• ३१ वैशाख २०८३, बिहिबार

बाटोमै सुत्केरी भएकी महिलाको प्रहरीद्वारा उद्धार

blog

बाटोमै सुत्केरी भएकी महिलालाई स्टेचरमा राखेर अस्पताल लैजाँदै प्रहरी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख ३१ गते ।
सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँकी स्थायी बासिन्दा तथा हाल वडा नं. ५ काठेचुली चोकमा डेरा गरी बस्दै आएकी २२ वर्षीया चिनकली कामी बिहीबार बिहान बाटोमै सुत्केरी भएकी अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको छ ।

सुत्केरी कामीका आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा पुगेको टोलीले आमा र नवजात शिशुलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय हुम्ला का प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।

प्रहरीका अनुसार सूचना पाएपछि उद्धार गर्न पुग्दा सुत्केरी कामीलाई घरबाहिर बाटोमै राखिएको अवस्थामा भेटिएको थियो । त्यसपछि प्रहरी टोलीले स्टेचरको सहायताले आमा र शिशुलाई बोकेर अस्पताल पुर्‍याएको हो ।

हाल आमा र शिशुको अवस्था सामान्य रहेको र अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्सलाई खबर गर्दा ढिलाइ भएको र सहयोग नपाएपछि प्रहरी स्वयंले बोकेर उद्धार गर्नुपरेको स्थानीयले बताएका छन् । यस्ता आकस्मिक घटनामा एम्बुलेन्स सेवाले ढिलाइ गर्ने गरेको गुनासोसमेत आउने गरेको छ ।