लीलाधर वली
घोराही, वैशाख ३१ गते । दाङ जिल्लामा राहदानी सेवा अब हुलाकमार्फत नागरिकको घरमै पुर्याइने भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालयबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार नयाँ राहदानी बनाउने सेवाग्राहीले इच्छाअनुसार घरमै राहदानी बुझ्न सक्नेछन् । हुलाकमार्फत राहदानी घरमै पुर्याउने व्यवस्था मिलाइने भएको हो ।
संघीय सरकारको सय दिने कार्ययोजनाअन्तर्गत सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यसहित यो सम्झौता गरिएको हो । सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र हुलाक निर्देशनालय दाङका निमित्त निर्देशक शोभाराम बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार इच्छुक सेवाग्राहीले ५५ रुपियाँ राजस्व तिरेर राहदानी घरमै प्राप्त गर्न सक्नेछन् । त्यसका लागि सम्बन्धित व्यक्तिले हुलाक निर्देशनालय वा घोराहीस्थित हुलाक काउन्टरमा निवेदन दिनुपर्नेछ । निवेदनमा ठेगानासँगै राहदानी बुझ्न सक्ने वैकल्पिक व्यक्तिको विवरणसमेत उल्लेख गर्नुपर्नेछ ।
राहदानी वितरणका क्रममा कागजातको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइने सहमतिपत्रमा उल्लेख छ । साथै वितरणसम्बन्धी अभिलेख सुरक्षित राख्ने, समस्या आएमा आपसी समन्वयमा समाधान गर्ने तथा वितरण प्रक्रियालाई व्यवस्थित बनाउने व्यवस्था गरिएको छ ।
हुलाकमार्फत राहदानी पुर्याउँदा सम्बन्धित व्यक्ति वा परिवारलाई बुझाइनेछ । यदि व्यक्ति घरमा नभेटिए वा सम्पर्क हुन नसकेमा १५ दिनभित्र राहदानी जिल्ला प्रशासन कार्यालयमा फिर्ता गरिनेछ ।
हुलाक निर्देशनालयका अनुसार सेवा प्रभावकारी बनाउन हुलाकमार्फत मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाइनेछ । दाङमा हाल ३५ जना हलकारामार्फत चिठीपत्र, पार्सलसँगै राहदानी वितरणको सेवा सञ्चालन हुने भएको छ ।