• १९ वैशाख २०८१, बुधबार

सन्दर्भ : युवा दिवस

दलीय नेतृत्व पुरानै

blog

काठमाडौँ, साउन २७ गते । नेपालका हरेक ऐतिहासिक, राजनीतिक आन्दोलनमा युवा पुस्ताको महत्त्वपूर्ण  भूमिका  रहे पनि राजनीतिक दलहरूमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रणालीको विकास अझै हुन सकेको छैन। 

पार्टी सञ्चालनका संरचनामा युवा सहभागिता सुनिश्चित गर्ने खालको प्रणाली विकास नहुँदा राजनीतिक दलका नेतृत्वमा पुरानो पुस्ता हावी भएको देखिन्छ भने युवा पुस्तामा नेतृत्व हस्तान्तरणको प्रवृत्ति ढिलो गतिमा हिँडेको देखिन्छ।  

राष्ट्रिय युवा परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधव ढुङ्गेलले नयाँ पुस्तालाई अवसर दिने खालको प्रणाली र व्यवस्था नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालका राजनीतिक पार्टीबाट युवा नेतृत्व विकास हुने अवस्था छैन।” 

उहाँले पार्टीका संरचनाहरूमा युवालाई स्थापित गराउन पुरानो र नयाँ पुस्ताका लागि निश्चित प्रतिशत तोकिनुपर्ने विचार व्यक्त गर्नुभयो। यस्तो व्यवस्था भएमा एउटा तह पुरानो पुस्ता र बाँकी नयाँ आउन सक्ने व्यवस्थाले पनि युवा सहभागिता बढ्न सक्ने बताउनुभयो।  

पद्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक सचिता कुइँकेलले नयाँ र युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो बुवाले जुन व्यक्तिलाई मतदान गर्नुभयो, तिनै व्यक्तिहरू अहिले पनि निरन्तर पार्टीको नेतृत्वमा हुनुहुन्छ भने नेतृत्व हस्तान्तरण भएको कसरी भयो भन्न सकिन्छ।” 

अब त युवा पुस्ताले हस्तक्षेप गर्नुपर्ने तर्क गर्दै उहाँले अनुशासित लोकतन्त्र नहुँदा यस्तो अवस्था आएको दाबी गर्नुभयो। नेपाली काँग्रेसका नेता बद्री पाण्डेले राम्रो लोकतान्त्रिक अभ्यास भएका देशमा एक चरण राजनीति गर्ने र छोड्ने प्रचलन हुने गरेको उल्लेख गर्नुभयो। यसो हुँदा नयाँ पुस्ताको प्रवेश सहज हुने गर्छ। उहाँले भन्नुभयो, “नेताको उपाधि जीवनभरका लागि पाएजस्तो हामीकहाँ देखिएको छ। राजनीतिमा स्वेच्छिक अवकाश हुने प्रबन्ध गरिनुपर्छ।” 

वर्षौँदेखि  एउटै मान्छे दोहोरिने प्रवृत्तिले नागरिकमा परिवर्तनको अनुभव नहुने उहाँको भनाइ छ। यस्तो प्रवृत्ति हटाउन बाध्यकारी व्यवस्था पनि आवश्यक हुन सक्नेमा उहाँले जोड दिनुभयो।  

पार्टी, पार्टीका भ्रातृ सङ्गठनहरूको नियमित अधिवेशन र आवधिक निर्वाचन भएमा नयाँ पुस्ता आउन सक्ने उपप्राध्यापक कुइँकेलको धारणा छ। राजनीतिक दलमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि युवा नेतृत्व विकास आवश्यक भएकोमा जोड दिँदै उहाँले भन्नुभयो, “क्षमताका आधारमा पुस्तान्तरण हुनुपर्छ।”