काठमाडौं महानगरपालिका १३ मा एमालेका मानन्धर विजयी
काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो ।
दुई पालिका प्रमुखमा महिला
झापामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी भए पनि पालिकाको नेतृत्वमा भने कम प्रतिनिधित्व भएको पाइएको छ । कुल १५ पालिका रहेको झापा जिल्ला बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेबाट महिला नेतृ पवित्रा महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी फूलमती राजवंशी गाउँपालिका प्रमुखमा विजयी हुनुभए पनि झापामा १३१ वडामा एक जना पनि महिलाको प्रतिनिधित्व हुन सकेन ।
काठमाडौं प्रमुखमा वालेन्द्रको मत ५९ र उपप्रमुख सुनिताको ६६ हजारभन्दा बढी
काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार बिहान ७ः४५ बजेसम्म एक लाख ८३ हजार ६७९ मतगणना हुँदा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले मत ५९ हजार १४९ मत ल्याउनुभएको छ ।
कर्णाली बस दुर्घटना हुँदा चारको मृत्यु ३९ जना घाइते
मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
निर्वाचनपछि काममा फर्किए मजदुर
स्थानीय तहको निर्वाचनका बेला मतदानमा सहभागी हुन आआफ्ना घर आएका सडक मजदुर निर्वाचन सकिएपछि काममा फर्किएका छन् । मजदुर घर आएपछि रोकिएको सडक निर्माणको काम निर्वाचन सकिएकाले सुुचारु हुँदा कामदार साइटमा फर्किएका हुन् । कर्णाली कोरिडोरको खार्पुदेखि लालीबगरखण्डको बोक्चे गौँडामा काम गर्दै आएका खार्पुनाथका मजदुर पर्वते विकले निर्वाचनले गर्दा केही दिनका लागि रोकिएको सडक निर्माणको काम सुुचारु भएकाले काममा फर्किएको बताउनुुभयो । बोक्चे गौँडामा २५ जना कामदारले सडक निर्माणको काम गर्दै आएका छन् । मजदुर विकले निर्वाचन सम्पन्न भएपछि रोजगारीका लागि पहिलेबाटै गर्दै आएको काममा रातदिन खटिन सुुरु भएको बताउनुभयो ।
थारू समुदायबाट तीन सय ७५ जनप्रतिनिधि
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो ।
कैलालीमा सन्ताउन्न वडामा कांग्रेसको जित
कैलाली जिल्लाका १३ स्थानीय तहका १२६ वडामध्ये नेपाली कांग्रेसले ५७ वडामा जितेको छ । यद्यपि, जिल्लाको दुईवटा पालिकामा नेपाली कांग्रेस शून्य अवस्थामा छ । नेपाली कांग्रेसले तीन पालिका जितेको छ ।
कर्णाली सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने
कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने भएको छ । संघीय सरकारले गरेको निर्णयलाई आधार मान्दै कर्णालीले समेत गणतन्त्र दिवस मनाउने तयारी गरेको हो ।
‘वालेन जितेर एक पटक गाउँ आऊ’
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आउ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’
अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोग
अविनाश चौधरीधनगढी, जेठ ११ गते । कैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गर्नुभएको छ । सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गर्नुभएको हो । गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो । पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताउनुभयो । उहाँले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिनुभयो ।
तुलसीपुुरमा एमालेका उम्मेदवार विजयी
गोकर्ण पौडेलतुलसीपुर, जेठ ११ गते । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । एमालेबाट प्रमुख पदका उम्मेदवार टीकाराम खडकाले ३१ हजार चार सय आठ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १६ मत प्राप्त गर्नुभयो । मतान्तर तीन हजार छ सय ३७ रहेको छ ।त्यस्तै, उपप्रमुखमा एमालेकै स्यानी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राणाले २१ हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । मतान्तर नौ हजार ५३२ मत रहेको छ । तुलसीपुरका १९ वटामध्ये एमालेले १० वटामा जित हासिल गरेको छ । २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडाको नेतृत्वमा जीत हासिल गरेको छ ।