नेपालको शिक्षा प्रणालीले विगत लामो समयदेखि ठुलो परिवर्तनको यात्रा तय गरेको छ । राणा शासनकालमा शिक्षा केवल दरबार र उच्च वर्गमा सीमित थियो । सर्वसाधारण जनताका लागि शिक्षा प्राप्त गर्नु कठिन मात्र होइन, असम्भव जस्तै थियो । गुरुकुल, गुम्बा र घरेलु शिक्षण प्रणालीमार्फत धार्मिक तथा सांस्कृतिक ज्ञान मात्र प्रदान गरिन्थ्यो । विसं २००७ मा प्रजातन्त्र स्थापना भएपछि शिक्षा सबै नागरिकको अधिकारका रूपमा विस्तार हुन थाल्यो । राष्ट्रिय शिक्षा योजना आयोगको गठनपछि शिक्षा प्रणालीलाई एकरूप बनाउने प्रयास भयो । विसं २०२८ को राष्ट्रिय शिक्षा प्रणाली योजनाले देशभर विद्यालय संरचना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्यो । प्राथमिक शिक्षा निःशुल्क बनाइयो र विद्यालयको सङ्ख्या उल्लेख्य रूपमा बढ्यो ।
पञ्चायतकालमा शिक्षा विस्तार भए पनि गुणस्तरभन्दा नियन्त्रण र प्रशासनिक पक्षमा बढी जोड दिइयो । नेपालमा विद्यालय शिक्षा १२ कक्षासम्म छ भने उच्च शिक्षा विश्वविद्यालय तहमा विभाजित छ । सङ्घीय शासनप्रणाली लागु भएपछि स्थानीय तहको भूमिका शिक्षा व्यवस्थापनमा बढेको छ । प्राथमिक तहमा भर्नादर ९५ प्रतिशतभन्दा माथि पुगेको छ । साक्षरता दर पनि उल्लेख्य रूपमा वृद्धि भई करिब ७६ प्रतिशत आसपास पुगेको अनुमान छ । बाल साक्षरता दर लगभग पूर्णतामा पुगेको छ । तथापि गुणस्तरको प्रश्न अझै गम्भीर रूपमा उठिरहेको छ । विद्यालय तहको अन्तिम परीक्षा उत्तीर्ण दरमा सुधार देखिए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार देखिएको छैन । विद्यार्थीले सैद्धान्तिक ज्ञान त प्राप्त गरिरहेका छन् तर व्यावहारिक सिप कमजोर रहेको गुनासो व्यापक छ ।
शिक्षक राजनीतिक हस्तक्षेप, कम तलब सुविधा र पर्याप्त तालिमको अभावका कारण निरुत्साहित देखिन्छन् । ग्रामीण र दुर्गम क्षेत्रका विद्यालय अझै पूर्वाधार र शिक्षक अभावको समस्याबाट प्रभावित छन् । यस सन्दर्भमा फिनल्यान्ड र दक्षिण कोरियाको शिक्षा प्रणाली नेपालका लागि महìवपूर्ण सिकाइ स्रोत बन्न सक्छन् । फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा प्रणालीमध्ये एक मानिन्छ । त्यहाँ शिक्षक पेसालाई सम्मानित मानिन्छ । शिक्षक बन्न उच्च शैक्षिक योग्यता आवश्यक हुन्छ र प्रतिस्पर्धा कडा हुन्छ । विद्यार्थीलाई अत्यधिक गृहकार्य र परीक्षा दबाब दिइँदैन । खेल, सिर्जनशीलता र व्यावहारिक सिकाइमा बढी जोड दिइन्छ ।
शिक्षकलाई पाठ्यक्रम कार्यान्वयनमा पूर्ण स्वतन्त्रता दिइन्छ । यसले विद्यार्थीको मानसिक स्वास्थ्य र सिकाइ दुवैलाई सन्तुलित बनाएको छ । फिनल्यान्डको शिक्षा प्रणालीमा समानता प्रमुख आधार हो । धनी र गरिब, सहर र गाउँबिचको शिक्षा गुणस्तरमा ठुलो अन्तर देखिँदैन । विद्यार्थीको मूल्याङ्कनमा निरन्तर निरीक्षण र व्यक्तिगत विकासलाई प्राथमिकता दिइन्छ । यस प्रणालीले विद्यार्थीलाई दबाबभन्दा सिकाइप्रति रुचि बढाउने वातावरण सिर्जना गरेको छ ।
