विज्ञान सङ्ग्रहालयको भवनपछाडि जङ्गल छ । जङ्गलको एउटा ठुलो रुखको खोक्रोभित्र ठुलठुला आँखा तथा नरम पखेटा भएकी फूलमाया नामकी सानी उल्लु बस्थी । हरेक राति बुवाले उनलाई उठाउँदै मायालु बोलीमा भन्थे, “मेरी सानी छोरी उठ, स्कुल जाने बेला भइसक्यो,” तर फूलमायाले प्वाँखभित्र अनुहार लुकाउँदै भनिन्, “नाई बुवा म स्कुल जान्न बरु आमाले बारीमा फलाएको तरकारी बेच्न जान्छु ।”
बुवा उल्लुले अचम्म मान्दै सोधे, “किन मेरी सानी छोरी ?”
फूलमायाले उदास स्वरमा भनिन्, “बुवा दिउँसो स्कुलमा जाने चराहरूको कत्रो बथान हुन्छ ।
थरीथरीका हाँस, परेवा, भङ्गेरा, कौवा, बकुल्ला, कुखुरा, कोइली, मुजुर, ढुकुर जस्ता कति हो कति चरा स्कुल जान्छन् । चारैतिर मानिस र जनावर घुमिरहन्छन् । कति राम्रा राम्रा पसल खुला हुन्छन् । खाने चिज पनि कति हो कति पाइन्छ तर म स्कुल जाँदा रात परिसकेकोले चारैतिर सुनसान हुन्छ । पसल पनि खुला हुँदैनन् । हाम्रो उल्लु साथी र केही एक/दुई वटा जनावर मात्र बाटोमा देखिन्छन् । कक्षामा पनि हाम्रो उल्लु साथीभन्दा अरू प्रजातिका चरा साथी हुदैँनन् । म कि दिउँसो स्कुल जान्छु नभए नजाने ।”
उसको कुरा सुनेर बुवा उल्लुले हाँस्दै फूलमाया उल्लुलाई पलङ्गबाट जुरुक्क उठाएर आफ्नो काखमा राखे । रुखको खोक्रो बाहिर ल्याएर आफ्नो अगाडि बसाएर भने, “हेर, प्रकृतिले हरेक प्राणीलाई आआफ्नो विशेषता दिएको हुन्छ । प्रकृतिमा कुनै दिवाचर अर्थात् दिनमा आफ्नो सम्पूर्ण क्रियाकलाप गर्ने प्राणी हुन्छन् भने कुनै रात्रिचर अर्थात् रातमा मात्र आफ्नो क्रियाकलाप पूरा गर्ने प्राणी हुन्छन् । हामीहरू रात्रिचर हौँ । त्यसैले हामीहरू रातमा मात्र हिँडडुल गर्न सक्दछौँ । रातमा मात्र देख्दछौँ ।”
बुवा उल्लुले भन्दै गए, “हाम्रा आँखा शरीरको अनुपातमा निकै ठुला हुनुका साथै अगाडिपट्टि फर्किएका हुन्छन् । यसले गर्दा दुवै आँखा एउटै वस्तुमा केन्द्रित भएर अँध्यारोमा पनि सजिलैसँग हेर्न सकिन्छ । आँखामा कोन र रड दुई प्रकारका प्रकाश संवेदनशील कोषिका हुन्छन् । कोनले उज्यालो र रङलाई राम्ररी देख्न सक्दछ भने रडले कम उज्यालोमा पनि सहजताका साथ देख्न सक्दछ । हाम्रो आँखामा रड कोषिकाको मात्रा अत्यन्तै धेरै हुन्छ । त्यसैले हामीले एकदम कम प्रकाशमा पनि स्पष्ट देख्न सक्दछौँ । दिवाचरमा कोनको मात्रा बढी हुन्छ र उनीहरूले रातमा राम्रोसँग देख्न सक्दैनन् । हाम्रो आँखामा ‘ट्यापेटम ल्युसिडम’ नामको चम्किलो तह आँखाभित्र रहन्छ । जसले प्रकाशलाई बढाउनमा मद्दत गर्दछ । हाम्रो आँखाको पुपिल अर्थात् कालो भाग पनि ठुलो हुन्छ । त्यसैले हामीले रातमा सजिलै देख्न सक्दछौँ ।”
बुवा उल्लुको कुरा सुनेर फूलमायाले भनिन्, “किन बुवा त्यस्तो भए पनि हामी दिउँसो स्कुल जान सक्दैनौँ त ?” उनको कुरा सुनेर बुवा उल्लुले भने, “हेर स्यानी, दिउँसो स्कुल गयौ भने घामले तिम्रो आँखा र टाउको दुःख्नुका साथै तिमीले राम्रोसँग देख्न पनि गाह्रो हुन्छ । हामी रातमा घुम्दै किरा फट्याङ्ग्रा र मुसालाई मार्छौँ । ती मानिसका लागि हानिकारक जीव हुन् । यिनीहरूले अन्नबाली खाएर नोक्सान पु¥याउँछन् । मानिसले पनि हामीलाई उपयोगी मित्रका रूपमा मान्दछन् । मुसा र किरा फट्याङ्ग्रा मारेर अन्नबाली जोगाउने हुँदा मानिसले हामीलाई देवी लक्ष्मीको वाहनका रूपमा पूजा र सम्मान गर्दछन् ।”
बुवा उल्लुको कुरा सुनेर सानी उल्लु फूलमायाले स्कुल जान नमान्ने कुरा गर्न छोडिन् । त्यस दिनदेखि उनी रात पर्न थालेपछि उठिहाल्थिन् र खुसी हुँदै स्कुल जाने गरिन् ।