• १६ चैत २०८०, शुक्रबार

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), जेष्ठ २ गते । इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनुभएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली काँग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नुभएको हो ।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उहाका निकटतम प्रतिस्पर्धी काँग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाउनुभएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनु भयो । इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेसको क्षेत्रीय सभापति समेत हुनुहन्छ ।  २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी बन्नु भएको थियो । ५ वर्षपछि दुवै नेताबीच दोस्राे पटक चुनावी प्रतिष्पर्धा हुँदा राईले सफलता पाउन भएको छ । राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ । 

त्यस्तै एमालेकी उम्मेद्वार सुनीता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी बन्नुभयो  । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनुभएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उहाका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाउनु भएको छ । सुब्बा निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्थ्यो  । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी हुनुहुन्थ्यो । उक्त निर्वाचनमा एमालेकी सुब्बा विजयी हुनुभएको थियो । यसपटक नेम्बाङले बाजी मार्नुभयो । नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुनुहुन्छ ।

माङसेबुङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो १२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो ।