प्रारम्भ
प्राचीन परम्परा, रीतिरिवाज एवं सभ्यतालाई बदल्ने नयाँ प्रक्रिया नै आधुनिक हो । आधुनिक समाजका उपज एवं बौद्धिक रुझान भएका कवि स्रष्टाले शास्त्रवादी काव्यधाराका विरुद्ध रोमाञ्चक भौतिक–दार्शनिक, मानसिक आघात वा चोटका चोटिला अभिव्यक्ति नित्य नवीन प्रदर्शन गर्दै आइरहेका छन् । आधुनिक साहित्यिक प्रबन्ध विधानमा शारदा, प्रगति, इन्द्रेनी, रूपरेखा, मधुपर्क, कविता, गरिमा आदि साहित्यिक पत्रिकाको कालव्रmमिक भूमिका अग्रवर्ती छ । बाह्रमासा कविताको पृष्ठभूमि निर्धारण गर्ने काम माध्यमिककालीन नेपाली कविताको वर्णनात्मक सौष्ठव हो । त्यस परम्परालाई जीवनसापेक्ष पार्न ऋतु निमन्त्रणका रूपमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरे हुँदै प्रयोगवादी काव्यकार मोहन कोइरालासम्म सविस्तारित छ । विशेषतः शिशिरले नङ्ग्याइएका बोटबिरुवामा नवजीवन खोज्ने प्रयास नववर्ष सन्निकट वसन्त राजमा पद्यात्मक र गद्यात्मक कविले अझै गर्दै छन् । प्रस्तुत सन्दर्भमा हाम्रा जनप्रिय एवं लोकप्रिय कवि भूपी शेरचनले वसन्तलाई प्राकृतिक सम्पत्ति लुट्ने डाकाहरू जस्तो उराठलाग्दो हावाहुरीका रूपमा हेरेका छन् ।
संवत् भन्नाले शब्दकोशहरूमा वर्णित ६० वटा संवत्सरमध्ये भारत वर्षको एक ऐतिहासिक स्थान उज्जैनका विद्यानिष्णात् नरेश विव्रmमादित्यले चलाएको संवत्लाई बुझाउँछ । उनले आफ्नो राजभवनका साहित्यिक नवरत्न महाकवि कालीदास, वराहमिहिर, अमर सिंह, धन्वन्तरि, क्षपणक, घटर्कपर, वेताल भट्ट र शङ्कुका सल्लाह र सुझावमा विव्रmम संवत् प्रचलनमा ल्याएका थिए भने नेपालमा पनि विव्रmमाब्द हुँदै विव्रmम संवत् राष्ट्रिय संवत् बनिसकेको छ । यसो त नेपालमा बसोवास गर्ने जातजातिका आआफ्ना नववर्ष पनि छन् । विव्रmमाब्दको प्रारम्भिक दिन वैशाख १ गतेलाई हाम्रा साहित्यिक रत्नले एकातिर राष्ट्रिय जीवन र व्यक्ति जीवनमा हर्षोल्लासका रूपमा हेरेका छन् भने अर्काेतिर जीवनको जडता, जटिलता, निस्सारता, शून्यता र निरर्थकताको सङ्केतका रूपमा पनि नयाँ नयाँ काव्यकौशल देखाएका छन् ।
मध्य
२० औँ शताब्दीको अन्तिम दशक अर्थात् १९९२–१९९९ सालमा जन्मिएका कवि कवयित्रीले विभिन्न कालखण्डमा लिखित नयाँ वर्षसम्बन्धी कविताको उत्कर्ष काल हो ।
आधुनिक नेपाली कविताकाशमा लामपुच्छे« तारा बनेर स्वच्छन्दता–प्रगतिवादिताको वैचारिक तापले व्यक्तिगत कुण्ठा, सामूहिक कुण्ठा र युगीन पीडालाई डाम्ने हाम्रा जनप्रिय तथा लोकप्रिय कवि भूपी शेरचन (विसं १९९२) को नयाँ वर्ष कविता घुम्ने मेचमाथि अन्धो मान्छे (२०२६) मा सङ्कलित हुनुअघि साझा कवितामा समेटिएका ६१ कविमा यो कविताले प्राथमिक स्थान पाएको देखिन्छ । आजका नेपाली कविता (२०५०) मा पनि भूपीको यो कविता सङ्कलित छ । यति धेरै चर्चाको शिखरमा रहेको प्रस्तुत कवितामा नयाँ वर्षलाई मिथकीय विम्ब प्रदान गर्नुभन्दा सामाजिक र आर्थिक विकृतिको प्रतीक हुलाकमा सरुवा हुँदा न्यास्रो अनुहार पार्ने हुलाकी र नववर्षको प्रारम्भिक दिनमा आकाशमा निस्तेज भई पल्टेको सूर्जेलाई कविले हेरेका छन् । यति मात्र कहाँ हो र !
