• ११ वैशाख २०८१, मङ्गलबार

कैलाशमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी

blog

राममणि दाहाल
हेटौँडा, जेठ २ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बालकुमार मल्ल विजयी हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित मोक्तानले चार हजार ८९७ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रलाल रिजालले चार हजार ९३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा विजयी मल्लले चार हजार ८८ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया थिङले तीन हजार ९३५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१० वटा वडा रहेको पालिकामा कांग्रेसले पाँच, एमालेले तीन र माओवादी केन्द्रले दुई वटा वडा अध्यक्ष जितेको छ ।

यसअघि इन्द्रसरोवर गाउँपालिकामा अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा एमालेकै उमाकुमारी लामा निर्वाचित हुनुभएको छ ।

यस्तै, भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा पुनःनिर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी बन्नुभएको छ । 

लामाले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्नुभएको हो ।