सोहीअनुसार, काँग्रेसले चारवटा वडामा जित हासिल गरेको छ । काँग्रेसले ५, ७, ९ र १४ मा वडा नेतृत्वमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन वटा वडा १, ४ र १२ मा जितेको छ । वडा नम्बर १६ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा जितेका छन् । तुलसीपुरमा काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादी गठबन्धनमा छन् । एमालेले एक्लै चुनावी मैदानमा थियो । तुलसीपुर एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलको गृह नगर हो ।दाङमा एमालेले दुईवटै उपमहानगरमा जित हात पार्न सफल भएको छ । तुलसीपुरमा २०५४, २०७४ मा पनि एमालेले नेतृत्वमा विजयी हासिल गरेको थियो ।
धुर्कोटमा पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयनतर्फ
तिलाचन पाण्डेतम्घास, जेठ ११ गते । धुर्कोट गाउँपालिकाले जेठ ९ गते पदभारग्रहण गर्दा गरेको निर्णयलाई कार्यान्वयनतर्फ लागेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले जेठ ९ गते पदभारग्रहण गर्दा गाउँपालिकाका अभिभावकविहीन र अति विपन्न बालबालिकका लागि आवास सुविधासहित कक्षा १२ सम्म अध्ययन गराउने निर्णय गर्नुभएको थियो ।सोही निर्णयअनुसार जेठ १० गते निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले एक सूचना जारी गर्दै अभिभावकविहीन वालवालिकाहरुको लगत संकलन र छनोट गर्नका लागि सूचना जारी गरेको हो । गाउँपालिका भित्रका कच्ची घरहरुको वीमा गर्ने निर्णयअनुसार कार्यान्वयनका लागि जेठ ११ गते १५ दिने सूचना जारी गरेकोे छ । सूचनामा गाउँपालिक भित्र रहेका कच्ची घरहरुको वीमा गर्ने कार्यक्रममा सहभागी हुन चाहने निर्जीवन वीमा कम्पनीहरुका लागि प्रस्ताव पेश गर्नका लागि १५ दिने सूचना जारी गरेको छ ।प्रस्तावमा घर वीमा गर्दा लाग्ने शुल्क र घर वीमा गर्दा हुने फाइदाहरुको बारेमा स्पष्ट खाकासहित पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले घर वीमा गर्दा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको थियो ।पछिल्लो समयमा प्राकृतिक विपत्तिबाट घरमा हुने गरेको क्षतिहरुलाई राहत स्वरुप उपलब्ध गराउन यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । गाउँपालिकाले विद्युतीय चुल्होमा पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । गाउँपालिकाका दलित परिवारका १० जना छोराछोरीलाई एसईईपछिको तीन वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेकोे छ । धुर्कोट गाउँपालिकाले नागरिकहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक रुपमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ ।
धन्यवादका लागि उम्मेदवारहरु मतदाताको घरमा
बेलिना थापालमजुङ, जेठ ११ गते । लमजुङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु चुनावपछि पनि मतदाताको घर पुग्न छाडेका छैनन् । निर्वाचनअघि प्रतिवद्धताका साथ मतदाताको घर घरमा पुगेका उहाँहरु निर्वाचन पछि धन्यवाद दिनका लागि घरमा पुगिरहेको बताउनुभएको छ ।चुनाव जितेपछि नेताले वास्ता गर्दैनन् भन्ने नागरिकको गुनासालाई चिर्दै जनप्रतिनिधिहरु नागरिकलाई भेट्न पुगेको दावी गर्नुभएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा निर्वाचित जनप्रतिनिधिहरुले गाउँ गाउँ पुग्ने, मतदातालाई धन्यवाद दिने र उनीहरुको पिरमर्का बुझ्ने गरिरहनुभएको छ । बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ लगायतको टिम गाउँमा पुगेको छ । नव–निर्वाचित प्रमुख अर्यालले नागरिकलाई चुनावअघि मात्र नभएर चुनावपछि पनि भेट्न गएको बताउनुभयो । ‘उम्मेदवारहरु गाउँ जाँदा चुनाव जित्नकै लागि गाउँ आयो । जितेर गएपछि वास्ता गर्दैनन् भन्ने चलन छ । तर, हामीले त्यस्तो गरेनौं । चुनाव अघि जति महत्वकासाथ गयौं, अहिले पनि सोही महत्वकासाथ गयौं’ उहाँले भन्नुभयो । उपप्रमुख पद्मा गुरुङले स्थानीय तह निर्वाचन २०७९ मा अमूल्य मत दिएर बिजयी गराएको भन्दै मतदातालाई धन्यवाद ज्ञापन गर्न गाउँ पुगेको बताउनुभयो । चुनाव अघि गरेका प्रतिवद्धता पूरा गर्ने उहाँले पुनः दोहो¥याउनुभयो । सुन्दरबजार नगरपालिकाका नव–निर्वाचित प्रमुख कृष्णप्रसाद कोइरालाले नगरपालिका भित्रका गाउँँ पुगेको बताउनुभयो । चुनावअघि भोट माग्न र चुनाव पछि धन्यवाद दिन आफूहरु त्यहाँ पुगेको बताउनुभयो । नगरपालिकाका सबैजसो गाउँमा पुगेर धन्यवाद दिएको उहाँले बताउनुभयो । उपप्रमुख भवानी केसीले भोट दिएर बिजयी गराउनेलाई गाउँमै पुगेर धन्यवाद दिएको बताउनुभयो । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा पनि घरदैलो अभियानमा हुनुहुन्छ । नौ वटा वडा रहेको गाउँपालिकाका गाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘चुनावमा विभिन्न एजेण्डा लिएर गएका थियौं । त्यसलाई मन पराएर हामीलाई जिताउनुभयो । अमूल्य मतको सम्मानका लागि गाउँ जाने, धन्यवाद दिने, रमाइलो गर्ने, दुःख सुःखका कुरा सुन्ने गरेका छौं’ उहाँले भन्नुभयो, ‘हामीले गरेका प्रतिवद्धता अवश्य पूरा गरेर छाड्नेछौं । नागरिकलाई दुःखी बनाउने छैनौं ।’दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मतदातालाई धन्यवाद दिनका लागि गाउँघर जाने अभियानमा व्यस्त रहेको बताउनुभयो । नागरिकको माया र प्रेमले चुनाव जित्न सफल भएको भन्दै मतदाता भेट्न पुगेको बताउनुभयो । आफूले गरेका प्रतिवद्धता पूरा नभएमा झकझकाउन पनि अनुरोध गरेको जानकारी दिनुभयो । नागरिकको आवश्यकता र माग अनुसार नै अघि बढ्ने उहाँको भनाई छ । कव्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले मतदातालाई भेट्न गाउँ पुग्ने कार्यमा लागेको बताउनुभयो । बिजयी भएपछि मतदातालाई धन्यवाद दिनुपर्ने भन्दै गाउँघर पुग्ने, नागरिकको घर पुग्ने, समस्या बुझ्ने गरेको बताउनुभयो । मतदातालाई चुनावअघि दिएका आश्वासन पूरा गर्ने उहाँले बताउनुभयो । अन्य पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष लगायत पनि मतदातालाई धन्यवाद दिन गाउँ पुगेका छन् ।
भारतीय ट्रकले अटोलाई ठक्कर दिँदा अटोचालकको मृत्यु
सिराज खान नेपालगञ्ज, जेठ ११ गते । कोहलपुरको पिपलचौतारा नजिकै भारतीय ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीव्र गतिमा रहेको यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई बुधबार दिउँसो पछाडिबाट ठक्कर दिएको थियो ।दुर्घटनामा परेर घाइते भएका कोहलपुर १३ का अटो चालक २९ वर्षीय राम सेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।भारतीय ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
कार्यपालिका निर्वाचनका लागि काँग्रेस, माओवादी र राप्रपाबीच नयाँ गठबन्धन
भर्खरै सम्पन्न निर्वाचनमा पाँच दलले गठबन्धन गरेर नेपालगञ्ज उपमहानगरमा विजयी भए पनि कार्यपालिका चयनको विषयमा जनता समाजवादी पार्टीलाई एक्ल्याएर नयाँ गठबन्धन बनाइएको छ । नेपालगञ्ज नगर कार्यपालिकामा नेपाली काँग्रेसले जसपालाई छोडेर नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गरेको छ ।
मटिहानी नगरमा वारुणयन्त्र खरिद तथा कक्षा ११ का छात्रालाई साइकल दिने