कवि थप्छन् :
फेरि एकचोटि नयाँ वर्ष आएको छ
फेरि एकचोटि भित्ताको नयाँ क्यालेन्डरमा
आफ्नो जीवनको भिसा झुन्ड्याउनु छ ।
प्रवेशाज्ञा कतिन्जेलसम्म जारी रहने हो ? भयानक बम बोकेर उडेका प्लेन र रकेटहरूका छायामुनि बसेर आफन्तीका नाममा सफलता, शान्ति र दीर्घायुको शुभकामना कार्ड पठाउनुलाई कवि भूपीले समसामयिक महाविडम्बना ठानेका छन् ।
हल्लैहल्लाको देशमा कवि भूपीले आत्मचरित्र बनाइएकी बैँसमै कुँजिएर जीवन बिताउन बाध्य सरस्वतीकी एक्ली छोरी पारिजात (विसं १९९३) जीवनको अस्तित्वबोध शून्यवादमा रूपान्तरित गर्छिन् । आजका नेपाली कविता (२०५०) मा सङ्कलित नयाँ वर्ष कवितामा चैतलाई लखेट्ने बतास, तुवाँलोले ढाकेका आकाशमा विकलाङ्ग जस्तो घाम, चराहरूको चिर्बिराहट र काँइयोका बोटमा टुपुक्क टुप्लुक्किने कोपिला देखेर पनि रोमाञ्चित नहुने यी नारी कविका सारगर्भित कवितांश उद्धरणीय छन्ः
तर मेरा घरको ध्वाँसे दलिनमा
अल्छी मान्दै पुरानै गुँडमा
बस्न आउने कुमालकोटी देख्दा...
हो, कुमालकोटी नै एउटा यस्तो कीट हो, जसले पव्रिmएका सबै कीटपतङ्गलाई आफू जस्तै बनाउँछ, परिवर्तित हुन दिँदैन भन्ने सामान्य प्रतीकाङ्कनद्वारा नयाँ वर्षमा नयाँ आकर्षण छैन भन्ने नैराश्य प्रकट भएको छ ।
“छातीभरि व्यथाहरू र मुटुभरिका गीतहरू लेख्ने रत्नशमशेर थापा (१९९६) ले कविता क्षेत्रमा फरक धार प्रस्तुत गरेका छन् । भावना, अनुभूति र कल्पनाको मिलानभन्दा विद्रुपात्मक प्रयोगमा जीवनका विसङ्गत प्रसङ्ग अघि सार्न मन पराउँछन् । चकलाभरिको घाम (२०३६) र ताराका काँचा रङ (२०६०) जस्ता कवितासङ्ग्रहमा यस्तैयस्ता प्रतिविम्ब परेका छन् । यो शुभकामना नयाँ वर्षको आफैँलाई समसामयिक कविता (२०५०) मा सङ्कलित छ । गहिरो पीडा बोकेर प्राकृतिक विम्ब र प्रतीकलाई करुण र दारुण रूपमा प्रस्तुत गर्नुभन्दा हेय र तुच्छ पाराले अभिव्यक्त गर्न प्रयोगवादी कवि थापा यथेष्ठ मन पराउँछन् । अध्ययनशील थापा कालीदासीय उपमा मेघदूत पछ्याउन छाडेर ‘क्षितिजका किल्लामा’ बुढा बादलका लास’ पो देख्छन् । रोमान्टिक गीतकार उनी पिबी शेलीको पश्चिमी बतासले बढारेर लैजाने तुवाँलो र पतकरसँग सुपरिचित भएर पनि ‘जिउभरि खरानी घसेको तुवाँले फुस्रे आकाश’ देखेर कञ्चट थिचेर खप्परबाट नयाँ वर्षको आगमनलाई यसरी दुत्कार्छन्ः
ठ्याम्मै सक्तिन मनाउन हर्ष
हाहामा यो नयाँ वर्ष,
लखेटिरहेछ मलाई
आफ्नै पुरानो गन्हाउने सास ।
हुन त हो, खोरेँत लागेर आफ्नै आङ कन्याइरहेका रुग्ण रुखहरूले स्वस्थकर हावा कसरी प्रवाह गर्न सक्छन् र ? यसर्थ पाइरियाको गन्ध जस्तो ह्वास्स गन्हाउने सास लिएर युगीन सन्दर्भमा कवि थापा नयाँ वर्षको स्वागत गर्न नसक्ने दृढता अभिव्यक्त गर्छन् ।
