• २३ वैशाख २०८३, बुधबार

मैत्री सङ्घद्वारा स्थानीयलाई झुल वितरण

blog

स्थानीयलाई झुल वितरण गरिँदै । तस्बिरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, वैशाख २३ गते । नेपाल–भारत मैत्री सङ्घ धनकुटा जिल्ला शाखाको आयोजनामा झुल वितरण गरिएको छ । उक्त कार्यक्रमका लागि झुल नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको हो । 

शाखा सभापति महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुर्गालक्ष्मी परोपकार संस्थाकी अध्यक्ष सरस्वती श्रेष्ठले उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्यको क्रममा उहाँले यस प्रकारका सहयोगमूलक कार्यहरू गर्मी मौसममा विशेष उपयोगी हुने उल्लेख गर्दै केही महिनाअघि ब्ल्याङ्केट वितरणजस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेकोमा नेपाल–भारत मैत्री सङ्घप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार दोयगोपाल बराइली, कोकिला भण्डारी तथा समाजसेवी एवं सहिद भीमनारायण स्मृति सङ्ग्रहालयका अध्यक्ष मनोज नारायण श्रेष्ठले विचार राख्दै कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्थानीयलाई स्वस्थ्य राख्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा केन्द्रीय कार्यालयबाट प्राप्त ५० थान तथा दुर्गालक्ष्मी परोपकार संस्थाबाट उपलब्ध ५० थान गरी जम्मा १०० थान झुल वितरण गरिएको छ। कार्यक्रमले स्थानीय समुदायमा सहयोग र सहकार्यको भावनालाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सञ्चालन थिरबहादुर थापाले गर्नुभएको थियो ।