम् ब्यान्ड तथा कुटुम्बको लाइभ प्रस्तुति, स्थानीय कलाकारहरुको विविध सांस्कृतिक बाजा, नृत्य, गीत प्रस्तुति, १५० भन्दा बढी हस्तकला, घरेलु उत्पादन, रेडिमेड पोशाक, जुत्ता, ब्याग, मोबाइल, इलेक्ट्रिक सामानका स्टल, ५० भन्दा बढी परम्परागत तथा अन्य खानाको प्रदर्शनी, विविध भाषा साहित्य महोत्सव तथा सम्मान कार्यक्रम, ऐतिहासिक तस्बिर तथा चित्र प्रदर्शनी, बाल मनोरञ्जन, ६ स्थानमा रक्तदान लगायतका कार्यक्रम हुनेछन्।