धनगढी समाचारदाता
धनगढी, वैशाख ९ गते । कैलालीको मुक्त कमैया शिविर युवाविहीन बन्न थालेको छ । जीविकोपार्जन गर्न समस्या भएपछि मुक्त कमैया बस्तीहरूबाट युवा पलायन बढेको हो । रोजगारीको खोजीमा शिविरका युवासहित धेरैजसो पुरुष भारतर्फ पलायन भइरहेका छन् । रोजगारीको सिलसिलामा युवासहित पुरुषहरू अन्यत्र गएपछि शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै देखिन्छन् ।
आफ्नो ठाउँमा रोजगारीको अवसर नपाउँदा युवा कमाउनका लागि भारतलगायत यत्रतत्र गएपछि बस्ती युवाविहीन भइरहेको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका मुक्त कमैया सुकनीदेवी चौधरीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँघरतिर मजदुरीको काम नपाएपछि गुजाराका लागि भारततर्फ जानुपर्ने बाध्यता छ । त्यसैले कोही रत्नागिरि, कोही मुम्बईतिर गएर काम गर्छन् ।” मुक्त कमैयाले सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा भएको उत्पादनले वर्षभरि खान नपुग्ने बताएका छन् ।
बस्तीमा पुरुष र युवा नहुँदा धेरै जसो सार्वजनिक काम वा कार्यक्रममा महिलाको मात्रै उपस्थिति रहने गरेको छ । कमाउनका लागि परदेश नगएका पुरुष पनि गाउँघरतिरै विभिन्न काम गर्न जाने गरेको रानीकुण्डा मुक्त कमैया शिविरका भलमनसा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँका अनुसार ऋण सापटी लिएर कोही कोही विदेश पनि गएका छन् । तर विदेश जानका लागि आर्थिक जोहो गर्न नसकेकाहरू भने भारततिरै गएर कमाउने गरेका छन् ।
सरकारले कमैया मुक्तिको घोषणा गरे पनि उनीहरूको जीविकोपार्जनको सवाललाई सम्बोधन गर्न सकेको छैन । मुक्तिको दुई दशकभन्दा बढी समय भइसक्दासम्म मुक्त कमैयाले अझै पनि उचित पुनस्र्थापना, शिक्षा र रोजगारीका लागि आवाज उठाइरहेका छन् । सहरनजिक बसेका सिप सिकेका मुक्त कमैयालाई रोजागरीको त्यति समस्या नरहे पनि ग्रामीण क्षेत्रका मुक्त कमैयालाई काम पाउनै गाह्रो रहेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । जीविकोपार्जनका लागि अन्य उपाय नपाएपछि उनीहरू बाध्य भएर भारततर्फ पलायन भइरहेको उहाँको भनाइ छ ।
अध्यक्ष चौधरीले भन्नुभयो, “कैलालीका धेरै मुक्त कमैया शिविरमा युवा र पुरुष भेटिँदैनन् । उनीहरू समूहमै भारततर्फ मजदुरी गर्न जान्छन् । चाडपर्व मनाउन आउँछन्, फेरि जाने गर्दछन् ।”
मुक्त कमैया बस्तीमा भइरहेको ‘ब्रेन ड्रेन’ रोक्न जरुरी रहेको पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर चौधरीको जोड छ । उहाँले विभिन्न उद्योग, कारखाना खोलेर मुक्त कमैया युवालाई प्राथमिकताका साथ रोजगारी दिन जरुरी रहेको औँल्याउनुभयो ।