• ३ जेठ २०८१, बिहिबार

धुर्कोटमा पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयनतर्फ

blog

नवनिर्वाचित अध्यक्ष धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल पदभारग्रहण गर्नुहुँदै, फाइल तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, जेठ ११ गते । धुर्कोट गाउँपालिकाले जेठ ९ गते पदभारग्रहण गर्दा गरेको निर्णयलाई कार्यान्वयनतर्फ लागेको छ । नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले जेठ ९ गते पदभारग्रहण गर्दा गाउँपालिकाका अभिभावकविहीन र अति विपन्न बालबालिकका लागि आवास सुविधासहित कक्षा १२ सम्म अध्ययन गराउने निर्णय गर्नुभएको थियो ।

सोही निर्णयअनुसार जेठ १० गते निर्णय कार्यान्वयन गर्न गाउँपालिकाले एक सूचना जारी गर्दै अभिभावकविहीन वालवालिकाहरुको लगत संकलन र छनोट गर्नका लागि सूचना जारी गरेको हो । 

गाउँपालिका भित्रका कच्ची घरहरुको वीमा गर्ने निर्णयअनुसार कार्यान्वयनका लागि जेठ ११ गते १५ दिने सूचना जारी गरेकोे छ । सूचनामा गाउँपालिक भित्र रहेका कच्ची घरहरुको वीमा गर्ने कार्यक्रममा सहभागी हुन चाहने निर्जीवन वीमा कम्पनीहरुका लागि प्रस्ताव पेश गर्नका लागि १५ दिने सूचना जारी गरेको छ ।

प्रस्तावमा घर वीमा गर्दा लाग्ने शुल्क र घर वीमा गर्दा हुने फाइदाहरुको बारेमा स्पष्ट खाकासहित पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले घर वीमा गर्दा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको थियो ।

पछिल्लो समयमा प्राकृतिक विपत्तिबाट घरमा हुने गरेको क्षतिहरुलाई राहत स्वरुप उपलब्ध गराउन यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । गाउँपालिकाले विद्युतीय चुल्होमा पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । 

गाउँपालिकाका दलित परिवारका १० जना छोराछोरीलाई एसईईपछिको तीन वर्षे प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेकोे छ । धुर्कोट गाउँपालिकाले नागरिकहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक रुपमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ ।