तीन गाडीको भार एउटै ट्रकमा
मर्यादपुर नाका हुँदै नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको एक मालवाहक ट्रकमा अनुमतिभन्दा करिब तीन गुणा बढी माल ढुवानी गरिएको फेला परेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचमा उक्त ट्रकले तीन वटा सवारीसाधनमा बोक्नुपर्ने माल एउटै ट्रकमा ओभरलोड गरेको पाइएको हो । युपी ७० एफटी २६२६ नम्बरको ट्रकले नियम अनुसार २७.५ टनसम्म मात्र माल ढुवानी गर्न पाउने भए पनि भन्सारको कागजात अनुसार सोही ट्रकमा ६९.९ टन सामग्री फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पूर्वमन्त्री पाण्डेसहित नौ जनामाथि अनुसन्धान जारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी ठेक्का प्रणाली नै ह्याक गरी कब्जामा लिएर अनियमितता गर्ने नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सिआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) को विद्युतीय खरिद प्रणाली (इजिपी) मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेरमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
मनमोहन अविचलित निष्ठाका प्रतीक
नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवस आइतबार एमालेले विभिन्न कार्यक्रम गरेर मनायो । विसं १९७७ मा जन्मिनुभएका कम्युनिस्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रही प्रचारप्रसारका सिलसिलामा गोठाटारमा अधिकारीको हृदयाघात भएको थियो । उहाँ दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो ।
सरकारको योजना : सुकुमवासीको दिगो व्यवस्थापन
सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विस्तृत अध्ययन थालेको छ । नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरिएपछि त्यहाँ आश्रित नागरिकलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने तयारी गरेको हो । काठमाडौँ, ललितपुर र भक्तपुरमा अव्यवस्थित तरिकाले बागमती नदीसहित अन्य खोलाकिनारमा गरिएको अतिक्रमण हटाउने अभियानसँगै त्यहाँबाट विस्थापित भएका नागरिकलाई अल्पकालीन आवासको प्रबन्ध गरिँदै छ । सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायणमा निर्मित एकीकृत आवास आयोजना भवनमा राखिने बताउनुभयो ।
नौ महिनामै बाहिरियो ३४ अर्ब
साउनदेखि चैतसम्म मोबाइल आयातका लागि नेपालबाट करिब ३४ अर्ब रुपियाँ बाहिरिएको छ । यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढी हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा ३३ अर्ब ८२ करोड रुपियाँको स्मार्टफोन आयात गरेको छ । यसबाहेक ७२ करोड २२ लाख रुपियाँको अन्य प्रकृति (बार तथा फिचर फोन) का मोबाइल आयात भएको भन्सारको तथ्याङ्क छ । गत आर्थिक वर्षभर ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको थियो । चालु वर्ष पूरा हुन तीन महिना बाँकी रहेको र भन्सारमा सरकारले कडाइ गरेका कारण यस वर्ष स्मार्टफोनको आयात गत आवभन्दा स्वाभाविक बढी हुने व्यवसायीहरूको भनाइ छ ।
स्मार्ट लाइसेन्स आज हस्तान्तरण गरिने
बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त छपाइ सम्पन्न भएको हो । छापिएका लाइसेन्स वैशाख १४ गते औपचारिक कार्यक्रम गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पहिलो चरणको सम्झौता अनुसार १२ लाखप्रति कार्ड छापिइसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१२ लाखप्रति कार्ड आउने सोमबार हस्तान्तरण गर्छौं । हामीले दैनिक ४० लाख त दुई सिफ्टमा सामान्य रूपमै छापियो तर कहिलेकाहीँ ६० हजारसम्म पनि छापियो ।”
दिगो भनिएको राजमार्ग नै कमजोर
कुनै बेला मुलुककै सबैभन्दा दिगो राजमार्गको रूपमा परिचित बिपी राजमार्ग अहिले सानो वर्षामा पनि बन्द हुने अवस्था छ । २०८१ असोज १२ गते अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीपहिरोले उक्त राजमार्ग बगाएयता असार साउनको वर्षा त के हिउँदे क्षणिक वर्षाले समेत राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपाल र काठमाडौँबिचको यातायात सञ्चालनमा ठुलो सास्ती हुने गरेको छ । बाढीले बगाएको दुई वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म यस राजमार्गमा ढुक्क भएर सवारीसाधन चलाउने अवस्था छैन । क्रसर व्यवसायीले रोसी खोला क्षेत्रमा उत्खनन गरेर उद्योग सञ्चालन गरेपछि खोलाको सतह नै माथि आउन थाल्यो । खोलाको सतह माथि आएकै कारण सानो पानी पर्दा पनि अहिले रोसी खोला राजमार्गको माथि भएर बग्ने अवस्था सिर्जना भएको छ ।
कोरला नाकामा फोहोर ब्यवस्थापनका लागि डस्टबिन
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार गर्ने स्थानीयलाई सफा र स्वच्छ कोरला बनाउन डस्टबिन बितरण गरिएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण
विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा सम्पूर्ण किताब नारायणगढले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ । प्रहरी हिरासत (थुनुवा) कक्षमा रहेका थुनुवाका लागि सम्पूर्ण किताबले ती पुस्तक उपलब्ध गराएको हो । प्रहरीले थुनुवा कक्षमा पुस्तकालय निर्माण गरेको छ । सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले २० हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न पुस्तक प्रहरी उपरीक्षक गोविन्द पुरीलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
छब्बिस योजनाको अन्तिम भुक्तानी सिफारिस
सामाजिक विकास कार्यालयले जिल्लाका पाँच वटा गाउँपालिकाका २६ वटा योजनाको अन्तिम भुक्तानीका लागि सिफारिस गरेको छ । निर्माण सम्पन्न भएका ती योजनाको लागत स्टिमेट अनुसारको कामको मूल्याङ्कन गर्दै अनुगमनमा निस्केको कार्यालय प्रमुख टोलीले अन्तिम भुक्तानी दिने निष्कर्ष निकालेको हो । ताँजाकोट, चङ्खेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा ती योजना सञ्चालन भएका थिए ।
बजेट सुनिश्चित भएसँगै पुनर्निर्माण
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका चार सरकारी संरचना पुनर्निर्माण गर्न डेढ करोड रुपियाँ लाग्ने भएको छ । कर्णाली प्रदेश सरकारले संरचनाको पुनर्निर्माण गर्न लागेको हो । बजेटको स्रोत सुनिश्चित गरेर सरकारी संरचनाको पुनर्निर्माण गर्न लागिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ, निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले भन्नुभयो, “अहिले चार वटा सरकारी भवनको लागत अनुमान तयार भएको छ । जसमा मुख्यमन्त्री निवास, सोही ठाउँमा रहेको सुरक्षाकर्मीको निवास, कृषिमन्त्रीको निवास र प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय रहेका छन् ।” यी चार वटा संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि एक करोड ५० लाख लागत लाग्ने शाहीले जानकारी दिनुभयो ।
मूल्यवृद्धि नरोकिए विकासनिर्माण ठप्प हुने
रुकुमपश्चिमका निर्माण व्यवसायीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि नरोकिए विकासनिर्माणका काम ठप्प हुने चेतावनी दिएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेका उनीहरूले मूल्यवृद्धि रोक्न माग गरेका छन् । उनीहरूले इन्धनजन्य सामग्री डिजेल, पेट्रोल, मटितेलमा भइरहेको अप्रत्याशित र अत्यधिक मूल्यवृद्धिले निर्माण लागतलाई नियन्त्रणबाहिर लिएकाले विकासनिर्माणका कार्य ठप्प हुने स्थिति आएको जनाएका छन् । निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष परवीर डाँगीले देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा रहेको निर्माण उद्योग अत्यन्तै विषम र जर्जर परिस्थितिबाट गुज्रिरहेको तथ्य जानकारी गराउँदै मूल्यवृद्धि रोक्न माग गरिएको बताउनुभयो ।
शिक्षक व्यवस्थापन नहुँदा शैक्षिक सिकाइ प्रभावित
सल्यानका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित हुँदा शैक्षिक सिकाइमा असर परेको छ । विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहँदा विद्यालयको संरचना नै पुनः व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको छ ।
शालिग्राम शिलामा मूर्ति बनाइँदै
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत जोमसोमस्थित कालीगण्डकी नदीको किनारामा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिका लागि ढुङ्गा काट्ने र स्केच बनाउन मूर्तिकार व्यस्त हुनुहुन्छ । दिनेश्वर महतोसहितका २१ जना अनुभवी मूर्तिकार शालिग्राम शिलामा मूर्ति कुँद्न छिनो, हथौडा, ग्रेन्डर जस्ता औजारको प्रयोग गरिरहनुभएको छ । मुस्ताङ घुम्न गाएका पर्यटक, स्थानीयवासीले समेत यो कामलाई निकै चासोपूर्वक हेर्ने गरेका छन् ।
