• १३ जेठ २०८१, आइतबार

जोरायल गाउँपालिकामा पुरानै अनुहार प्रमुखमा निर्वाचित

blog

केशवचन्द्र महरा 

दिपायल, जेठ २ गते । डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो ।

नेकपा (एमाले)का उमेदवार ओझा ३७ मतका मात्रै अन्तरले विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।

ओझा तीन हजार ४४९ मतसहित विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपक बहादुर विष्टले तीन हजार ४ सय १२ मत प्राप्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट अध्यक्षका उम्मेदवार किरण मल्लले एक हजार ६५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उमेदवार रघुनाथ वस्तीले २७ मत मात्रै प्राप्त गर्नुभयो ।

२०६४ को निर्वाचनमा पनि ओझा कांग्रेस उम्मेदवार विष्टसँगै निर्वाचनमा प्रतिष्पर्धी हुनुहुन्थ्यो ।

उपाध्यक्षमा बोहरा तीन हजार ५९९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी चन्द्रा साउँद बोहराले तीन हजार ५१७ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केद्र) का तर्फबाट उपाध्यक्षका उम्मेदवार प्रेमा कुमारी ओलीले एक हजार ३१७ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा कांग्रेसले जितेको छ भने अन्य ४ वडामा एमाले विजयी भएको छ । वडा नं. १ मा एमालेका जगतबहादुर मल्ल, वडा नं. २ मा एमालेकै वीरबहादुर दर्लामी र वडा नं. ३ मा कांग्रेसका नविन ओझा विजयी हुनुभएको हो । त्यस्तै, वडा नं. ४ मा एमालेका नन्दराज भट्ट, वडा नं. ५ मा कांग्रेसका ध्वज बहादुर देउवा र वडा नं. ६ मा एमालेका गणेश बहादुर बोहरा विजयी हुनुभएको छ ।