• १२ साउन २०८१, शनिबार

नवलपुरमा आठ जनामा डेंगु संक्रमण

blog

बोमलाल गिरी

नवलपुर, साउन १२ गते । नवलपुरमा आठ जनामा डेंगु सङ्क्रमण भेटिएको छ । असारको दोस्रो हप्तादेखि हालसम्म नवलपुरमा आठ जनामा डेंगु संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

संक्रमितमध्ये ६ जना पुरुष र २ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । विनयी त्रिवेणीका ६ जना, बुलिङटारका १ र हुप्सेकोटका १ जनामा डेंगु देखिएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लामा डेंगु अझै बढ्न सक्ने जनाएको छ । कतिपयले जिल्ला बाहिर गएर पनि परीक्षण गर्ने गरेका छन् । त्यसको रिपोर्ट पनि कार्यालयसँग छैन । त्यस्तै जिल्ला भित्रका पोलिक्लिनिक र  निजी अस्पतालको रेकर्ड पनि प्राप्त हुन नसकेको तिवारीले बताउनुभयो ।

विषेश गरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ । यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बिहान बेलुका टोक्ने यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला आदिमा जम्मा भएको सफा र खुला पानीको ट्याङ्कीमा फूल पार्ने गर्दछ । त्यसैले त्यस्तो पानी जम्न नदिन र सरसफाइमा ध्यान दिन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।