दलित बस्ती अझै अस्थायी टहरामा
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाविनाशकारी गोरखा भूकम्पको १२ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले गोरखा जिल्लामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । विनाशकारी भूकम्पबाट गोरखासहित १४ जिल्लामा अत्यधिक मात्रामा क्षति पुगेको थियो । जसबाट हजारौँ घर भत्किए, सयौँले ज्यान गुमाए र बाँचेकाको जीवन पनि बदलियो तर भूकम्प गएको लामो समय बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका–१, गैह्रागाउँस्थित दलित बस्तीका केही परिवारका अझै पनि अस्थायी टहरामै बस्न बाध्य छन् ।
पर्यटकीय गन्तव्य बन्दै टिटीताल
मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत लाम्चो आकारको टिटीताल हेर्न पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । ताल अवलोकन भ्रमणमा आउनुभएकी छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले पौडिँदै गरेका हाँस र तालको बिच भागमा रहेको थुम्कामा हाँसको गुँड देखेर दङ्ग पर्नुभयो । आकर्षक पूर्वाधार, चारैतिर धुपी र सल्लाका रुखको जङ्गल रहेको टिटीतालको मनोरम प्राकृतिक वातावरणले तिलिजा जस्तै दैनिक घुम्न जाने पर्यटक लोभिने गरेका छन् । धवलागिरि र नीलगिरि हिमालसहित प्राकृतिक सुन्दरता, भौगोलिक बनावटका कारण टिटीतालको अवलोकनका लागि जाने पर्यटक सन्तुष्ट भएर फर्किने गरेका छन् ।
फोहोर नउठ्दा नगर दुर्गन्धित
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका एक सातादेखि फोहोर नउठ्दा दुर्गन्धित बनेको छ । सर्वोच्च अदालतले डन्डा नदी किनारमा फोहोर डम्प गर्न रोक लगाएपछि नगरपालिकाको फोहोर व्यवस्थापन प्रणाली ठप्प भएको हो । विगत एक सातादेखि फोहोर सङ्कलन हुन नसक्दा मुख्य बजारदेखि भित्री टोलसम्म दुर्गन्ध फैलिएको छ भने स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ ।
प्रदेशभरिका खानेपानी योजना अलपत्र
लुम्बिनी प्रदेशका १२ जिल्लामा बर्सौंदेखि सुरु गरिएका खानेपानीका तीन सय ६८ आयोजना अलपत्र अवस्थामा रहेका छन् । दुई दशकअघि सुरु गरिएका केही योजनासमेत अझै सम्पन्न नभएपछि स्थानीयवासीले स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित हुनु परेको छ । यी आयोजना निर्माण हुन नसक्नुमा पर्याप्त बजेट विनियोजन नहुनु र सङ्घ–प्रदेशबिच समन्वय अभावलाई मुख्य कारण मानिएको छ ।
सहरमा गुजुल्टिएका तार हटाइँदै
बुटवल बजार सौन्दर्यीकरण अभियान अन्तर्गत बजार क्षेत्रमा रहेका विद्युत् तथा टेलिकमका पोलमा गुजुल्टिएका तार व्यवस्थापन गर्न थालिएको छ । बुटवल उपमहानगरपालिकाले नयाँ वर्षको सुरुवातसँगै बुटवल बजार सुन्दरीकरण अभियान अन्तर्गत सडक किनारका पोलमा रहेका तार र सडकपेटी तथा फुटपाथ क्षेत्रमा जथाभाबी पार्किङ, तरकारी र फलफूल पसल तथा ठेला व्यवस्थापन थालेको हो ।
सर्लाहीका आधारभूत अस्पताल आएनन् सञ्चालनमा
पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको सर्लाहीको अधिकांश आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । ओलीले २०७७ मङ्सिर १५
अत्यधिक गर्मीले जनजीवन प्रभावित
एक सातादेखि नेपालगन्ज र आसपासका क्षेत्रमा तातो हावा लु चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिक गतिविधि प्रभावित हुन थालेको छ । अत्यधिक तातो हावा लु चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको हो । बिहानैदेखि घाम अत्यधिक चर्किने, शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।
‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’
दुर्गम हिमाली जिल्ला सोलुखुम्बुले यस पटकको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै सबैभन्दा कान्छी सांसदका रूपमा गीता गुरुङलाई पठाएको छ । नेपाली कांग्रेसले गुरुङलाई समानुपातिक सूचीमा राखेपछि उहाँ निर्वाचित हुनुभएको हो ।
पाइलैपिच्छे विद्यालय र क्याम्पस विद्यार्थी भने जिल्लाबाहिर
जिल्लामा पाइलैपिच्छे गरी करिब ५५० वटा शैक्षिक संस्था भए पनि गुणस्तरीय शिक्षा र प्राविधिक विषयको अभावका कारण विद्यार्थी अध्ययनका लागि जिल्लाबाहिर गएका छन् ।