राष्ट्रिय चेतना र प्राकृतिक सम्पदालाई ज्यादै माया गर्दै गीत र कविता लेख्ने समसामयिक धाराका एक सशक्त कवि क्षेत्रप्रताप अधिकारी (१९९९) नयाँ वर्षको कविता गर्न रहर लाग्दा ढुङ्गालाई म्वाइ खाऊँ यो वर्ष (समसामयिक कविता २०४० मा सङ्कलित) नयाँ वर्ष (समकालीन कविता २०५५ मा समाविष्ट) र फेरि नयाँ वर्ष (प्रज्ञा आधुनिक नेपाली कविता २०७४ मा राखिएको) नयाँ वर्षसम्बन्धी बहुचर्चित कविता हुन् । ढुङ्गालाई पनि रुवाउन सक्ने क्षमतावान् कवि नाटककार भवभूति भए जस्तै कवि अधिकारीले पनि ढुङ्गा जस्तो जडतालाई म्वाइ खाएर धनका देवता कुबेरको ढुकुटी ढुङ्गैढुङ्गाको सहर अलकापुरी हाम्रै देशका पर्वतमालामा रहेको पौराणिक मान्यतामा आस्थाशील हुँदै थप यसो भनेका छन्ः
पहाड छन् र हामी छौँ
पहाड पूज... पहाड दीर्घायु हुन्छ
पहाडहरू अँगालेर प्रारम्भ गर्ने यो वर्ष
ओठभरि शुभकामना बोकेर
ढुङ्गालाई म्वाइ खाऊँ यो वर्ष ।
कविले अत्यन्त सरल र सहज ढङ्गमा पहाडलाई हाम्रो स्वाभिमानको प्रतीक र अस्तित्वको साक्षी बनाएका छन् ।
समालोचना, रुमानी गीत र कविताकाव्यका उद्भट प्रतिभा वासुदेव त्रिपाठी (१९९९) का प्रगाढ अनुभूतिले रसाएका नववर्ष र नववर्षको साइत दुइटा शक्तिशाली कविता जीवन निकुञ्जमा (२०६७) सङ्कलित छन् । वरिष्ठ कवि त्रिपाठीको नववर्ष कवितामा सुरम्य स्मृतिकोषका विगत र आगतका आस्था, विश्वास र भावी अठोट लिपिबद्ध छन्ः
जाने वर्ष तिमी गए पनि भयो, जाओ हिजोका पल
आऊ वर्ष नयाँ उघार्नु छ यहाँ नौला उज्याला पल
मैले हिँड्नु छ यो नयाँ समयमा सङ्कल्प नौलो लिई
नौलो साल फिरेछ स्वागत गरूँ मै नै स्वयम् नौलिई ।
कविलाई आजको (नयाँ वर्षारम्भको) पूर्वीय लालिमा अपरिचित जस्तो लागेको छ । जलन, तड्पन र आँसुमा होइन, हर्षातिरेकमा पूर्वीय क्षितिज खुलेको आभास कविलाई भएको छ । नयाँ समयचव्रmमा यो नौलो सङ्कल्प फूलोस् फलोस् भन्ने अप्रतिम चाहनामा कवि रमाएका छन् ।
ज्ञान उदासका कविता (२०७१) मा समाविष्ट कविताव्रmम हेर्दा कवि ज्ञान उदास (विसं २०००) मधुपर्क साहित्यिक मासिकले जन्माएका र हुर्काएका साहित्यकारमा अग्रणी देखिन्छन् । उक्त सङ्ग्रहमा कवि उदासका नववर्ष विषयक दुई कविता परेका छन् । नयाँ वर्ष एउटा भावात्मक विषय हो । प्रायशः कविले सारा नेपालीका साझा समस्या उल्लेख गर्दै समाधानका सपना नयाँ वर्षमाथि पोखेका छन् । प्रयोगवादका कवि स्रष्टासँग खाइखेली गरेका कवि उदासले भने सङ्गतिहीन काव्यिक विद्रोह होइन, जीवनमा सुसङ्गतिका रेखा खिचेर सहअस्तित्वमा जोड दिएका छन् । आकारप्रकारका दृष्टिले छोटाछरिता तर सन्देशका हिसाबले सार्वभौम कविता लेख्न उदास खप्पिस छन् । उदाहरणका लागि ः
नयाँ वर्ष !
