• ११ वैशाख २०८१, मङ्गलबार

सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी

blog

जनार्जन खत्री 

सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । 

अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । 

सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । 

सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । 

यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । 

जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।