तानसेन समाचारदाता
तानसेन, वैशाख ९ गते । पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धिले पाल्पाको विकासनिर्माणको काम प्रभावित बनेको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य आकासिएपछि काम सञ्चालन भइरहेका विकासनिर्माणको काम प्रभावित हुन थालेका छन् ।
निर्माण व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष दामोदर गैरेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सडक कालोपत्रे गर्ने निर्माण सामग्री नपाएको गुनासो गर्नुभयो । उहाँले तेलमा भएको निरन्तरको मूल्यवृद्धिका कारण भइरहेको काम रोक्नुपर्ने बाध्यात्मक अवस्था आएको बताउनुभयो । उहाँले विकासनिर्माणको क्षेत्रलाई सहुलियत घोषणा गरेर काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले पश्चिम एसियाका देशमा भएको युद्धबाट निर्माण उद्योग क्षेत्र सङ्कटमा परेको बताउनुभयो । गैरेले तेलमा भएको मूल्यवृद्धिले छड, सिमेन्ट, अलकत्रा, बिटुमिन जस्ता सामग्री पाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले पछिल्लो समयमा गृह मन्त्रालयबाट क्रसर उद्योगहरू बन्द गर्ने भनेपछि बालुवा, गिट्टी र ढुङ्गा अभाव रहेको बताउनुभयो । निर्माण व्यवसायीले ठेक्काको मूल्य समायोजन गरेर मात्र अहिलेको अवस्थामा काम गर्न सकिने बताएका छन् । जिल्लास्थित सङ्घका महासचिव राजेन्द्र केसीले तेलमा भएको मूल्यवृद्धि अनुसार निर्माण सामग्रीको दररेटमा मूल्य समायोजन निर्देशिका परिमार्जन गर्न माग गर्नुभयो ।
जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय सरकारमातहत सञ्चालित विकासे आयोजना यतिबेला ठप्प जस्तै बनेको छ । मूल्यवृद्धिका कारण निर्माण सामग्री अभाव भएको र अन्य सामग्रीको पनि मूल्यवृद्धि भएकाले निर्माण व्यवसायीले विकासे आयोजनाको काम बन्द गर्नुपर्ने अवस्था आएको केसीको भनाइ छ । विकासनिर्माणको क्षेत्रमा तत्काल मूल्य समायोजन हुन नसके काम ठप्प हुने र त्यसबाट हजारौँको रोजगारीसमेत गुम्ने निर्माण व्यवसायी बताउँछन् ।