तिमी यस पटक आउँदा
पोहोर परारको जस्तो
व्रmुद्ध भएर नआउनू
युद्ध भएर नआउनू
...अभिमान लिएर नआउनू
इमान र स्वाभिमान लिएर आउनू ।
हो, कविता आफैँ सुरुचिपूर्ण छ । यहाँ कुनै कुरा, घटना वा दृश्य आदिको थप व्याख्या अनपेक्षित छ ।
औसत नेपाली जनजीवन र सामाजिक दुर्नियतिलाई पर्व विशेषको विषय बनाएर कविता लेख्न रुचाउने कवि जसराज किराँती (विसं २००२) आफ्नै जीवनका भोगाइलाई नेपाली समसामयिक कविताहरू (२०४८) मा सङ्कलित नयाँ वर्ष कवितामा यसरी प्रस्तुत छन् ः
यो नयाँ वर्ष
आत्महत्या जस्तै गन्हाउँछ
भट्टी पसलकी केटी जस्तै
एक लहर मुस्कान फालिराखेर
प्रत्येक गिलास व्रmमशः रित्तो बनाउँछ
सिद्धिदै गएको मुस्कान जति
मेरो भागमा पारेर ।
कवि किराँतीले नयाँ वर्षको आगमनलाई निस्सार र बेमतलबको भनेका छन् ।
आव्रmोश र विद्रोहका कविता लेख्ने प्रयोगवादी कवि शैलेन्द्र साकार (विसं २००३) व्रmमहीन र दुरुह शैलीमा सङ्गतिभन्दा विसङ्गतिबोध नेपाली समसामयिक कविताहरू (२०४८) मा समेटिएको ‘वर्षहरू किन यस्तो यो वर्ष ?’ कवितामा विद्रोही पखेटा फट्फटाउने परेवा जस्तो शान्ति देखेर कल्पनालोकमा यसरी विचिन्त्य छन् ः
वर्षहरू आए यो वर्ष
दुवै हातमा ठोकेर फलामहरू र किलाहरू
काँधभरि झुन्डाइदिएर बाँच्नुका
गहु्रँगा तक्माहरू
एउटा सिङ्गो गिदी भएर आएको यो वर्ष
विस्तार–विस्तार तुरिँदै छ
झर्दै गइरहेका विचारका
परेवा प्वाँखहरू जस्तै
भुत्ल्याएर÷नङ्ग्याएर ।
प्रत्येक नयाँ वर्षमा पनि शान्ति कल्पनातीत भएको आभास प्रस्तुत कविताको वण्र्य विषय हो ।
कुनै पनि सच्चा कवि कलाकारले विगतलाई मात्र होइन; आगत र भविष्यत्सम्मलाई एकसाथ स्वागत अभिनन्दन गरेको हुन्छ । आजको धर्तीलाई शान्तिको सन्देश दिने कमनीय भावका एक कर्मठ कवि दैवज्ञराज न्यौपाने (विसं २००४) छनोटपूर्ण शब्दावली, बेजोड शब्दसौष्ठव र अनाघात शब्द–सौन्दर्य खिप्न ज्यादै खप्पिस छन् । नेपाली वाङ्मय पद्य विशेषाङ्क (२०५४) मा सङ्कलित उनको नयाँ वर्ष कविता धीरगम्भीर भावधारा वहन गर्ने वर्णमात्रिक छन्द शार्दूलविव्रmीडितमा लिपिबद्ध छ । शाब्दिक शिल्पसज्जाका जौहरी कवि न्यौपाने नववर्षारम्भमै आफ्नो चोखो कलात्मक सिप यसरी अघि सार्छन् ः
लाग्यो घाम बिहान आज यसरी नौलो बने झैँ किन
के नौलो ऋतु फेरिएर सहसा लागेछ नौलो दिन
हेर्दा दृश्य उही, उही छ सपना उस्तै छु आफैँ पनि
उस्तै छैन तथापि लाग्छ किन यो आयो कि नौलो बनी ।
