• १० जेठ २०८१, बिहिबार

धवलागिरीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

blog

धवलागिरीको अध्यक्ष र उपाध्यक्षमा विजेता । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । 

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रसाद पुनले ३ हजार एकसय २३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । भने उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले २ हजार ५४८ र उपाध्यक्षमा एमलेका प्रगति कार्कीले २ हजार ६१८ मत पाउनुभएको निवाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । 

सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् । वडानम्वर १ माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा काँग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा काँग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित हुनुभएको छ ।  १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६ हजार ६९४ मत खसेको थियोे ।

म्याग्दीमा ६ स्थानीय तहमध्ये ४ को स्थानीय तहको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभएको छ । त्यस्तै रघुगङ्गाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ ।  

मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकाको प्रमुखमा एमालेका सुरज केसी र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने विजयी हुनुभएको छ ।  अन्नपूर्ण गाउँपालिकामा विवाद भएपछि स्थगित भएको मतगणना मङ्गलबारबाट सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।