अमरराज नहर्की
तनहुँ, वैशाख ३१ गते । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्याले गर्दा तनहुँमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बुधबारदेखि अवरुद्ध भएको छ । प्रणालीमा समस्या आएकाले बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले प्रणालीमा आएको जटिलताले सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँका अनुसार विभागमा मर्मत कार्य भइरहेकाले समस्या समाधान हुनासाथ सेवा पुनः सुचारु गरिनेछ ।
“प्रणालीमा देखिएको समस्या समाधान नभएसम्मका लागि विवरण दर्ता र सच्याउने कार्य स्थगित गर्नुपरेको हो ।” अधिकृत श्रेष्ठले भन्नुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्राप्त जानकारी अनुसार नयाँ दर्ता गर्दा जारी हुने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसकेपछि विवरण दर्ता र विवरण सच्याउने लगायतका कार्यहरू प्रभावित भएका छन् ।