• ३१ वैशाख २०८३, बिहिबार

द्वन्द्वले अफगान बालकुपोषण सङ्कट झनै गहिरिँदै

blog

काबुल, वैशाख ३१ गते । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लगातले मानवीय सहायता वितरणलाई गम्भीररूपमा प्रभावित गरेको छ । उहाँले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गर्नुभयो । डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले भन्नुभयो, “अफगानिस्तानमा यो एक पोषण सङ्कट हो । गत वर्षको वृद्धि हामीले देखेको सबैभन्दा खराब थियो, र यो वर्ष अवस्था अझै खराब छ ।”

संस्थाले जनवरीमा सार्वजनिक गरेको अनुमानअनुसार अफगानिस्तानमा करिब पाँच करोड जनसङ्ख्या मध्ये ५० लाख महिला र बालबालिका यस वर्ष जीवन जोखिममा पार्ने स्तरको कुपोषणको सामना गर्न बाध्य हुने छन् । पछिल्ला महिनामा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशबाट ठूलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ ।

यसैबिच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्णरूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ । खाद्यान्न तथा इन्धन मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ भइरहेको डब्लुएफपीले जनाएको छ ।

स्काउका अनुसार, यदि यी अवरोध नभएको भए अफगानिस्तानमा थप १० लाख बालबालिकालाई पोषण सहायता दिन सकिने थियो । उहाँले भन्नुभयो, “यदि हामी आपूर्ति शृङ्खला, ढिलाइ र लगातको समस्यामा नफसेका भए हामी अझै एक लाखभन्दा बढी बालबालिकासम्म पुग्न सक्थ्यौँ ।” डब्लुएफपीले अफगान स्कुलका बालबालिकाका लागि हजारौँ टन पोषणयुक्त बिस्कुट पाकिस्तानमार्फत पठाउने योजना बनाएको थियो । तर सीमा बन्द भएपछि सहायता सामग्रीको मार्ग परिवर्तन गर्नुपर्यो ।

संस्थाले आपूर्तिलाई दुबई र इरान हुँदै पुनः मार्ग परिवर्तन गरेको थियो, तर मध्यपूर्वमा फैलिएको द्वन्द्वका कारण थप अवरोध उत्पन्न भयो । त्यसपछि साउदी अरेबिया, टर्की, जर्जिया र तुर्कमेनिस्तान हुँदै सात देश पार गरेर सामग्री अफगानिस्तान पुर्याउने विकल्प अपनाइएको छ । स्काउले भन्नुभयो, “यो हप्ता सामग्री आइपुग्नेछ, तर यसले महिनौँ समय लियो र हामीलाई निकै ठूलो लगात व्यहोर्नु पर्यो ।”

डब्लुएफपीले आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको जनाएको छ । संस्थाले अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषको केवल आठ प्रतिशत मात्र हालसम्म सङ्कलन गर्न सकेको छ । स्काउले पूर्वी अफगानिस्तानका ग्रामीण क्लिनिकको अवलोकन गर्दा देखेको अवस्थाबारे भावुक हुँदै गम्भीर कुपोषण भएका बालबालिकासहित महिला घण्टौँ पैदल हिँडेर उपचारका लागि आउने गरेका तर धेरैलाई सहायता अभावका कारण फर्काउनु परेको बताउनुभयो ।

“हामीसँग उनीहरूलाई दिन सहयोग थिएन । ती महिलाको निराशा र पीडा मेरो स्मृतिमा लामो समय रहने छ”, उहाँले भन्नुभयो, “यदि संसारको कुनै एउटा विषयमा सहमति हुनुपर्छ भने त्यो हो, बालबालिकाले भोकले मर्नु हुँदैन ।”रासस/एएफपी