• ९ वैशाख २०८३, बुधबार

सोह्र अर्बको आयोजनाको लागत तेत्तिस अर्ब

blog

गुलरिया समाचारदाता

गुलरिया, वैशाख ९ गते । बर्दियास्थित बबई सिँचाइ आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा १६ अर्ब ४३ करोड रुपियाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिँचाइ आयोजना अहिले ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने अवस्थामा पुगेको छ ।

विसं २०२४ मा अध्ययन सुरु भएको यो आयोजना २०८२ सालसम्म पनि पूर्ण रूपमा सम्पन्न हुन सकेन । निर्माणमा भएको ढिलाइ, डिजाइन परिवर्तन, बाढीजन्य क्षति र वित्तीय व्यवस्थापनका चुनौतीका कारण लागत हरेक वर्ष बढ्दै गएको छ । करिब ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित सञ्चालनमा रहेको आयोजनाले बर्दिया जिल्लाको कृषि उत्पादन वृद्धि गर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक अध्ययनमा भने करिब ४० हजार हेक्टर क्षेत्रलाई सिँचाइयोग्य मानिएको थियो । पछिल्लो अध्ययनले भने क्षेत्रफल घटाएर ३६ हजार हेक्टर कायम गरेको छ ।

आयोजनाको पहिलो चरण अन्तर्गत २०४९ सालमा ६७ करोड ९५ लाख रुपियाँ लागतमा बाँध निर्माण सम्पन्न गरिएको थियो । त्यसपछि साढे पाँच किलोमिटर मूल नहर निर्माण गरी करिब चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको थियो । दोस्रो चरण अन्तर्गत नहरका संरचना निर्माण सुरु गरिए पनि २०७१ सालको बाढीले संरचनामा क्षति पु¥याएपछि बनिसकेको संरचनाको पुनर्निर्माण गर्नु परेको थियो । यसले आयोजना थप ढिला र महँगो बन्न पुग्यो । हाल स्वीकृत गुरुयोजना (२०७८) अनुसार आयोजना आव २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्देशक गोपाल शर्माका अनुसार अहिलेसम्म १२ अर्ब २८ करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।

उहाँका अनुसार आयोजना अन्तर्गत पूर्वतर्फ ३४ किलोमिटर, पश्चिमतर्फ ४१ किलोमिटर र अन्य क्षेत्र गरी कुल ९१ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने छ । ३१३ किलोमिटर नहरका शाखा, उपशाखा र प्रशाखा नहर, विभिन्न संरचना, ड्रेनेज तथा सेवा सडक निर्माणका काम बाँकी छन् ।

यसैसँग सम्बन्धित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भेरी नदीको पानी बबईमा ल्याई बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुँदा लागत बढ्ने क्रम दोहोरिँदै गएको छ । समयमै आयोजना सम्पन्न नहुँदा राज्यको लगानीको प्रतिफल ढिलो हुने मात्र होइन, जनताले तिरेको करसमेत प्रभावकारी रूपमा उपयोग हुन नसकेको यहाँका बासिन्दाले गुनासो गर्न थालेका छन् ।