• ३ असार २०८१, सोमबार

थारू समुदायबाट तीन सय ७५ जनप्रतिनिधि

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १२ गते ।  सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । 

निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो । 

जसमध्ये थारू समुदायको प्रतिनिधित्व ९.७५ प्रतिशत रहेको देखिएको छ । सुदूरपश्चिममा थारू समुदायबाट नगरपालिका वा गाउँपालिकाको प्रमुखमा ९ प्रतिशत, उपप्रमुख वा उपाध्यक्षमा ११.३६ प्रतिशत र वडाध्यक्षमा ११ प्रतिशत प्रतिनिधित्व भएको देखिन्छ । 

थारू समुदायको बाहुल्य रहेको कैलालीमा यो समुदायबाट दुई नगरपालिकामा नगरप्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारू, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित हुनुभयो । यस्तै जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित हुनुभएको छ । यस्तै तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारू समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित हुनुभयो । 

यसैगरी, जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतीदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित हुनुभयो । कञ्चनपुरमा थारू समुदायबाट एक जना नगर प्रमुख, दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बेलौरी नगरपालिकाको प्रमुखमा पोतिलला चौधरी निर्वाचित हुनुभयो । लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ । 

बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगराम चौधरी, कृष्णपुरको उपप्रमुखमा द्रोपती राना र पुनर्वास नगरपालिकाको उपप्रमुखमा भुलिया राना निर्वाचित हुनुभएको छ । 

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा सपना चौधरी निर्वाचित हुनुभयो । कैलालीमा थारू समुदायबाट वडाध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् ।