यहाँ विषयगत नवीनता र कमनीय सौन्दर्य परस्पर अनुसूचक छ । अन्त्यहीन समयको गतिहीन यात्रामा आजका मान्छेले लेखेका कतिपय कविता कविता–जात्रा जस्ता दुःख, हन्डर र दुर्दशाका पुलिन्दा बनेका छन् । अर्का कवि नरेन्द्रराज पौडेल (विसं २००६) का अधिकांश कवितामा कार्यालयका फाइल पल्टिरहेका हुन्छन् । उनको दिनचर्यामा पनि निजी जीवनका टिप्पणी र आदेश नै निकासापुकासा बनेर प्रतिविम्बित हुन्छन् । हास्यव्यङ्ग्यकार भैरव अर्यालको जस्तो अनुप्रासमय सुरम्य भाषिक छटा कवि पौडेलको निजी काव्यिक सौष्ठव हो भन्दा फरक पर्दैन । प्रयोगवादी कवि मण्डलीका युगमा काव्यारम्भ गरी समसामयिक धाराका सम्प्रेष्य कालमा स्थापित यी कविले नयाँ वर्षको आगमनमा भन्ने छोटो तर चोटिलो कविता हस्ताक्षर (२०६०) मा समावेश गरेका छन् । महँगीले ढाड सेकेको औसत तलबभोगी एक कर्मचारीका तर्फबाट नयाँ सालको प्रारम्भमा बचेखुचेको आन्तरिक मनोकाङ्क्षा कविले यसरी प्रस्तुत गरेका छन् ः
अवकाश पुर्जी हात पर्ने दिन पनि प्रमोसन र
तलब वृद्धिको आस राख्ने कारिन्दा झँै
तुवाँलोले घेरेका दिवास्वप्नमा जेलिँदाजेलिँदै
कत्तिबेर एउटा वर्ष बितिसकेछ
कति चाँडै एउटा वर्ष जन्मिइसकेछ ।
यहाँ एउटा वर्ष जन्मिनु भनेको सुरसाको मुख जस्तै अभावैअभावको खाडी बन्नु हो भन्ने आशय व्यक्त भएको छ ।
जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, नेपाली पद्य खण्डमा वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले किटान गर्दै हेमचन्द्र नेपाल (विसं २०११) उत्तरवर्ती समयमा आएर स्वच्छन्दतावादी कविता लेख्ने कविमध्ये उल्लेखनीय भएको बताएका छन् । उनका नयाँ वर्षसम्बन्धी दुइटा कविता कलाश्री साहित्यिक वार्षिक पत्रिका (२०७०) र (२०८०) मा कस्तो हुन्छ नयाँ वर्ष तिम्रो तस्बिर र समृद्धि होस् ः नयाँ वर्ष छापिएका छन् । नयाँ वर्ष सुरु हुने दिन वैशाख १ गतेका दिन कवि नेपालले पुराना वर्षको भित्तेपात्रो हटाएर नयाँ पात्रो टाँसिने दिन यस्तो होस् भन्ने होसियारी भाव यसरी अघि सारेका छन् ः
तातो अरबको पानी, तातो हावा र बालुवा
आगोभन्दा पनि तातो घामको राप त्यो कडा
असहायहरू जस्तै परजीवी नहुन् युवा
समृद्धि होस् नयाँ वर्ष निराशा नरहुन् यहाँ ।
बिदेसिने युवाको ताँतीले नानाभाँतीका हन्डर खेप्नु नपरोस् भन्ने हार्दिक अभिलाषा यो कवितांशमा व्यक्त भएको छ ।
कवि केदारनाथ शर्मा (विसं २०१९) को नयाँ वर्ष तिमी र म नेपाली समसामयिक कविताहरू (२०४८) मा सङ्कलित कवितामा नववर्षको आगमनलाई यसरी हेरिएको छः
यो वर्ष त जे पनि भोगियो
तर आज फेरि
भर्खर फुलेका आरूहरू
नववर्षागमनको आभास दिइरहेछन्
विश्वास टालेको करुवामा भए पनि
जीवनरस पिउन र पियाउन
जुठो र बासी शुभकामनाको सितन बनाएर
छातीभरि नयाँ प्राणवायु भर्न
लु झट्ट तिमी तयार होऊ
म पनि तयार हुन्छु ।
यी उद्धृत कवितांशमा विज्ञानसम्मत सल्फरिक एसिड र अक्सिजनको फ्युजनबाट नयाँ जीवनी रस परिप्लावित भएको आशय व्यक्त भएको छ ।