अर्कोतर्फ दक्षिण कोरियाको शिक्षा प्रणाली प्रतिस्पर्धात्मक र परिणाममुखी छ । त्यहाँ शिक्षा आर्थिक विकासको प्रमुख आधार मानिन्छ । विज्ञान, प्रविधि, गणित र इन्जिनियरिङ शिक्षामा विशेष जोड दिइन्छ । विद्यार्थी मेहनती हुन्छन् । लामो समय अध्ययनमा बिताउँछन् । निजी ट्युटरिङ प्रणाली व्यापक छ, जसले अतिरिक्त अध्ययन संस्कृतिलाई बढावा दिएको छ । दक्षिण कोरियाको उच्च शिक्षित जनशक्ति नै देशको तीव्र आर्थिक विकासको मुख्य आधार बनेको छ । यसको अर्को पक्ष भनेको विद्यार्थीमा उच्च मानसिक दबाब, तनाव र थकानको समस्या पनि हो । अत्यधिक प्रतिस्पर्धाका कारण विद्यार्थीको जीवन सन्तुलन प्रभावित हुने गरेको देखिन्छ । नेपालले यी दुई देशबाट सन्तुलित रूपमा सिक्न आवश्यक छ । फिनल्यान्डबाट शिक्षा प्रणालीलाई बालकेन्द्रित, समान र तनावमुक्त बनाउने दृष्टिकोण अपनाउन सकिन्छ । शिक्षकलाई सम्मानित पेसा बनाउने, उनीहरूको क्षमता विकास गर्ने र पाठ्यक्रममा सिर्जनशीलता बढाउने नीति आवश्यक छ ।
त्यसै गरी दक्षिण कोरियाबाट नेपालले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिन सिक्न सक्छ । गणित, विज्ञान र प्रविधि शिक्षालाई सुदृढ बनाउँदै सिपमूलक शिक्षामा ध्यान दिनु आवश्यक छ । अत्यधिक प्रतिस्पर्धा र मानसिक दबाब भने नेपालले अपनाउनु हुँदैन । नेपालका लागि सबैभन्दा उपयुक्त मार्ग भनेको सन्तुलित शिक्षा मोडेल हो । प्रारम्भिक तहमा फिनल्यान्ड जस्तै खेल र अनुभवमा आधारित सिकाइ अपनाउन सकिन्छ भने माध्यमिक तहमा कोरिया जस्तै सिप र परिणाममुखी शिक्षा प्रणाली विकास गर्न सकिन्छ ।
नेपालको शिक्षा सुधारका लागि केही प्रमुख पक्षमा ध्यान दिन आवश्यक छ । पहिलो, शिक्षक छनोट र तालिम प्रणालीलाई कडा र प्रभावकारी बनाउनु पर्छ । दोस्रो, पाठ्यक्रमलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु आवश्यक छ । तेस्रो, ग्रामीण र सहरी क्षेत्रबिचको असमानता घटाउन पूर्वाधार विकासमा ध्यान दिनु पर्छ । चौथो, प्रविधिको प्रयोगलाई विस्तार गर्दै डिजिटल शिक्षालाई पहुँचयोग्य बनाउनु पर्छ । पाँचौँ, विद्यार्थीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षण प्रणाली विकास गर्नु पर्छ । नेपालको शिक्षा प्रणाली अहिले सङ्क्रमणकालीन अवस्थामा छ । पहुँच विस्तार भएको छ तर गुणस्तर अझै चुनौतीपूर्ण छ ।
फिनल्यान्डको समानता र शिक्षककेन्द्रित प्रणाली तथा दक्षिण कोरियाको सिपमुखी र परिणाममुखी दृष्टिकोणलाई सन्तुलित रूपमा अपनाउन सकियो भने नेपालको शिक्षा प्रणाली गुणस्तरीय, समावेशी र रोजगारमुखी बन्न सक्छ । शिक्षा केवल परीक्षा पास गर्ने माध्यम होइन, राष्ट्रनिर्माणको आधार हो । नेपालले अब पहुँचबाट गुणस्तरतर्फको यात्रालाई तीव्र बनाउनुपर्ने समय आएको छ । सरकार, शिक्षक, अभिभावक र नीतिनिर्माताबिच समन्वय भएमा नेपालले पनि विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्न योभन्दा पनि अझ बढी काम गर्न सक्छ ।