जीवछ यादव
लहान, वैशाख ९ गते । लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू विद्यालय क्षेत्रभित्रका विद्यार्थीका अभिभावकलाई घरमै भेटेर गुनासो सुन्ने तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यले यतिबेला घरदैलो अभियानमा जुटेका छन्।
लहान नगरपालिका वडा नं. १० स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक देवनलाल ठाकुरको अगुवाइमा वैशाख ८ गतेदेखि अभिभावकसँग भेटघाट गरी शैक्षिक अवस्था सुदृढ बनाउन यस शैक्षिक सत्रदेखि यो अभ्यास थालिएको उक्त विद्यालयकी शिक्षिका कञ्चना साहले बताउनुभयो। उहाँका अनुसार शैक्षिक सत्रको सुरुदेखि नै शिक्षक–अभिभावक सबै मिलेर वैशाख १५ गतेदेखि हुने भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलोमा जुटिएको हो।
अभिभावकहरूसँग घरमै भेटेर गुनासो सुन्ने कार्यक्रमबाट आफूहरू खुसी भएको स्थानीय जुगेश्वर पासवानले बताउनुभयो। उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको सुधार शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट सम्भव हुने भएकाले यो प्रयास यसपटक सुरु गरिएको हो। यसलाई निरन्तरता दिन आवश्यक छ।”
घरदैलो कार्यक्रममा अभिभावकहरूले नियमित गृहकार्य दिनुपर्ने, गृहकार्य जाँच गर्नुपर्ने, अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्नुपर्ने तथा निरन्तर शिक्षक–अभिभावकबिच अन्तरक्रिया गर्न अभिभावक भेला आयोजना गर्नुपर्ने सुझावहरू दिएका छन्। उक्त सुझावहरू संकलन गरिएको प्रधानाध्यापक ठाकुरले जानकारी दिनुभयो।
वैशाख १५ गतेदेखि सुरु हुने बृहत् विद्यार्थी भर्ना अभियान औपचारिक रूपमा सुरु गर्नुअघि घरदैलोमार्फत अभिभावकका गुनासो सुन्ने र सल्लाह–सुझाव लिने काम विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघलगायत सरोकारवालाहरू मिलेर गरिएको लहान नगरपालिका शिक्षा संयोजक तथा नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो।
सतप्रतिशत विपन्न र दलित समुदायका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा वर्षेनि मोटो रकम तिरेर संस्थागत विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य भए ठूलो राहत हुने स्थानीय दलित अगुवा नथुनो पासवानले बताउनुभयो। उहाँले थप्नुभयो, “सामुदायिक र संस्थागत विद्यालयका पाठ्यपुस्तकमा समेत एकरूपता हुन आवश्यक छ।”
लहान नगरपालिकाका ५९ वटै सामुदायिक विद्यालयहरू यतिबेला वैशाख १५ गतेदेखि सुरु हुने भर्ना अभियानअगावै अभिभावकको घरदैलोमा पुगेर आवश्यक सुधारका काममा जुटिरहेको लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी यादवले बताउनुभयो।