• ६ वैशाख २०८१, बिहिबार

घोडाघोडी १ मा कांग्रेस, ११ मा जसपाको वडाअध्यक्ष विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र ११ को वडा अध्यक्षको सोमबार विहान अन्तिम मतपरिणाम सार्वजनिक  भएको छ ।  १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी हुनुभएको छ भने वडा नम्बर ११ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार दानसिंह जोगी विजयी हुनुभएको छ । उहाँले ६७२ मत प्राप्ता गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो  । 

जोगीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार राजकुमार कठरियाले ६६९ मत प्राप्त गर्नुभयो । तीन मतको अन्तरले जोगी विजयी हुनुभएको छ । वडा सदस्यमा एक जना जसपाबाट र अन्य तीन जना कांग्रेसबाट विजयी हुनुभएको छ । 

हारे भनेर घर गएका जोगी एक्कासी जितेको खबर सामाजिक सञ्जालबाट पाएलगतै खुशी हुदै मतगणनास्थल पुग्नुभएको थियो । यसअघिको चुनावमा समेत उक्त वडामा जोगी विजयी हुनुभएको थियो । यता कांग्रेसले वडा नम्बर ११ को पुनः मतगणनाको माग राख्दै प्रदर्शन गरेको छ । मतपरिणाम सार्वजनिक नहुदै कांग्रेसका उम्मेदवार कठरियाको जितको हल्ला चलेको  थियो । 

गौरीगंगामा समाजवादी र कांग्रेसले खाता खोल्यो 

त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकामा सोमवार विहान २ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा कांग्रेसका डबलबहादुर दियाकोटी र वडा नम्बर २ मा नेकपा समाजवादीका जनकबहादुर साउँद विजयी हुनुभएको छ ।

समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको उक्त नगरपालिकामा साउँदले ६९३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ । 

एक खुल्ला सदस्य बाहेक तीन सदस्यमा समेत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा विजयी दियाकोटीले एक हजार १३१ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धीकोरुपमा रहनुभएका नेकपा एमालेका जुद्धबहादुर साउँदले ८२५ मत प्राप्त गर्नुभयो ।