महेशकुमार दास जलेश्वर, जेठ ११ गते । मटिहानी नगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नु भएका हरिप्रसाद मण्डलले पहिलो निर्णयमा वारुणयन्त्र खरिद गर्ने र कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गर्नुभएको छ । बुधबार दोस्रो कार्यकालको जिम्मेवारी लिँदै प्रमुख मण्डलले दुई वटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।ती दुई निर्णय मध्ये नगर क्षेत्र भित्र हुने आगलागिका घटना न्युनिकरण गर्न वारुण यन्त्र खरिद गर्ने र नगर क्षेत्र भित्रका कक्षा ११ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाई साइकल वितरण गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख मण्डलले बताउनुभएको छ । पहिलो कार्यकालको मूल्यांकन गरेर यहाँका मतदाताले दोस्रो पटक पनि प्रमुख पदमा मतदान गरेर विजयी गराएकाले नगरक्षेत्र भित्रको विकास नै दोस्रो कार्यकाल पनि प्रमुख प्राथमिकता रहने उहाँले स्पष्ट पार्नुभयो । नगर प्रमुखको पदस्थापन पश्चात् बुधबार नै मटिहानी नगरपालिकाको नौ वटै वडाका अध्यक्षहरुलाई शथपग्रहण गराएर पदस्थापना गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।
कालीगण्डकी गाउँपालिकाले इन्डक्शन चुल्हो वितरण गर्ने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्शन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “घर–घरमा रहेका ग्यासका सिलिण्डर लिने र इन्डक्शन चुल्हो दिने निर्णय गरेका छौँ ।” यसलाई आगामी गाउँसभाबाट पारित गरेर लागू गर्ने उहाँले बताउनुभयो ।
विपन्नका लागि एक हजार घर बनाइने
झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले गरिब परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “मेरा कार्यकालमा अतिविपन्न घरबार विहीन एक हजार परिवारले घर पाउनेछन्,” उहाँले भन्नुभयो । यसका लागि वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।
तुलसीपुरको मतगणना अन्तिम चरणमा
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि हुनुहुन्छ ।
भेरी अस्पताल पुनः उत्कृष्ट
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।
तीन महिनाभित्र बसपार्क सञ्चालन गर्ने प्रतिबद्धता
राजविराज बसपार्क तीन महिनाभित्र सञ्चालनमा ल्याउने नवनिर्वाचित नगरप्रमुख भीमराज यादवले बताउनुभएको छ । “दुई वर्षको ठेक्का सात वर्ष हुँदा पनि सम्पन्न हुन नसकेको बसपार्कमा अबको तीन महिनाभित्र बस गुडाएर देखाउँछु,” उहाँले भन्नुभयो । उहाँले नगर विकासको लागि पहिलो एजेन्डाका रूपमा शिक्षा, स्वास्थ्य र बाटोलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वस्थ्य र शिक्षित नागरिक नगरको भविष्य भएकोले प्रत्येक वर्ष तीन हजार पाँच सय नागरिकलाई स्वास्थ्य बीमा गर्ने बताउनुभयो ।
नगरप्रमुखको तलब–भत्ता सहायता कोषमा
समाजसेवीका रूपमा परिचित तनहुँ शुक्लागण्डकी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णराज पण्डितले तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ । विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध समाजसेवी पण्डितले विभिन्न सङ्घ संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । स्वच्छ छवि, मिलनसार र प्रस्ट वक्ताका रूपमा परिचित नगरप्रमुख पण्डितले धेरैजसो जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोप लागिरहेको बेला आफूले भने तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो ।
लालपुर्जाविहीन चाँचला बस्ती
घोराही उपमहा नगरपालिका–११, चाँचलामा बसोबास गर्दै आएका कुनै पनि नागरिकसँग लालपुर्जा छैन । कुनै समय चाँचला आँैलो रोगबाट बच्नका लागि दाङवासीको सुरक्षित क्षेत्र मानिन्थ्यो । त्यहाँ कुनै समय ७०÷८० घरधुरीको बसोबास थियो । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यान जिल्लामा पथ्र्यो ।
एक्लो महिला वडाध्यक्ष चिदी
पाल्पा जिल्लामा ८१ वडा रहेकामा एक महिला मात्रै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । तिनाउ–५ को वडाध्यक्षमा नेकपा (एमाले)बाट इन्द्राकुमारी चिदी मात्रै निर्वाचित हुनुभएको हो । उहाँले माओवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार गणेश रास्कोटीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यो वडामा अन्य चार सदस्य भने माओवादीबाट निर्वाचित भएका छन् ।