गीता कार्की (विसं २०२५) मानवीय भाव संवेदनाका उहापोहलाई अन्तर्भूत गर्दै युगबोध, जीवनबोध र राष्ट्रबोधका अभिभाष्यलाई हार्दिक आमन्त्रण गर्ने समकालीन कवयित्री हुन् । नकारात्मक अभिक्षमतालाई सकारात्मक सोचमा रूपान्तरण गर्ने उनको कवितात्मक कौशल निकै प्रशंसनीय छ । फेरिन्छ प्रतिवर्ष क्यालेन्डर, फेरिँदैन असहाय र गरिबीको पाना भन्दै कवयित्रीले यसो भएछ भने लेखौँला जीवनका अक्षरमा नयाँ वर्षको शुभकामना भनेकी छन्ः
ती हातका ठेला र चिरा चिरा खुट्टालाई
औषधी र मलम लिएर
बिहान डाँडामा उज्यालो हाँस्दै आउने सूर्य जस्तो
आयो भने यसपालि नयाँ वर्ष
अथवा अभावका ढुकुटीहरू
बासमती र मसिना चामलले भरिए भने
अर्को साल म लेख्ने छु सबभन्दा सुन्दर कागजमा
नयाँ वर्षका सप्तरङ्गी अक्षरहरू ।
कवयित्रीले यहाँ सूर्यलाई हँसमुख मानवीय विम्बमा र घामपानी मुछिएको सप्तरङ्गी इन्द्रेनीलाई चेतनाको संवाहकका रूपमा हेरेकी छिन् ।
मातृभाषाका हिसाबले हेर्दा मैथिल भाषी र आजीविकाका हैसियतले अङ्ग्रेजी भाषा साहित्यलाई जीवन बाँच्नेव्रmम मिलाउने शैलेन्द्रकुमार सिंहको नयाँ वर्ष, हुलाकी र केटी समकालीन नेपाली कविता (२०७०) मा सङ्ग्रृहीत एउटा कविताबाट तराईवासी कविको प्रतिनिधित्व गराइएको छ । उक्त कविताको आरम्भमा कवि सिंह लेख्छन् ः
ऊ प्रत्येक वर्ष आउँछ
नयाँ वर्षको प्रथम दिन
उही पुरानो परिधानमा
आफ्नो साइजभन्दा लामो
रफ्फु गरिएको कोटमा
जसभित्र हुन्छन्,
विभिन्न रङ र विभिन्न नमुनाका
नयाँ शुभकामना पत्रहरू ।
माथिका कवितांशमा घर घरको सन्देशवाहक बनेको हल्काराको परिधान प्रत्येक सालमा आउने नयाँ वर्षका दिनमा पनि फेरिन सकेको छैन । उसको साइजभन्दा लामो तराइली प्रसिद्ध कथाकार भिक्षुको एक कथात्मक शीर्षक माउजङ बाबुसाहेबको कोट जस्तो टालटुले कोटभित्र उसका असङ्ख्य पीरव्यथाको पुलिन्दा छ । बाहिर भने ऊ आफन्तीले पठाएका नयाँ वर्ष विषयक रङ्गीविरङ्गी शुभकामनापत्रहरू तत्तत् स्थानमा ओसार्दै हुन्छ । यहाँ कविले शीर्षस्थानमा केटी भनेर नवकुमारीमध्ये खुनखोट नभएकी भनेर कविले शीर्ष नयाँ वर्षलाई नै सङ्केत गरेका छन् ।
अन्त्य
यहाँ नयाँ वर्ष विषयक नेपाली कविता भन्नाले विसं १९९२ अर्थात् २० औँ शताब्दीको अन्तिम दशकदेखि २१ औँ शताब्दीको ८० औँ दशकसम्मका नेपाली कविता रहेका छन् । लगभग एक शताब्दीसम्मका कविताको विश्लेषण गर्दा अधिकांश कवि–स्रष्टाले जीवनको सङ्गतिपूर्ण खोजभन्दा विसङ्गत जीवनका तुच्छता, निरर्थकता, सन्देहात्मकता, सन्त्रास र निस्सारताको संश्लिष्टता ज्यादा आभासित प्रस्फुटित अवस्था विश्लेषणका व्रmममा प्राप्त हुन्छ । केही स्रष्टाले भने नयाँ वर्षलाई सिर्जनात्मक उत्साह, उमङ्ग, प्रेरणा र प्रोत्साहन प्रतिविम्बित हुने अवसरका रूपमा हेरिएको निष्कर्ष प्राप्त छ ।