• ३१ वैशाख २०८३, बिहिबार

एसइईमा नरहरीनाथ जिल्लामै पहिलो

blog

एसइई परीक्षामा सहभागी विद्यार्थीहरू । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, वैशाख ३१ गते ।
नरहरीनाथ गाउँपालिका यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । गाउँपालिकाबाट परीक्षामा सहभागी ३ सय ९३ विद्यार्थीमध्ये ३ सय ९ जना अर्थात् ८४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नरहरीनाथ जिल्लामै पहिलो बनेको हो ।

पढाउने शिक्षक र पढ्ने विद्यार्थी मेहनती भए भौतिक पूर्वाधारको अभावले ठूलो असर नपार्ने उदाहरण नरहरीनाथ गाउँपालिकाका विद्यालयहरूले प्रस्तुत गरेका छन् । पहिरोको जोखिममा रहेका नरहरीनाथ–३ को कुमालगाउँस्थित रमा माध्यमिक विद्यालय र नरहरीनाथ–४ को विश्वकुना माध्यमिक विद्यालयबाट एसईई दिएका सबै विद्यार्थी उत्तीर्ण भएपछि अहिले जिल्लाभर चर्चा भइरहेको छ ।

गत चैतको पहिलो साता परेको अविरल वर्षाका कारण खेलमैदान भत्किएको र विद्यालय भवनसमेत जोखिममा रहेको रमा माध्यमिक विद्यालयबाट एसइईमा सहभागी सबै ३९ विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले सबै विद्यार्थी सफल हुँदा आफूलाई गर्व लागेको बताउनुभयो ।

त्यस्तै, पहिरोका कारण कक्षाकोठा र खेलमैदानको अभाव झेलिरहेको विश्वकुना माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी २१ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

नरहरीनाथ–६ माल्कोट रातीमाटास्थित शान्ति माध्यमिक विद्यालयबाट परीक्षा दिएका २८ विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका छन् भने ६ जना पूरक परीक्षामा परेको प्रधानाध्यापक हरिशचन्द्र बटालाले जानकारी दिनुभयो ।

दलित समुदायको बाहुल्य रहेको माल्कोट सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयबाट एसइईमा सहभागी १९ विद्यार्थीमध्ये १६ जना ग्रेडेड भएका छन् भने तीन जना ननग्रेडेड भएका छन् । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा वडाध्यक्ष पौराम विश्वकर्माका अनुसार विद्यालयबाट पहिलो पटक ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गाउँपालिकाअन्तर्गत जनता माध्यमिक विद्यालय रुप्साबाट परीक्षा दिएका ६२ विद्यार्थीमध्ये ५९ जना अर्थात् ९५ प्रतिशत, पहिरोले विस्थापित दीपेन्द्र माध्यमिक विद्यालय नयाँबस्तीका २० मध्ये १८ जना, जनप्रभात माध्यमिक विद्यालय लालुका ६१ मध्ये ५० जना, मंगलासैनी माध्यमिक विद्यालयका ४६ मध्ये ३४ जना तथा नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाका ६८ मध्ये ५० जना उत्तीर्ण भएका छन् ।

नरहरीनाथ–७ उत्छवस्थित रुपादेवी माध्यमिक विद्यालयबाट परीक्षा दिएका २९ विद्यार्थीको नतिजा भने प्राविधिक कारणले प्रकाशन हुन नसकेको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत केशवराज खनालले बताउनुभयो ।

कालीकोट जिल्ला का नौवटै स्थानीय तहबाट नियमिततर्फ एसईईमा सहभागी ३ हजार १४ विद्यार्थीमध्ये दुई हजार २०४ जना अर्थात् ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार ८ सय १० जना अर्थात् २७ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।

जिल्लाबाट परीक्षा दिएकामध्ये ३ दशमलव ६० देखि ४ जीपीए ल्याउने ७६ जना, ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने ४ सय १ जना, २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने ९ सय ७ जना, २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउने ७ सय ४३ जना तथा २ देखि २ दशमलव ४० जीपीए ल्याउने ७७ जना रहेका छन् ।