• ५ जेठ २०८१, शनिबार

विपन्नका लागि एक हजार घर बनाइने

blog

दमक समाचारदाता

दमक, जेठ ११ गते ।  झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले गरिब परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “मेरा कार्यकालमा अतिविपन्न घरबार विहीन एक हजार परिवारले घर पाउनेछन्,” उहाँले भन्नुभयो । यसका लागि वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।

यस्तै भद्रपुर नगरपालिकाले दीर्घ रोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताउनुभएको छ । यो निर्णयमा उहाँले हस्ताक्षर पनि गर्नुभएको छ । यसअघि दीर्घ रोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भन्नुभयो । यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उहाँले जनाउनुभएको छ  । 

यता हल्दीबारी गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत् स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गर्नुभएको हो । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षात्को समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउन नदिने उहाँले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्न वर्गका जनताको पहिचान गरी निः शुल्क स्वास्थ्य बीमा गर्ने र पाँच वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताउनुभयो ।

दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ। अबदेखि स्वास्थ्य केन्द्रहरूमा निःशुल्क रूपमा नगरवासीले स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।